प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष दिनेश सरियाले लिए शपथ
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई बिहीबार पद तथा गोपनीयताको सपथ गराइएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, निर्देशक शाम्भराज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए । शपथ ग्रहण समारोहले कम्पनीको नेतृत्वमा नयाँ व्यवस्थापनद्वारा अघि बढाइने जिम्मेवारी र दायित्वको औपचारिकता पुष्टि गरेको बताइएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्टको डीसीईओमा पण्डित नियुक्त
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले नयाँ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ । कम्पनीको निर्णयअनुसार ऋषिराम पण्डितलाई मंसिर ७ गतेदेखि स्थायी रूपमा डीसीईओमा नियुक्त गरिएको छ । कम्पनीका अनुसार पण्डितलाई पदअनुसारको सम्पूर्ण जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण भइसकेको छ । नियुक्तिसँगै उनले संस्थाका प्रशासनिक तथा वित्तीय गतिविधिमा सह–मुख्य कार्यकारी अधिकृतको भूमिकामा काम गर्नेछन् ।
नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ । नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रअनुसार कम्पनीको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको हो। मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । नियमावलीको नियम १२ को खण्ड (छ) अनुसार नेपाल सरकारको प्रतिनिधि सञ्चालकको व्यवस्था भएकाले सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो । नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन् । उनले यसअघि सञ्चालक रहेका कोमल बहादुर खत्रीको स्थान लिनेछिन् ।