मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओमा बढुवा
काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली बढुवा भएका छन् । यसअघि डीसीईओ रुपमा काम गरिरहेका ज्ञवालीलाई बैंक सञ्चालक समिति बैठकले सिनियर डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजिनामा दिएका उनी नबिल बैंकमा नायव महाप्रबन्धक भएर प्रवेश गरेका थिए । चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ज्ञवालीसँग बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेको छ । करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेका ज्ञवालीले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव संगालेका छन् । उनले ग्लोवल आईएमई बैंकमा पनि लामो समय काम गरेका थिए । त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव रहेको छ । सकारात्मक सोच भएका र प्रष्ट रुपमा विचार राख्न सक्ने ज्ञवाली युवा पुस्तामाझ उत्प्रेरक व्यक्तिको रुपमा पनि परिचित छन् ।
नेफाको अध्यक्षमा राजेन्द्र संग्रौला निर्वाचित, को-को छन् कार्यसमितिमा ?
काठमाडौं । नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको २४औं वार्षिक सधारण सभापश्चात् भएको निर्वाचनबाट अध्यक्षमा संग्रौला, वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ, सचिवमा सुजन कुमार न्यौपाने, सहकोषाध्यक्षमा सञ्जिव अर्याल निर्वाचित भएका हुन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी, गंगा बहादुर राया, सजिव शाक्य, राजेश चन्द्र प्रधानाङ्ग र प्रनुषा कार्की निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको एशोसिएसनले जनाएको छ । संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्वअध्यक्ष प्रकाश सिंह कार्कीलाई मनोनीत र निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी बनेका छन् । नवनिर्वाचित अध्यक्ष संग्रौलाले संस्थालाई नयाँ आयामबाट माथि उठाउने बताए । सरकार तथा सम्बन्धीत निकायसँग सहकार्य गरी फ्रेट फरवार्डस व्यवसायको प्रभावकारितामा अझै सुधार ल्याउने उनको भनाइ छ । अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नयाँ प्रविधिको अवलम्बन गर्दै नयाँ पुस्तालाई फ्रेट फर्वाडिङ्गको पेशामा आकर्षित गर्ने, कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न प्रशिक्षण र क्षमता विकास तथा कार्य सहजता, भन्सार प्रक्रियाहरुको सरलीकरण र सहजीकरण तथा सीमा क्षेत्रमा भएका अन्य समस्याहरु समाधान गर्न निरन्तर पहल गरिने उनले बताए ।
दोर्दी खोला जलविद्युतको सीईओमा उमेश पुडासैनी
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनी नियुक्त भएका छन् । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुडासैनीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पुडासैनीलाई पुस ८ गतेदेखि नै लागू हुने गरी सीईओमा नियुक्त गरिएको नेप्सेले जनाएको छ ।