निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण
किमाथाङ्का । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए । दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको उजुरीका आधारमा उनीहरुमाथि स्पष्टीकरण सोधिएको जनाइएको छ । कर्मचारीको नाम भने खुलाइएको छैन । ती कर्मचारीलाई लिखित स्पष्टीकरण लिएको उनको भनाइ छ । आचारसंहिता विपरीत गतिविधि पुनः दोहोर्याएमा कडा कारबाही गरिने सहायक निर्वाचन अधिकृत न्यौपानले बताए । त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने निर्णयसमेत भएको उनले बताए । प्रतिनिधिसभा सदस्य एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।
कास्की क्षेत्र नं १ मा १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
गण्डकी । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ । पोखरा महानगरपालिका– १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडा यस निर्वाचन क्षेत्रमा पर्दछन् । यस पटकको निर्वाचनमा यस क्षेत्रबाट १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । यस क्षेत्रमा कुल उम्मेदवारमध्ये १६ जना पुरुष, एक जना महिला रहेका छन् भने जसमध्ये १६ जना राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार हुन् । कास्की जिल्लाका तीनवटै क्षेत्रमा कुल मतदाता तीन लाख आठ हजार ५७२ रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक लाख १६ हजार ८७८ जना मतदाता रहेका छन् । यस क्षेत्रमा पर्ने मादी र रूपा गाउँपालिकामा जलविद्युत्, कृषि तथा पर्यटनमा धेरै सम्भावना रहेर पनि त्यसको समुचित उपयोग हुन सकेको छैन भने महानगरका वडाहरूमा पनि अपेक्षित रुपमा विकास हुन सकेको पाइँदैन । यहाँ गाउँ पर्यटनका विशिष्ट गन्तव्यहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायतका पर्यटकीय गन्तव्य रहेका छन् । कास्की र लमजुङको सिमानास्थित तमुहरूको उद्गमस्थल क्होलासोंथर जस्ता ऐतिहासिक गन्तव्यले पनि यहाँको महिमा र गरिमा चुलिएको छ । पदयात्रा पर्यटनमा उत्तिकै महत्वपूर्ण यस क्षेत्रमा मादी गाउँपालिकाको सिक्लेसदेखि मनाङ र लमजुङसम्म, त्यस्तै नागिधार, भाचोक, वारचोक, याङ्जाकोट, ताङतिङदेखि सिक्लेससम्मका पदमार्ग पदयात्रा पर्यटनका गन्तव्य हुन् । यस्तै, सिक्लेस र ताङतिङलगायत स्थानबाट मनाङको तिमाङसम्म जोडिने गुरुङ सम्पदा पदमार्गलगायतले यहाँको पदयात्रा पर्यटनको महत्वलाई अझै उचाइमा पुर्याएको पाइन्छ । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको दाबी गरिने कफुचे हिमताल पनि यहाँको अर्को आकर्षण हो । यसैगरी सिक्लेस–सिसाघाट, कसेरी–भैँसे–थुमाकोडाँडा, राखी–मिजुरे–पोसी, सैमराङ–भाचोक–नागिधार–पोसी, काहुँखोला–दूधपोखरी सडक, काहुँखोलादेखि ताङतिङलगायतका सडकको स्तरोन्नतिका विषय आसन्न निर्वाचनका लागि मतदाताले उम्मेदवारसँग खोज्ने चुनावी मुद्दा रहेको जानकारहरू बताउँछन् । यहाँका जङ्गलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटी पाइने यहाँ लेकाली भेगमा पाइने टुसालाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउन सकिन्छ । यस्तै, पोखराकै दोस्रो ठूलो बेगनासतालसहित क्षणक्षणमा रुप फेरिरहने रुपातालका साथै दीपाङ्ग, खास्टे, मैदी, न्युरेनी, गुँदे जस्ता तालको पर्यटकीय उपयोग यहाँका सम्भावना हुन् । ऐतिहासिक महत्वको कालिका मन्दिरसहित ठूलाकोट, हंसपुरको स्याक्लुङ्कोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भिरचोक कोट, बराहाथोकको कालभैरव, तल्लो गगनगौंडाका राधाकृष्ण, कालिका मन्दिरलगायतलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेको रोयल ट्रेक र तनहुँ, लमजुङ हुँदै कास्की जोडिने मिर्लुङकोट पदयात्रा मार्ग पनि यसै क्षेत्रको पर्यटकीय गन्तव्य हो । तालबेँसी, खाल्टे खोला, बृदिम, आपुखोला, थुम्सीकोट बेँसीलगायत फाँटमा व्यावसायिक कृषिको विकासका पर्याप्त सम्भावना यस क्षेत्रमा रहेका छन् । शिशुवा देउराली हुँदै सिसाघाट, रूपाकोट थुम्की, सात ताल जोड्ने लिङ्करोड र बेगनास भोर्लेटारलगायतका सडकका स्तरोन्नति र विकासमा सर्वसाधारणले उम्मेदवारसँग प्रतिबद्धता खोज्न सकिने देखिन्छ । यसै क्षेत्रबाट यसअघि २०४८ सालमा निर्वाचित भएर नेपाली कांग्रेसका तारानाथ रानाभाटले देशको सभामुखको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसयता विसं २०५१ मा नेकपा (एमाले)का खगराज अधिकारी, २०५६ मा नेपाली कांग्रेसका रानाभाट दोस्रोपटक विजयी बनेका थिए । विसं २०६२/२०६३ को लोकतान्त्रिक आन्दोलनपछि विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) अर्थात् तत्कालीन नेकपा माओवादीका देव गुरुङ विजयी बनेका थिए । दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा उपनिर्वाचन हुँदा माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका यज्ञबहादुर थापा विजयी बने भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धनका खगराज अधिकारी विजयी बनेका थिए । त्यसपछि विसं २०७९ को निर्वाचनमा एमालेका मनबहादुर गुरुङ विजयी बनेका थिए । एकपछि अर्को निर्वाचनमा फरकफरक दलबाट विजयी हुने भएकाले यस क्षेत्रलाई परिणाम फेरिरहने क्षेत्रका रुपमा लिइन्छ । यस पटकको निर्वाचनमा एमालेबाट वैनबहादुर अधिकारी क्षेत्री, कांग्रेसबाट तिलकबहादुर रानाभाट, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खडकराज पौडेल (गनेश), राप्रपाबाट बाबुराम थापा, उज्यालो नेपाल पार्टीबाट मनीषा द्वालगायत १७ जनाको उम्मेदवारी रहेको छ । रासस
के हो निपा भाइरस, कस्ता देखिन्छन् लक्षण ?
काठमाडौं । निपा भाइरस एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ । यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त आवश्यक छ । यो कसरी सर्छ ? निपा भाइरस मुख्यतया ’फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ । संक्रमित फलफूल जस्तै चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा सर्न सक्छ । यो रोग सर्ने अर्को माध्यम भनेको जनावरको सम्पर्क जस्तै संक्रमित सुँगुर वा अन्य जनावरको र्याल र पिसाबको सम्पर्कमा आउँदा सर्छ भने मानिसबाट मानिसमा जस्तै संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुन्छ । कस्ता लक्षणहरू देखापर्छन् ? निपा संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । यसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने गर्छ । यस्तै मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने, गम्भीर अवस्थामा मस्तिष्क सुन्निने गर्छ जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्छ । बच्ने उपायहरू के हुन ? अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि बनिसकेको छैन । सावधानी नै सबैभन्दा ठूलो उपचार हो । फलफूल सफा गरेर मात्र खाने गर्नुपर्छ । भुईँमा झरेका वा चरा–चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै खान हुँदैन । फलफूल खानुअघि राम्ररी पखाल्नुपर्छ भन साबुन पानीले नियमित रूपमा हात धुने गनपर्छ । यसबाट बच्न बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक जान हुँदैन । यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ । यदि लक्षण देखिएमा के गर्ने ? यदि तपाईं वा तपाईंको वरपर कसैमा यस्ता लक्षणहरू देखिएका छन् र उनीहरू चमेरो वा संक्रमित क्षेत्रको सम्पर्कमा आएका छन् भने तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्नुपर्छ । बिरामीलाई अलग्गै (आइसोलेसन) राख्नुपर्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन गर्नुहुँदैन । निपा भाइरसको संक्रमण दर कम भए पनि यसको जोखिम धेरै रहेकाले सरसफाइमा ध्यान दिएर र खानपानमा सतर्कता अपनाए यस्ता संक्रमणबाट बच्न सकिन्छ ।