बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक औपचारिक समारोहमा शपथ गराएका हुन् । मंगलबार दिउँसो बानियाँलाई प्रदेश प्रमुख देवकोटाले बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा संयुक्त सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेश सभामा दुवै पार्टी मिलेर ६४ सांसदको बहुमत हासिल भएकाले बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । बानियाँअघि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।
इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त
काठमाडौं । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेका गरी कुल ६४ जना सांसदको समर्थन जुटाउँदै मुख्यमन्त्री बन्न सफल भएका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापति समेत रहेका बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन् । बानियाँअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा यस प्रदेशमा मुख्यमन्त्री भइसकेका छन् । मकवानपुर निवासी बानियाँ, सोही जिल्लाबाट दोस्रोपटक मुख्यमन्त्री बन्ने नेताका रूपमा चिनिएका छन् । यसअघि डोरमणि पौडेल पनि मकवानपुरबाटै नियुक्त भएका थिए । निर्माण व्यवसायी पृष्ठभूमिका बानियाँ मकवानपुरको कम्युनिस्ट प्रभाव क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने पहिलो कांग्रेस नेता हुन् । उनी २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद थिए । संघीय सरकारमा उनी २०७३ सालमा गृह राज्यमन्त्री र त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारीमा थिए । पछि मन्त्रालयको जिम्मेवारी राप्रपामा सरेपछि उनलाई गृह राज्यमन्त्री बनाइएको थियो । २०७४ सालदेखि कार्यान्वयनमा आएको संघीय संरचनाअन्तर्गत प्रदेशसभा निर्वाचनमा सहभागी भएका बानियाँ त्यसयता कांग्रेस संसदीय दलका नेता समेत रहे । अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्ने प्रयास गरेका उनले त्यसबेला सफलता पाएका थिएनन् । प्रदेशसभाको वर्तमान कार्यकालमा भने बानियाँले दलको नेताबाट बहादुरसिंह लामालाई विस्थापित गर्दै पुनः नेतृत्वमा फर्किएका हुन् । लामाले मुख्यमन्त्रीको रूपमा असफलता भोगेपछि बानियाँ नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । १३ साउनमा भएको मतविभाजनमा २२ मतले प्रस्ताव पारित भएसँगै लामाले पद गुमाएका थिए । कांग्रेसकै लामा आइतबार पदबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र दर्ता गरिएको थियो । त्यसपछि प्रदेश प्रमुखले मङ्गलबार दिउँसो २ बजेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका थिए । बानियाँले आह्वान भएको करिब आधा घण्टामै कांग्रेसका ३७ र एमालेका २७ जना सांसदको समर्थनसहित सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद आवश्यक पर्दछ ।
सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालिदास धौवजीले जानकारी दिए । ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कनलगायतलाई प्राथमिकतामा राखी रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको वृत्तिविकास, सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास गरिएको उनले बताए । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु छन्भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु तेस्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरु नवौँ ब्याचका छ्न् । मुख्यालयले बढुवा हुनका लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो । बढुवा मूल्याङ्कन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।