सचिव पोखरेल बने एशियाली सहकारी नियमन अलायन्सको अध्यक्ष

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव एशियाली सहकारी नियमन अलायन्सका अध्यक्ष बनेका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत रहेका उनी सो अलायन्सको अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलसँगै अलायन्सको उपाध्यक्षमा अल्तानतुल सोग्साईखान (मंगोलिया), सचिवमा अलेक्जेण्डर वि राकेपो (फिलिपिन्स), कोषाध्यक्षमा बुन्यारात आथानरोनारित (थाईल्याण्ड) निर्वाचित भएका छन् भने यस अलायन्सको सदस्य सचिव इलेनिता भिसान्सोके (थाईल्याण्ड) रहेकी छन् ।

बीमा प्राधिकरणको निर्देशकमा तिमल्सिना, सापकोटा, लामिछाने र अधिकारी बढुवा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशकमा ४ जना नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले ४ जना उप निर्देशकलाई निर्देशकमा बढुवा नियुक्त गर्न सिफारिस गरेको हो । पदपूर्ति समितिको फागनु २ गतेको निर्णय अनुसार ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका हुन् । प्राधिकरणका अनुसार ४ जना निर्देशक पदका लागि गत माघ १८ गते ९ जनाले दरखास्त पेस गरेका थिए । उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको हो । ४ जनाको बढुवा भएसंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिको सञ्चालकमा ५ जना निर्वाचित, रविन बने अध्यक्ष

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)को सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । कम्पनीको २३औं वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि ५ जना निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको सञ्चालकमा आइएमई लिमिटेडबाट रविन कुमार नेपाल रसविन ढकाल, प्रभु बैंकबाट रश्मी पन्त, ग्लोबल आइएमई बैंकबाट अनिल जोशी र सिटी एक्सपे्रस मनि ट्रान्सफरबाट सुभाष ज्ञवाली चयन भएका हुन् । साथै सञ्चालक समितिको बैठकले रविन कुमार नेपाललाई पुनः अध्यक्षमा चयन गरेको छ । यस्तै कम्पनीको स्वतन्त्र सञ्चालकमा मृगेन्द्र प्रधानलाई नियुक्त गरेको जनाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेको छ । एससीटी विभिन्न बैंक, वित्तीय संस्था, तथा रेमिट्यान्स कम्पनीबाट प्रवद्र्धित तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकका रुपमा स्थापित संस्था हो । यस संस्थाबाट एससीटी–यूनियन पे, भिसा, मास्टरकार्ड, डाइनर्स लगायतका कार्डहरु स्वीकार तथा जारी गर्ने गरिन्छ । साथै स्मार्ट क्यूआर, मोबाइल बैंकिङ सेवा तथा अन्तर बैंक रकमान्तर सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल २१ भन्दा बढी बैंक तथा वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाहरुले एससीटी मार्फत विभिन्न डिजीटल भुत्तानीका सेवाहरु लिइरहेका छन् ।