मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट
काठमाडौं । मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको साँसदले सन्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ । रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनी तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् । उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् । यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अष्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् । साथै थाइल्यान्डमा स्वेच्छिक रूपमा ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययन गराएको अनुभव समेत उनीसँग छ ।
बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गरिने
काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण सुरु गरिने बताएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण गरिने बताएका हुन् । अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बताएका छन् ।
नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा सिनेमाण्डु नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरूपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।