कृषि विकास बैंकको सञ्चालक बने सहसचिव डा. केसी
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा सहसचिव डा. हरी बहादुर केसी नियुक्त भएका छन् । असोज ११ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले असोज २० गते बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ ग्रहण गरेको कम्पनीका सचिव हिमलाल पौडेलले जानकारी दिए । डा. केसी हाल कृषि तथा पशुपंक्षी मन्त्रालयको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाको प्रमुखको जिम्मेवारीमा छन् । उनी मन्त्रालयको प्रवक्ता समेत हुन् ।
क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स विट्साको कोषाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार (असोज १८) आर्मेनियाको येरेभानमा भएको विट्साको महाधिवेशनबाट पोदार सन् २०२४–२६ कार्यकालको निम्ति कोषाध्यक्षमा निर्विरोध चयन भएका हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो अनुभव सँगालेका पोदारले २०७९ पुसदेखि क्यान महासंघको नेतृत्व गर्दै आएका छन् । विट्सामा कोषाध्यक्ष पदमा निर्वाचित भएपछि पोदारले भने, ‘विट्साको प्रतिनिधित्व गर्दा विश्वभरिका ८० भन्दा बढी सूचना प्रविधि संस्थाहरूसँग सहकार्य गरेर प्रविधिको विकासमा योगदान दिने अवसर पाएको छु । सूचना प्रविधि क्षेत्रमा नेपाललाई विश्वव्यापी मञ्चमा स्थापित गर्ने प्रयास गर्नेछु ।’ यसलाई आफूले क्यान महासंघको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र भूमिकाको स्पष्ट प्रमाणका रूपमा हेरेको पोदारले बताए । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पोदारको सफल नेतृत्वले क्यान महासंघलाई विश्वव्यापी स्तरमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘विट्सामा उहाँको प्रतिनिधित्वले नेपालमा प्रविधिको पहुँच र डिजिटल अर्थतन्त्रलाई थप सबल बनाउने हाम्रो प्रयासमा सहयोग पुर्याउनेछ’, उनले भने । विट्साको नवगठित २० सदस्यीय समितिमा विश्वका पाँच महादेशबाट प्रतिनिधिहरू छन्, जसमा मलेसिया, ब्राजिल, नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, जापान लगायतका देशका सूचना प्रविधि विशेषज्ञहरू रहेका छन् । विट्सामा यसअघि दुई पटकसम्म क्यान महासंघका पूर्वअध्यक्ष हेमन्त चौरासियाले कोषाध्यक्षका रूपमा सफल कार्यकाल निभाएका थिए ।
हिमालयन एभरेस्ट इन्स्योरेन्सको नवनियुक्त सीईओ श्रेष्ठले गरिन् पदबहाली
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले पदबहाली गरेकी छन् । निर्जीवन बीमा कम्पनीमाहरूमा दोस्रो महिला सीईओ बनेकी उनले बिहीबार पदबहाली गरेकी हुन् । नव नियुक्त सीईओ श्रेष्ठसँग बीमा क्षेत्रको २९ वर्षको अनुभव रहेको छ । वि.सं २०५२ फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पदमा काम गर्दै सीईओ बनेकी हुन् । सीईओ बनेपछि नयाँ योजनाको साथ उनले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व सम्हालेकि हुन् । नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक केन्द्रीत सेवा प्रदान गर्ने र समस्या समाधानमा जोड दिने उनको भनाइ छ । ‘मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो,’ उनले भनिन् । कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठ नवनियुक्त सीईओ श्रेष्ठले बीमा क्षेत्रको अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझेको र इन्स्योरेन्स कम्पनीलाई अझ उचाइमा लैजान सहयोग पुग्ने बताए ।