सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डाअशोककुमार क्षेत्रीले जानकारी दिए । मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा लिएका थिए । बैठकले सर्वोच्च अदालतको रजिष्ट्रारमा सह–रजिष्ट्रार मानवहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै, सह न्यायाधिवक्ता सूर्यराज दाहाललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ ।  

भायानेटको स्वतन्त्र सञ्चालकमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

काठमाडौं ।  इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका क्षेत्री भायानेटको सञ्चालक समितिको निर्णयअनुसार बोर्डमा आबद्ध भएका हुन् । क्षेत्रीले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एसियाको विभिन्न वरिष्ठ जिम्मेवारी सम्हालेका थिए भने जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । उनले सन् २०२० मा ग्लोबल आइएमई बैंकको सीईओबाट अवकाश लिएका थिए । कम्पनीले क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढीको अनुभवले भायानेटको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।  ढकालले गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी)बाट अवकाश पाएका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । विभिन्न विभागीय प्रमुखका साथै ढकालले प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।  बैंकको सञ्चालक समितिमा महेश भट्टराई, लक्ष्मण घिमिरे, डा. राम प्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती र डा. सुर्य बहादुर राणा रहेका छन् ।  बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने देवेन्द्र रमण खनाल कार्यरत छन् ।