काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ र नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । उनको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुने पार्टीले जनाएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार डा. आचार्य भक्तपुर निवासी हुन् । उनी यसअघि नेपाली कांग्रेसको प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति रहिसकेका छन् ।
कांग्रेसले नीति, अनुसन्धान र प्रशिक्षणसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ डा. आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।