असोज ११ गतेबाट हलमा चलचित्र आँखा, युट्युबमा ट्रेलर रिलिज

काठमाडौं । फरक कथावस्तुमा तयार भएको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको साढे २ मिनेट लामो ट्रेलरले बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई सिनेमाले भावनात्मक रूपमा उठान गरेको आयोजकले बताएको छ । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’ लाई जौन योन्जनले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक योन्जनले सिनेमाको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोहि प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन् । भुइँमान्छेको कथा प्रस्तुत गरिएको ट्रेलरमा फोहोरमा राजनिति र दुई वर्गबिचको खाडल देख्न सकिन्छ । चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहताले यसै चलचित्रमार्फत् डेब्यु गरेका छन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए । रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्तेमा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओर्कसप दिएका थिए । आयोजकका अनुसार लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो चलचित्र निर्माण गरिएको हो । सम्पादन कृष्ण भण्डारीले गरेका छन् भने छायाङ्कन आलोक शुक्लाको रहेको छ । सुकुम्बासी बस्तीमा बस्दै आएको घर सम्पतिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई सिनेमाको कथावस्तु बनाइएको छ ।

डिशहोमले सार्वजनिक गर्‍याे नयाँ योजना, इन्टरनेट जोड्दा तीन महिना बोनस

काठमाडौं । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि ‘खुसीकाे सेलिब्रेसन’ योजना सार्वजनिक गरेको छ । डिशहोमले योजनाअन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस ग्राहकहरूलाई प्रदान गर्न लागेको हो । यस याेजनाकाे लाभ उठाउन ग्राहकहरूले नजिकको डिशहोम डिलर वा हट लाइन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ । स्थापनाको छोटो अवधिमै साढे तीन लाख बढी ग्राहकहरूलाई डिशहाेमले इन्टरनेट सेवा दिइरहेको छ ।

१७औँ दसैँ गीत ल्याउँदै विष्णु खत्री

काठमाडौं । दसैँगीतका पर्याय बन्नुभएका लोकगायक विष्णु खत्रीले आफ्नो सत्रौँ दसैँगीत ल्याउने तयारी गरेका छन् । बडादसैँको अवसर पारेर उनको नयाँ गीत ‘रित्तो भकारी…’ सार्वजनिक हुन लागेको हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत ल्याउँदै आएका छन् । नको पहिलो दसैँगीत ‘सुनको जलप…’ हो । उक्त गीत तत्कालीन समयमा चर्चित बनेको थियो । पछिल्लो समय खत्रीले गीत सार्वजनिक गरेपछि दसैँको माहोल आउने श्रोता÷दर्शकको प्रतिक्रिया छ । ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ भन्ने प्रतिक्रिया आउने गरेको उनले बताए । ‘यसपालिको गीतले देशको वर्तमान अवस्था र नेपालीको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ, गीतको चलदृश्य छायाङ्कनको काम भइरहेको छ, चाँडै मेरो युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी छ,’ उनले भने । १७ वर्षको अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विष्य, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख, बेदना समेटिएका पाइन्छन् । मार्मिक सिर्जना र ग्रामीण परिवेशको झझल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत छन् । ‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ, दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ,’ खत्रीले भने । २ दशकदेखि लोकसङ्गीतमा सक्रिय खत्रीका बडादसैँ, तिहार, तीजजस्ता पर्वका अवसरमा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमार्फत उठान गरिरहेका छन् । गत वर्षको बडादसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । यसअघि उनका ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । पहिलो दसैँगीत ‘सुनको जलप…’ मा खत्रीलाई गायिका विमाकुमारी दुराले साथ दिएकि थिइन् । पछिल्ला गीतमा उनले विभिन्न गायिकासँग सहकार्य गर्दै आएका छन् । प्रायः सबै गीतमा शब्द र सङ्गीत गायक खत्रीकै हुन्छ । खत्रीका दसैँगीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत दर्जनौँ लोक तथा दोहोरी गीत चर्चित छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत रहेका छन् ।