९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो, १ हजार ५४ आयोजना सम्पन्न

काठमाडौं । विकास-निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र ५ वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ ।  १ हजार ५४ आयोजना सम्पन्न नगरपालिकाले गत आवमा वर्ष १ हजार ५४ आयोजना सम्पन्न गरेको छ । १ हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्का मार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए ।  पूरा भएका १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका, १६६ वटा आयोजना ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका र ८७२ आयोजना ५ लाख रुपैयाँ भन्दा कम लागतका हुन् । 

जेनजी प्रदर्शन : बनेपा नगरपालिकामा १० करोडको क्षति

काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोडबराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो । प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ । नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ । विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको हो ।   त्यसैगरी, दोस्रो तलामा रहेका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्यकक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलास कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको पूाविधि मूल्याङ्कनमा उल्लेख गरिएको छ । यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ ।    योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ । मिनीट्रक रु ४९ लाख ५० हजार, तीन ट्याक्टरको रु ४५ लाख, एक टिपरको रु २५ लाख ९० हजार, एक मोटरसाइकलको रु एक लाख ४२ हजार ९००, दुई कारको रु २३ लाख, एक जीपको रु पाँच लाख आठ हजार २६८, पाँच साइकलको रु ५० हजार क्षति भएको छ । डेक्सटप कम्प्युृटर सेट ४४, ल्यापटप १६, ट्याबलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, टेलिभिजन तीनलगायत ६१ प्रकारका सामानको मूल्य रु आठ करोड २२ लाख ४९ हजार ५३१ बराबरको क्षति भएको उल्लेख छ ।   त्यस्तै, खर्च भएर जाने एक सय ४९ प्रकारका जिन्सी सामान जलेकामा रु १४ लाख ६० हजार क्षति भएको जनाइएको छ । विपद् प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् । पुरातात्विक सामान पितलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुण्डो, धलौटको सिनमुलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ । नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । हाल बनेपा १० नं वडा कार्यालयमा नगर कार्यालय व्यवस्थापन गरी सेवा प्रवाह गरिएको छ । रासस

काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबार पुनःनिर्माणका लागि  ५ करोड सहयोग गर्ने

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबार भवनको पुनःनिनर्माणका लागि फोरमको तर्फबाट ५ करोड सहयोग गर्ने भएको छ । शुक्रबार मेयर्स फोरमले पत्रकार सम्मेलन गरी सो रकम बराबरको सहयोग गर्नेबारे जानकारी गराएको हो ।   फोरमको हिजो (असोज ९ गते) गोदाबरी नगरपालिकामा बसेको बैठकले उक्त रकम बरारको सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै, फोरमले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सीसीटिभी प्रणाली व्यवस्थापन लगायतका लागि काठमाण्डौं उपत्यका प्रहरी कार्यालयलाई पुनःनिर्माणको लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।  गत भदौ २३ र २४ गते जेनजी पुस्ताले देशभर गरेको प्रदर्शनको कारण सार्वजनिक र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो । प्रदर्शनकारीहरूले भदौ २४ गते सिंहदरबारसहित राज्यका महत्त्वपूर्ण भवन जलाएका थिए । फोरमले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, नगरपालिकाहरूको भवन, सुरक्षा निकायका प्रहरी कार्यालयलगायतका सार्वजनिक सम्पत्तिमा भएको आगजनी र तोडफोड निन्दनीय भएको उल्लेख गरेको छ ।  फोरमले जेनजी पुस्ताको नाममा अराजक तथा तोडफोडको योजना समेत नभएको हुनुपर्ने ठहर गर्दै यसले नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै धक्का पुगेको निष्कर्ष निकालेको साथै यो गतिविधिले देश मात्र आक्रान्त नभई अन्तर्राष्ट्रिय जगतमा समेत बदनामी र बेइज्जती भएको फोरमका अध्यक्ष एव ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।  यसका साथै तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका उपत्यकाका नगरपालिकालाई समेत सेवा प्रवाहमा सहजीकरणका लागि क्षतिविवरणका आधारमा सहयोग गर्ने प्रतिबद्धता फोरमले गरेको छ ।  काठमाडौं उपत्यका मेयर्स फोरम उपत्यकामा रहेका १८ वटा नगरपालिकाका प्रमुख र उपप्रमुख सदस्य र तीनवटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष आमन्त्रित सदस्य रहेको संस्था हो । यसले नागरिकको दुःख, सुख र स्थानीय विकासमा प्रत्यक्ष सरोकार राख्दै आएको छ ।  त्यसैगरी, फोरम स्थापनाको अर्को उद्देश्य स्थानीय तहबीच भएका असल अभ्यासहरूको आदानप्रदान गर्ने, समान प्रकृतिका विषयमा संगठित आवाज उठाउने, पालिकाहरूबीच सहकार्य, समन्वय र आवश्यक पर्दा एकले अर्कालाई सहयोग गर्नु रहेको छ । स्थानीय तहको पहिलो निर्वाचन (विसं २०७४) सम्पन्न भएसँगै गठन भएको यस फोरमको बैठक पालिकाहरूमा क्रमश: पालैपालो गर्दै आएकोमा बाह्रौं बैठक मिति असोज ९ गोदावरी नगरपालिकामा बसेको थियो ।