अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन्। उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे। ‘अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,’ उनले भने। काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे। टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो। मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए। साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ। उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए।

बल्खुमै बन्ने भयो एमालेको स्थायी केन्द्रीय कार्यालय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो स्थायी केन्द्रीय कार्यालय पुनः मदननगर बल्खुमै निर्माण गर्ने भएको छ ।  पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा एमालेले उक्त योजना सार्वजनिक गरेको हो । स्मृति दिवसलाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले पार्टीको ऐतिहासिक तथा वैचारिक केन्द्रका रूपमा रहेको बल्खुलाई पुनः एमालेको स्थायी मुख्यालय बनाइने बताएका हुन् ।  उनले मदननगर बल्खुसँग एमालेको राजनीतिक इतिहास, जनसंगठन निर्माण र जनताको बहुदलीय जनवादको वैचारिक यात्राको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै सोही स्थानलाई आधुनिक सुविधासम्पन्न केन्द्रीय कार्यालयका रूपमा विकास गरिने जानकारी दिए । महासचिव पोखरेलले पार्टीको संगठनात्मक सुदृढीकरण, अभिलेख व्यवस्थापन, वैचारिक प्रशिक्षण तथा आधुनिक राजनीतिक गतिविधिका लागि नयाँ भवन निर्माण आवश्यक रहेको बताए ।  उनले बल्खुस्थित पार्टी कार्यालय केवल प्रशासनिक केन्द्र मात्र नभई एमाले आन्दोलनको ऐतिहासिक स्मारकका रूपमा समेत विकास गरिने धारणा राखे । एमालेको केन्द्रीय कार्यालय २०५३ सालदेखि मदननगर बल्खुमै सञ्चालन हुँदै आएको थियो । तत्कालीन समयमा निर्माण गरिएको पाँचतले भवन एमालेको राजनीतिक गतिविधिको प्रमुख केन्द्रका रूपमा परिचित थियो । तर २०७२ सालको विनाशकारी भूकम्पले भवनमा गम्भीर क्षति पु‍¥याएपछि पार्टीले उक्त भवन प्रयोग गर्न नसक्ने अवस्था सिर्जना भएको थियो । भूकम्पपछि एमालेले आफ्नो केन्द्रीय कार्यालय विभिन्न स्थानमा सार्दै आएको छ । प्रारम्भिक चरणमा पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठान धुम्वाराहीमा सारिएको थियो । त्यसपछि केही समय थापाथलीस्थित भवनबाट केन्द्रीय गतिविधि सञ्चालन गरिएको थियो । पछिल्लो समय भने पार्टीले तुलसीलाल स्मृति प्रतिष्ठानबाट आफ्नो केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ । लामो समयदेखि स्थायी पार्टी मुख्यालयको खोजीमा रहेको एमालेले अन्ततः पुनः बल्खुमै फर्कने निर्णय सार्वजनिक गरेसँगै पार्टीवृत्तमा उत्साह देखिएको छ ।  एमाले नेता खिमलाल भट्टराईले बल्खुमै केन्द्रीय कार्यालय बन्ने घोषणाले आफूलाई खुसी बनाएको बताए ।  नयाँ केन्द्रीय कार्यालय आधुनिक संरचना, सभा हल, अभिलेख केन्द्र, पुस्तकालय, प्रशिक्षण कक्ष तथा डिजिटल व्यवस्थासहित निर्माण गरिने प्रारम्भिक योजना रहेको छ ।

केपी शर्मा ओली 'अब्सेन्ट'

काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको बल्खुमा स्मृति सभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा सहभागी भएनन् ।  स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमालेका अधिकांश पदाधिकारी उपस्थित थिए । कार्यक्रममा जननेता मदन भण्डारी र संगठन विभागका तत्कालीन नेता जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।  सभामा सहभागी नेताहरूले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलन तथा बहुदलीय जनवादको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए । वक्ताहरूले उनीहरूको राजनीतिक दृष्टिकोण र संगठन निर्माणमा खेलेको भूमिकालाई अहिले पनि सान्दर्भिक रहेको बताएका थिए । यस वर्ष एमालेले मदन–आश्रित स्मृति दिवसलाई देशभर विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ । पार्टीले करिब एक साताअघि नै मातहत कमिटीहरूलाई सर्कुलर जारी गर्दै स्मृति दिवसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको थियो ।  एमालेको निर्देशनअनुसार देशभर विचार गोष्ठी, जनताको बहुदलीय जनवादसम्बन्धी अन्तरक्रिया तथा सञ्चार माध्यममा परिसंवाद आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन, अस्पतालमा बिरामी भेटघाट, कैदीबन्दीसँग भेट तथा फलफूल वितरणजस्ता सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्न भनिएको छ । पार्टीले सार्वजनिक स्थलहरूमा मदन भण्डारी र जीवराज आश्रितका तस्बिर राखेर श्रद्धाञ्जली कार्यक्रम गर्न पनि निर्देशन दिएको जनाएको छ । मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो । त्यसयता एमालेले प्रत्येक वर्ष जेठ ३ गतेलाई मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।  यति महत्वपूर्ण कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिले राजनीतिक वृत्तमा चासो पैदा गरेको छ । मदन भण्डारी एमालेको वैचारिक आधार निर्माण गर्ने प्रमुख नेता मानिन्छन् । जबजको सिद्धान्तलाई पार्टीको मार्गदर्शक विचारका रूपमा स्थापित गर्ने व्यक्तित्व भएकाले मदन–आश्रित स्मृति दिवस एमालेका लागि केवल औपचारिक कार्यक्रम मात्र नभई वैचारिक पुनःस्मरणको अवसर पनि हो । यस्तो कार्यक्रममा पार्टी अध्यक्षको अनुपस्थिति स्वाभाविक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । ओली कार्यक्रममा किन सहभागी भएनन् भन्ने विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि, एमालेभित्र मदन भण्डारीको राजनीतिक विरासत र त्यसको व्याख्यालाई लिएर समय–समयमा देखिने आन्तरिक बहसका बीच ओलीको अनुपस्थितिलाई कतिपयले राजनीतिक संकेतका रूपमा समेत व्याख्या गर्न थालेका छन् । ​​​​​​ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रममा उपस्थित हुनु र पार्टीका अधिकांश पदाधिकारी सहभागी हुनुका बीच अध्यक्ष ओली नदेखिनुले थप चर्चा पाएको हो । पछिल्लो समय एमालेभित्र नेतृत्व, वैचारिक ध्रुवीकरण तथा भावी शक्ति सन्तुलनबारे भइरहेका विश्लेषणसँग जोडेर पनि यस घटनालाई हेरिएको छ । यद्यपि, ओली लामो समयदेखि स्वास्थ्य लाभ लिइरहेका छन् । उनको शल्यक्तिया पश्चात् उनी गुण्डुमै आराम गरिरहेका छन् ।