नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकले एक सूचना जारी गर्दै गत जेठ १३ गतेदेखि लागू हुने गरी आनन्दलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको हो । नयाँ भूमिकासहित अब आनन्दले नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृत दुवै जिम्मेवारी सम्हाल्नेछन् । बैंकले विकास आनन्दको नेतृत्वमा बैंकिङ सेवा प्रवाह अझ सुदृढ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू विस्तार गरेको छ ।
विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईं पुनः नियुक्त
काठमाडौं । सरकारले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंको नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो । हुमागाईं यसअघि पनि सोही बोर्डको चार वर्षसम्म नेतृत्व सम्हाली सकेका व्यक्ति हुन् ।
मन्त्रिपरिषद् बैठकले गर्यो ४ जना सचिवको सरूवा
काठमाडौं । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा सचिवहरूको जिम्मेवारी हेरफेर गर्दै सरुवा गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयमा प्रदेश सरकारका सचिव महादेव पन्थलाई ल्याउने निर्णय पनि गरिएको छ । साथै, मन्त्रिपरिषद्ले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।