काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर अमात्य नियुक्त भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्यराम ज्याख्व साउन १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणमा काज फिर्ता भएपछि कम्पनीको सञ्चालक समितिले निमित्त सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
साउन २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीद्वारा प्रवर्द्धित रसुवागढी जलविद्युत् आयोजनाका सिभिल निर्माण महाशाखा प्रमुख पुष्कर अमात्यलाई अर्को व्यवस्था नहुँदासम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
अमात्यले अब कम्पनीको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् । कम्पनीले स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म उनले निमित्त सीईओका रूपमा जिम्मेवारी निर्वाह गर्नेछन् ।