काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको बल्खुमा स्मृति सभा आयोजना गरेको छ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, जनवर्गीय संगठनका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा सहभागी भएनन् ।
स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमालेका अधिकांश पदाधिकारी उपस्थित थिए । कार्यक्रममा जननेता मदन भण्डारी र संगठन विभागका तत्कालीन नेता जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सभामा सहभागी नेताहरूले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलन तथा बहुदलीय जनवादको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए । वक्ताहरूले उनीहरूको राजनीतिक दृष्टिकोण र संगठन निर्माणमा खेलेको भूमिकालाई अहिले पनि सान्दर्भिक रहेको बताएका थिए ।
यस वर्ष एमालेले मदन–आश्रित स्मृति दिवसलाई देशभर विभिन्न कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ । पार्टीले करिब एक साताअघि नै मातहत कमिटीहरूलाई सर्कुलर जारी गर्दै स्मृति दिवसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको थियो ।
एमालेको निर्देशनअनुसार देशभर विचार गोष्ठी, जनताको बहुदलीय जनवादसम्बन्धी अन्तरक्रिया तथा सञ्चार माध्यममा परिसंवाद आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन, अस्पतालमा बिरामी भेटघाट, कैदीबन्दीसँग भेट तथा फलफूल वितरणजस्ता सामाजिक कार्यक्रमसमेत सञ्चालन गर्न भनिएको छ ।
पार्टीले सार्वजनिक स्थलहरूमा मदन भण्डारी र जीवराज आश्रितका तस्बिर राखेर श्रद्धाञ्जली कार्यक्रम गर्न पनि निर्देशन दिएको जनाएको छ ।
मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो । त्यसयता एमालेले प्रत्येक वर्ष जेठ ३ गतेलाई मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।
यति महत्वपूर्ण कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिले राजनीतिक वृत्तमा चासो पैदा गरेको छ । मदन भण्डारी एमालेको वैचारिक आधार निर्माण गर्ने प्रमुख नेता मानिन्छन् । जबजको सिद्धान्तलाई पार्टीको मार्गदर्शक विचारका रूपमा स्थापित गर्ने व्यक्तित्व भएकाले मदन–आश्रित स्मृति दिवस एमालेका लागि केवल औपचारिक कार्यक्रम मात्र नभई वैचारिक पुनःस्मरणको अवसर पनि हो । यस्तो कार्यक्रममा पार्टी अध्यक्षको अनुपस्थिति स्वाभाविक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
ओली कार्यक्रममा किन सहभागी भएनन् भन्ने विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि, एमालेभित्र मदन भण्डारीको राजनीतिक विरासत र त्यसको व्याख्यालाई लिएर समय–समयमा देखिने आन्तरिक बहसका बीच ओलीको अनुपस्थितिलाई कतिपयले राजनीतिक संकेतका रूपमा समेत व्याख्या गर्न थालेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रममा उपस्थित हुनु र पार्टीका अधिकांश पदाधिकारी सहभागी हुनुका बीच अध्यक्ष ओली नदेखिनुले थप चर्चा पाएको हो । पछिल्लो समय एमालेभित्र नेतृत्व, वैचारिक ध्रुवीकरण तथा भावी शक्ति सन्तुलनबारे भइरहेका विश्लेषणसँग जोडेर पनि यस घटनालाई हेरिएको छ ।
यद्यपि, ओली लामो समयदेखि स्वास्थ्य लाभ लिइरहेका छन् । उनको शल्यक्तिया पश्चात् उनी गुण्डुमै आराम गरिरहेका छन् ।