मन्त्रिपरिषद् बैठकमै कृषिमन्त्री चौधरीले बाँडिन् डीडीसीका उत्पादनहरू
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गरेकी छन् । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने र सरकारी निकायबाटै यसको उपभोग बढाउने उद्देश्यका साथ मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका दुग्धजन्य उत्पादनहरूको प्याकेज वितरण गरेकी हुन् । मन्त्रिपरिषद्को आजको बैठकमा डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा गहन छलफल समेत भएको छ । बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, नेपाली दुग्ध किसानहरूको हित रक्षा तथा डीडीसीलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने एजेन्डालाई मुख्य रूपमा उठाएकी थिइन् । लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई प्रधानमन्त्री वालेन्द्र शाहले पनि समर्थन जनाएका छन् । यसभन्दा अगाडि प्रधानमन्त्री शाहलेडीडीसीका उत्पादनको प्रवर्द्धन र प्रचार गर्न सामाजिक सञ्जालमा पोस्ट राखेका थिए ।
१४ वटा मुद्दा लागेका राजु मिजार पक्राउ, ३ करोड तिर्नुपर्ने फैसलापछि थिए फरार
काठमाडौं । बैंकिङ कसुर तथा चेक अनादरका १४ मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा फरार रहेका राजु मिजारलाई पक्राउ गरेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए । सीआईबीका सह-प्रवक्ता समेत रहेका खड्काका अनुसार देबी चन्द्र जोशी समेतको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसुर मुद्दामा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ (साबिक विष्णु गा.वि.स.-८) का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला अनुसार उनीमाथि बैंकिङ कसूरका १२ वटा र चेक अनादरका २ वटा गरी कुल १४ वटा मुद्दा कायम छन् । फैसलाअनुसार उनीमाथि जम्मा बिगो बापत २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ, जरिवाना बापत ४३ लाख २३ हजार ५३४ रुपैयाँ र क्षतिपूर्ति बापत १ लाख ७२ हजार ९४१ रुपैयाँ गरी कुल ३ करोड ३ लाख ५८ हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै उनलाई ९० दिन कैद सजाय समेत तोकिएको छ । प्रहरीले जेठ २५ गते काठमाडौं महानगरपालिका-४, धुम्बाराहीबाट उनलाई पक्राउ गरेको खड्काले बताए । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनको भनाइ छ ।
चेक अनादरमा ग्रेटर नेपालका अध्यक्ष नेपाल डिल्लीबजार कारागार चलान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष तथा ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपाललाई डिल्लीबजार कारागार पठाइने भएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंले उनलाई डिल्लीबजार कारागार पठाउन २ वर्षका लागि आदेश दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनीविरूद्ध जाहेरवाल युवराज खत्री रहेका थिए । अदालतले २०७९ जेठ २५ गते फैसला गरेको थियो । रकम नपाएपछि खत्रीले पुन: गत वैशाख ११ गते बिगो रकम बराबरको कैद भराइ पाउँ भनी अदालतलाई निवेदन दिएका थिए । प्रहरीका अनुसार चेक अनादरसम्बन्धी निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई २ वर्षको कैद सजाय भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । अनुसन्धान अघि बढाउने क्रममा उनलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । संखुवासभाको सभापोखरी स्थायी घर भएका ६७ वर्षीय नेपाल हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३, कौशलटारमा बसोबास गर्दै आएका थिए। नेपाल त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।