प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको संसदीय सुनुवाइको आजै गर्ने भएको छ ।        प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइका लागि मंगलबार (आज) अपरान्ह १ः३० बजेको समय कार्यसूचीमा तय गरेको समितिका सचिव तुलबहादुर विश्वकर्माले जानकारी दिए ।        समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो ।  विपक्षी दलका सांसदहरू पद्मा अर्याल, वर्षमान पुन, नरबहादुर विष्टलगायतले प्रक्रियाबाट जानुपर्ने र छ वर्षे प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना अध्ययन गर्न समय माग गरेका थिए ।        बैठकमा समितिका सदस्यहरू कवीन्द्र बुर्लाकोटी, मधु चौलागाईंलगायतले उजुरी अध्ययन गर्नका लागि धेरै समय आवश्यक नपर्ने भएकाले प्रक्रिया छिटो अगाडि बढाउनुपर्ने माग गरेका थिए ।        समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने भएकाले अध्ययनका लागि धेरै लामो समय जरुरी नपर्ने हुँदा प्रक्रिया अघि बढाउन सबैलाई सहयोगका लागि आग्रह गरेका थिए ।        प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध समितिमा १६ वटा उजुरी परेको छ । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो । बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

मधेस प्रदेश सभा सदस्य पदमा राप्रपाकी ठाकुरले लिइन् सपथ

काठमाडौं । निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिता कुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ९१० बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई सोमबार (आज) मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए ।  जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले संविधान र कानुनप्रति प्रतिबद्ध रहँदै जनताको सेवा तथा प्रदेशको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।  नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले मधेस प्रदेशको विकास, सुशासन तथा जनताको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।