ललितपुर जिल्ला अदालतले खाजा खाने समयमा सेवा दिने
काठमाडौं । ललितपुर जिल्ला अदालतमा खाजा खाने समयमा सेवाग्राहीले सेवा पाउने भएका छन् । अदालतले सूचना जारी गर्दै अदालतको खाजा समयमा समेत कुनै रोकावट नगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको हो । ‘कर्मचारीहरूको लागि दिउँसोको खाजा समय प्रत्येक आइतबारदेखि बिहिबारसम्म १: ३० बजेदेखि २ : ३० सम्म र शुक्रबारका दिन १ देखि २ बजेसम्म तोकि सो समयमा अदालतको सेवा प्रवाह रोकावट हुने गरेको छ,’ सूचनामा उल्लेख छ ।
बिना भिसा क्यासिनोमा काम गर्न कम्बोडिया पुगेका ८ नेपाली फर्काइए
काठमाडौं । क्यासिनोमा काम गर्न बिना भिसा कम्बोडिया पुगेका ८ जना नेपालीलाई फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको पहलमा बिना भिसा प्रवेश गरेका ६ जना नेपाली नेपाल फर्केका हुन् । मंगलबार कम्बोडियाको विमानस्थलबाट उडेर बुधबार ८ जना नेपाली नेपाल आइपुगेको दूतावासले जनाएको छ । दूतावासका अनुसार अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ । कम्बोडियामा नेपालीहरू अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसाअवधिभन्दा बढी समय बसिरहेको दूतावासले उल्लेख गरेको छ । कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।
संसद् अधिवेशनको तयारीका लागि आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । संसद् सचिवालयले आह्वान गरेको सर्वदलीय बैठक बुधबार (आज) अपरान्ह १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल हुनेछ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेसँगै सर्वदलीय बैठक बस्न लागेको हो । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।