विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा.पुनेश्वर केशरी

काठमाडौं । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा.पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशनले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको सभापति केशरीले जानकारी दिए । कार्यसमितिको उपसभापतिमा डा.निर्मल भुसाल, सचिवमा डा. निश्चल गुप्ता, कोषाध्यक्षमा डा.मदन भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी समाजको सदस्यहरुमा डा. काजल झा, डा.विशुनदयालप्रसाद पटेल, डा.साधना पराजुली र डा.प्रशन्न नेपाल निर्वाचित भएका छन्। अधिवेशनको शुक्रबार विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा.अर्जुन कार्कीले उद्घाटन गरेका थिए । समाजको स्थापना वि.सं २०६५ मा भएको हो । हाल नेपालमा आयुर्वेदका १८७ जना विशेषज्ञ चिकित्सक छन् । आयुर्वेदका विशेषज्ञ चिकित्सकलाई एलोपेथिकभन्दा फरक व्यवहार गरिएपछि तिनलाई उपयुक्त काम गर्ने अवसर दिने उद्देश्यले समाजको स्थापना भएको संस्थापक अध्यक्ष डा. देवकला भण्डारीले जानकारी दिइन् । करिब एक दशकसम्म भने समाज निष्क्रिय रहेकाले केशरीको संयोजकत्वमा तदर्थ समिति गठन गरी तेस्रो अधिवेशनबाट समाजलाई निरन्तरता दिइएको जनाइएको छ । समाजले नेपालमा आयुर्वेदको प्रवर्द्धनका लागि सरोकार भएका निकायसँग सहकार्य गरी काम गर्ने सभापति केशरीरले बताए । 

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो उपकुलपति

काठमाडौं । रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेको हो ।  जसमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत खत्री नियुक्त भएका छन् भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धी पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजन कुमार रोकाया नियुक्त भएका हुन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा. रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।