सीटीइभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।      मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे, शिक्षा विज्ञ डा. दीपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।      सीटीइभीटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।  

व्यापार समितिको सभापति बनेका नवीन रिजाललाई मोरङ उद्योग व्यापार संघको सम्मान

काठमाडौं । मोरङ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघमा नवीन रिजालले नयाँ जिम्मेवारी पाएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । संघले रिजालको नयाँ भूमिकाले महासंघ र निजी क्षेत्रको नेतृत्वलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको हो । संघले जारी गरेको विज्ञप्तिअनुसार महासंघको हालै गठित कार्यसमितिमा रिजालले महासंघको व्यापार समितिको नेतृत्वमा नयाँ जिम्मेवारी पाएका छन् । यसअघि पनि उनी महासंघको कार्यकारिणी समिति सदस्यका रूपमा सक्रिय रहँदै आएका थिए । मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा आयोजित कार्यक्रममा रिजाललाई बधाई दिँदै उनको लामो अनुभव, नेतृत्व क्षमता र निजी क्षेत्रको हितमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ । संघले उद्योगी–व्यवसायीका मुद्दा उठाउन र निजी क्षेत्रको हकहित संरक्षणमा उनले खेलेको भूमिका प्रेरणादायी रहेको जनाएको छ । अध्यक्ष राठीले रिजालको अनुभव, कार्यकुशलता र परिणाममुखी नेतृत्वका कारण महासंघले सक्षम नेतृत्व पाएको उल्लेख गर्दै उनको उपस्थितिले महासंघ तथा व्यापार समितिलाई थप सशक्त र क्रियाशील बनाउने विश्वास व्यक्त गरेका छन् । संघले रिजालको नयाँ जिम्मेवारीले मोरङ उद्योग वाणिज्य संघ मात्र नभई समग्र निजी क्षेत्रको प्रतिष्ठा र प्रतिनिधित्वलाई समेत थप मजबुत बनाएको विश्वास व्यक्त गरेको छ।

एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । शर्माले संस्थाको नेतृत्व सम्हाल्दै लघुवित्त सेवाको विस्तार, संस्थागत सुशासन तथा वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।