काठमाडौं । ७६औं अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा तीन जना विशिष्ट पर्वतारोही सम्मानित भएका छन् । नेपाली पर्वतारोहण, साहसिक पर्यटन र हिमाली समुदायको योगदानको कदर गर्दै गोरखाकी पूर्णिमा श्रेष्ठ, लमजुङका नरेन्द्र शाही र मन राज गुरुङलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेश सरकारकी यशोदा रिमालले सम्मानपत्र प्रदान गर्दै हिमाल, पर्यटन र राष्ट्रको गौरव बढाउन तीनै जनाले पु¥याएको योगदान प्रेरणादायी रहेको बताइन् ।
कार्यक्रम ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी को आयोजनामा तथा नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण आयोजना, गण्डकी प्रदेश सरकार र दोर्दी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।
सम्मानित व्यक्तिमध्ये पूर्णिमा श्रेष्ठ नेपाली पर्वतारोहण क्षेत्रमा पछिल्लो समय सर्वाधिक चर्चित महिला आरोही हुन् । फोटो पत्रकारिताबाट करियर सुरु गरेकी उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेपछि लगातार विश्वका अग्ला हिमालहरूमा सफलता हासिल गरिन् ।

सन् २०२४ मा उनले केवल १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै विश्वकै पहिलो महिला बन्ने कीर्तिमान कायम गरिन् । उक्त उपलब्धि गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ ।
पूर्णिमाले अन्नपूर्ण, धौलागिरि, मनास्लु, कञ्चनजङ्घा, मकालु, ल्होत्से र केटु लगायतका आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन् ।
लमजुङको राइनास नगरपालिका निवासी नरेन्द्र शाही नेपाली पर्वतारोहण क्षेत्रका अनुभवी माउन्टेन गाइड तथा उद्धारकर्ता हुन् ।
सन् २००५ मा पर्वतारोहण यात्रा सुरु गरेका उनले हालसम्म पाँच पटक सगरमाथा सफल आरोहण गरिसकेका छन् ।
नेपालका हिमाल मात्र होइन, युरोपका विभिन्न देशका कठिन शिखरहरूमा समेत सफल आरोहण गरेका शाही पर्वतारोहण प्रशिक्षण, उद्धार तथा नयाँ पुस्ताका आरोही उत्पादनमा सक्रिय छन् ।

उनी नेपाल राष्ट्रिय माउन्टेन गाइड एशोसिएसनका पूर्व प्राविधिक निर्देशक तथा गण्डकी अल्पाइन क्लबका संस्थापक अध्यक्षसमेत हुन् ।
मनराज गुरुङलाई नेपाली पर्वतारोहण क्षेत्रमा ‘बौद्धिक आरोही’का रूपमा चिनिन्छ । लमजुङको प्यारजुङमा जन्मिएका उनले गत मे १५ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए ।
अन्तर्राष्ट्रिय माउन्टेन गाइडसमेत रहेका गुरुङले हिमलुङ, आमादब्लम, मेरा पिक र अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोसहित दर्जनौं हिमाल आरोहण गरिसकेका छन् ।
पर्वतारोहणसँगै शैक्षिक क्षेत्रमा समेत अब्बल रहेका उनले साहसिक पर्यटन, हिमाल र पर्वतारोहणसम्बन्धी विषयलाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
अन्नपूर्ण आरोहण दिवसको अवसरमा दोर्दी क्षेत्रमा नयाँ पदमार्गको प्रवद्र्धन, ग्रामीण पर्यटन विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणबारे समेत छलफल गरिएको थियो।
आयोजकका अनुसार कार्यक्रमले लमजुङको दोर्दी क्षेत्रलाई नयाँ साहसिक पर्यटन गन्तव्यका रूपमा परिचित गराउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
७६ वर्षअघि भएको अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको सम्झनामा हरेक वर्ष मनाइने अन्नपूर्ण आरोहण दिवसले यसपटक पनि नेपाली पर्वतारोहण इतिहास, साहस र पर्यटन प्रवद्र्धनलाई एकै मञ्चमा जोडेको छ ।
