२० करोडको लगानीले फेरियो नगरकोटको मुहार

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ स्थित पर्यटकीय गन्तव्य नगरकोट यतिबेला तीनै तहका सरकारको लगानीले तीव्र रूपमा विकास हुँदै गएको छ । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा पर्यटन पूर्वाधारमा भएको लगानीले नगरकोटको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । विगत एक दशकदेखि जीर्ण बनेको भक्तपुर-नगरकोट सडकले नगरकोटको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको थियो । तर चाँगुनारायण नगरपालिकाले सडक कालोपत्र गरेपछि र संघ, प्रदेश तथा स्थानीय सरकारको वार्षिक २० करोड रुपैयाँभन्दा बढी लगानीले नगरकोटको विकासले गति लिएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा बासिन्दाले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गरे । कार्यक्रममा चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले पछिल्लो चार वर्षमा नगरकोटले उल्लेखनीय परिवर्तन हासिल गरेको बताए ।  उनले भने, ‘ठेकेदारले अलपत्र पारेको भक्तपुर-नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो। नगरकोट भ्रमण वर्ष २०८२ सञ्चालन गरियो । चाँगुनारायण नगरपालिकासँगै काभ्रेको मण्डनदेउपुर, बनेपा तथा काठमाडौंको शङ्खरापुर नगरपालिकाले पनि नगरकोट जोड्ने सडक स्तरोन्नति र कालोपत्र गरेपछि पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।’ उनका अनुसार नगरकोटमा खानेपानी ट्याङ्की निर्माण गरी घरघरमा धारा विस्तार गरिएको छ । साथै बतासेडाँडामा बुद्ध मूर्ति तथा विभिन्न शालिक स्थापना, पर्यटकीय संरचना निर्माण, बसपार्कदेखि होटलसम्म पुग्ने सडक स्तरोन्नति, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार, सरसफाइ अभियान, शुक्रबारे हाटबजार सञ्चालन तथा पर्यटक सुरक्षालगायतका कार्यक्रमले विकासलाई गति दिएका छन् । वडाध्यक्ष लामाले नगरकोटमा तामाङ सङ्ग्रहालय स्थापना गर्ने योजनाका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिए । साथै कम्तीमा १० श्ययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको र नगरकोटलाई औपचारिक रूपमा पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको बताए । सार्वजनिक सुनुवाइमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपालगायत विभिन्न दलका प्रतिनिधिहरूले नगरकोटको विकासप्रति सन्तुष्टि व्यक्त गर्दै जनप्रतिनिधिहरूको कार्यसम्पादन सकारात्मक रहेको बताए । वडासचिव राजेन्द्र गणेशका अनुसार चालु आर्थिक वर्षमा वडाबाट विभिन्न शीर्षकमा १ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । वडामा स्वीकृत १०० योजनामध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने ३८ वटा निर्माणाधीन छन् । यस अवधिमा १०१ वटा घटना दर्ता भएका छन् भने ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

काठमाडौं महानगरमा बचत रकम फिर्ता गर्न ६ हजार बढीको उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा चार अर्ब ७७ करोड ४९ लाख २३ हजार रुपैयाँ बचत रकम फिर्ता गरीदिनका लागि ६ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन् । कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको हो ।       सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार उल्लेखित बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएका उजुरीका आधारमा छ हजार ३०० बचतकर्ताले माग गरेका छन् । यसरी माग दाबी गर्ने बचतकर्तामा एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको रकम बढी रहेको उनले जानकारी दिए ।       प्रमुख काफ्लेले भने, 'निवेदनका आधारमा औसतमा यसरी उजुरी दिनेमा दैनिक ५०० देखि एक हजार जम्मा गर्ने अर्थात् साना रकम जम्मा गर्ने बचतकर्ताको सङ्ख्या अत्यन्तै बढी छ ।' उनका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत छ ।      कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको प्रमुख काफ्लेले जानकारी दिए । कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्नेको रकम फिर्ता गरेको हो ।      सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ ।  कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ ।       सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ । विभागका प्रमुख काफ्लेले बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, 'माग दाबीसहितको निवेदन लिन्छौँ । संस्थाका सञ्चालक र बचत फिर्ता माग गर्नेका बीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौं ।'       वडास्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्ने प्रमुख काफ्लेले बताए । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका लागि सिफारिस पनि गरिने उनले जानकारी दिए ।  

काठमाडौं महानगरको छात्रवृत्तिमा १४ हजार विद्यार्थी उत्तीर्ण, एक जनाले ल्याए ९२ अंक

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजो (जेठ १७) गते लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्यूनतम् ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो ।  यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो । नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो । यो नतिजामा चित्त नबुझे जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने अवधि दिइएको छ । यसपछि अन्तिम योग्यता क्रमको सूची प्रकाशन हुनेछ । अन्तिम योग्यता क्रमको सूची पछि मात्र शिक्षण संस्था म्याचिङ तथा विद्यार्थी मनोनयन सिफारिस प्रक्रिया सुरु हुन्छ । ढकालका अनुसार परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने एक जना विद्यार्थीले ९२ अङ्क प्राप्त गरेका छन् । यस्तै दोस्रो उच्चतम प्राप्त गर्ने एक जना विद्यार्थीले ९१ अङ्क पाएका छन् । तेस्रोमा ५ जना विद्यार्थीको ९० अङ्क छ ।  प्रकाशित नतिजामा चित्त नबुझेमा १ हजार रुपैयाँ राजस्व दाखिला गरेर प्रवेश पत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिनेछ । यस्तै, फाराममा नाम, लिङ्ग लगायतका विवरण फरक परेको वा योग्यता नपुग्ने आरक्षण क्षेत्रमा आवेदन दिई फाराम स्वीकृत भएकोले उक्त क्षेत्र हटाउनु परेमा (क्षेत्र थप गर्न भने नमिल्ने) प्रमाण पुग्ने कागजात संलग्न गरी जेठ २० गतेभित्र निवेदन दिन सकिने उल्लेख छ ।  छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनोटका लागि २०८३ वैशाख ३ गते सूचना प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र र १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।