काँकरभिट्टाबाट मात्रै ६ अर्बको पेट्रोलियम पदार्थ आयात, राजस्व २.९० प्रतिशत वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् २.०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए । चालु आवको ४ महिनामा पेट्रोलियम पदार्थ आयातबाट २ अर्ब ९६ करोड ८१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ३ अर्ब १० करोड ५४ लाख रुपैयाँ मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी १ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ । यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रुपैयाँ मूल्य पर्ने ८ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख रुपैयाँ पर्ने २ हजार ९०८ किलोलिटर एटिएफ र ४ करोड ६१ लाख रुपैयाँ पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।
भारतले थप ३५ मेगावाट अनुमति दिएसँगै नेपालको विद्युत निर्यात क्षमता १२ सय मेगावाट पुग्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारमा अर्को सफलता हात पारेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सीईए) ले नेपालबाट थप ३४.९५ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएसँगै नेपालको कुल स्वीकृत निर्यात क्षमता १ हजार २ सय मेगावाट पुगेको छ । बुधबार भारतीय पक्षबाट प्राप्त नयाँ अनुमतिसँगै प्राधिकरणले अब भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को प्रतिस्पर्धी बजारमा थप दुई आयोजनाको बिजुली बिक्री गर्न पाउने भएको हो । कुन-कुन आयोजनाले पाए अनुमति ? प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार अब सेती नदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादी खोला जलविद्युत आयोजनाको १०.७० मेगावाट विद्युत भारतीय बजारमा बिक्री हुनेछ। यसअघि प्राधिकरणले ३३ वटा आयोजनाका १ हजार १ सय ६५ मेगावाट विद्युत निर्यातको अनुमति पाएको थियो । नयाँ थपिएका दुई आयोजनासहित अब कुल स्वीकृत क्षमता १ हजार २ सय मेगावाट पुगेको छ । नयाँ आयोजनाको स्वीकृतिसँगै भारतले यसअघि नै निर्यात भइरहेका १२ वटा आयोजनाको २०४.५८ मेगावाट विद्युतको निर्यात अवधि पनि थप गरिदिएको छ । यसअघि १५ जुनदेखि ३१ अक्टोबरसम्मका लागि मध्यकालीन द्विपक्षीय सम्झौतामार्फत अनुमति पाएका यी आयोजनाहरूको बिजुली अब वर्षको बाँकी अवधिमा पनि भारतीय प्रतिस्पर्धी बजार (आईईएक्स) मा बिक्री गर्न सकिने गरी नवीकरण गरिएको प्राधिकरणले जनाएको छ । बंगलादेशसँग बढ्दै व्यापार नेपालले हाल भारतको प्रसारण लाइन प्रयोग गर्दै ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिरहेको छ । हालै बंगलादेशमा सम्पन्न द्विपक्षीय वार्तामा थप २० मेगावाट विद्युत निर्यात गर्ने समझदारीसमेत भएको छ । प्राधिकरणले वर्षायाममा आन्तरिक खपत भई बढी भएको विद्युत भारतको ‘डे-अहेड’ तथा ‘रियल टाइम’ बजारमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । यसका साथै हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौतामार्फत पनि बिजुली निर्यात भइरहेको छ । यद्यपि, नदीमा जलस्तर घट्ने सुख्खायाममा भने नेपालले अपुग विद्युत भारतको आईईएक्स र द्विपक्षीय सम्झौतामार्फत आयात गर्दै आइरहेको छ।
भ्रष्टाचारविरुद्धको कारवाही रोकिँदैन, प्रधावशाली व्यक्ति जोडिएका ठाउँमा पनि कारबाही हुन्छ : कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने दावी गरेकी छन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन्। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको बुधबार (आज) सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौं । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन । हामी रोकिँदैनौं ।’ ‘तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला । केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन्,’ उनले थपिन् । निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताइन् । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरु नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उनले प्रस्टाइन् । उनले भनिन्, ‘हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । केन्द्रीय अनुन्धान ब्युरो छ । विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन् । प्रभावकारी ढंगले चल्न सकून् । समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।’ सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको टिप्पणी प्रधानमन्त्री कार्कीको छ । उनले भनिन्, ‘यहाँ किसानका नाममा पनि राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देशरविदेश घुमिरहेको हुन्छ, सांसद मन्त्री बनिरहेको हुन्छ । कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ । सहुलितको मलबीउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ । अरू व्यवसाय गर्नेहरूका नाममा पनि राजनीति भयो । यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?’ यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राखिन्। नेता किराँतीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गरेका थिए । उनीहरूले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । यदि कुनै दलले घोषित रुपमै गुण्डागर्दी गर्न संगठन खोलेर अघि बढ्छ भने जेनजीले पनि प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उनीहरूले चेतावनी दिए ।