प्रहरी निरीक्षक डा. विवेक पन्थीलाई बर्खास्त गर्ने तयारीमा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले डा. विवेक पन्थीलाई कारबाही गर्ने भएको छ । मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक समूहतर्फ कार्यरत प्रहरी निरीक्षक डा.पन्थीलाई स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । 

मन्त्रालयका अनुसार कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक पन्थी गत चैत २६ गतेदेखि दुई दिनको भइपरी बिदा स्वीकृत गरी बसेका थिए । तर बिदा समाप्त भएपछि चैत ३० गतेदेखि उनी कार्यालयमा हाजिर नभएको र बिना जानकारी गैरहाजिर रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित कार्यालय तथा स्थानीय तहबाट खोजतलास गर्दा समेत सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ (संशोधन सहित) बमोजिम प्रक्रिया अघि बढाइएको हो । 

गृह मन्त्रालयले सूचना जारी भएको मितिबाट बाटोको म्यादबाहेक ७ दिनभित्र गैर-हाजिरीको कारण खुलाइ सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ । यदि तोकिएको अवधिभित्र उपस्थित नभएमा प्रहरी नियमावलीको नियम ११३(१)(च) र नियम १०९(ख)(१) बमोजिम ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ ।

Share News