काठमाडौं विश्वविद्यालयको कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा अच्युतप्रसाद वाग्ले

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएको छ । आइतबारदेखि पदावधी सकिएपछि कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई दिइएको छ । केयूका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिको जिम्मेवारी दिइएको जनाइएको छ । विश्वविद्यालय कार्य व्यवस्था नियम, २०४९ को परिच्छेद ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि दैनिक कार्य सञ्चालन गर्न रजिस्ट्रार वाग्लेलाई नै जिम्मेवारी दिइएको हो । केयूको उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । सरकारले गठन गरेको समितिले उपकुलपति बन्नका लागि मागेको आह्वानबाट १६ जनाले आवेदन दिएका छन् । तर, संस्थापक उपकुलपति सुरेशराज शर्माका भान्जा र एक निजिकका आफन्तले नै आवेदन दिएपछि विवाद सिर्जना भएको छ । सरकारले उपकुलपति नियुक्ति गन्र्न गठन गरेको समिति नै विवादमा मुछिएको हो ।

ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा १२ वर्षको अनुभव

काठमाडौं । ज्योति क्यापिटलको सञ्चालकमा उमा श्रेष्ठ नियुक्त भएकी छन् । क्यापिटलको माघ ७ गते सम्पन्न सञ्चालक समितिको ५९ औं बैठकले ज्योति विकास बैंकबाट मनोनित भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक पदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको अनुभवी उमा श्रेष्ठसंग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव रहेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यपस्थापनमा स्नातकोत्तर समेत गरिन् । नव नियुक्त सञ्चालक श्रेष्ठको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्न] भन्नेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा एवं निक्षेप सदस्य सेवा प्रदान गरिरहेको छ ।

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल चयन

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल सर्वसम्मतिले चयन भएका छन् । कम्पनीको माघ २ गते बसेको बैठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरिएको जनाएको छ । अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्‍याउने विश्वास लिएको छ।