काठमाडौं । हाल देशका लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने यो मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गइरहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार फरकफरक प्रकारका बादल विकसित भइरहेका छन् ।
काठमाडौं उपत्यकामा भने केही समयपछि वर्षा हट्ने सम्भावना रहेको छ । मौसमविद् लामिछानेले मेघगर्जन, चट्याङ र वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न सर्वसाधारणलाई आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह समेत गरे ।
यसैबीच, मंगलबार (आज) राति देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ ।
त्यस्तै, मधेस प्रदेश, लुम्बिनीको पहाडी तथा तराई भूभाग, कोशी, बागमती र गण्डकीको तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
साथै, देशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।