त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस, प्रधानमन्त्रीले छान्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीलाई बुझाएको छ । तर सिफारिस भएका ३ जनाको नाम सार्वजनिक गरिएको छैन । उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहेकामा प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी भएको छ । केसरजङ्ग बरालले राजीनामा दिएपछि रिक्त उपकुलपति पदमा प्रधानमन्त्रीले चाँडै निर्णय गर्ने बताइएको छ ।

प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की, सञ्चालक बने पूर्वसीईओ अर्याल

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले सञ्चालक रहेका कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।  लिला प्रकाश सिटौलाको ४ वर्षे कार्यकाल गत चैत १२ गते सकिएपछि बैंकको अध्यक्ष पद रिक्त थियो ।  यस्तै, बैंकको स्वतन्त्र सञ्चालकमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकाका रमेश राज अर्याल स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् । अर्याल कुमारी बैंकका पूर्व सीईओ हुन् ।  

नेपाल एसबिआई मर्चेण्ट बैंकिङको सीईओमा सन्तोष भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार भण्डारी नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको ७१औं बैठकले भण्डारीलाई सीईओमा नियुक्त गरेको हो । यसअघि उनले नेपाल एसबिआई बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।  बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको अनुभव सम्हालेका भण्डारी स्रोत तथा साधनको उच्चतम परिचालन तथा व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्व हुन् । नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित नेपाल एसबिआई मर्चेण्ट बैंकिङको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।