काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूलाई बहालमा लिएका घर, कोठा तथा फ्ल्याट खाली गर्न कडा निर्देशन दिएको छ । महानगरको न्यायिक समितिको निर्णय कार्यान्वयन गर्दै कानून तथा मानव अधिकार विभागले आधा दर्जन सहकारी संस्थालाई १५ दिनभित्र सम्पर्कमा आउन र बहालमा रहेका सम्पत्ति खाली गर्न निर्देशन दिएको हो ।
महानगरका अनुसार तोकिएको समयभित्र सहकारी संस्थाका पदाधिकारी, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा सदस्यहरू सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णयअनुसार बहालमा लिएका घर-कोठा तथा फ्ल्याटहरू अनिवार्य रूपमा खाली गराइनेछ ।
खाली गराउँदा सहकारी संस्थाका कार्यालय सामग्रीहरू सम्बन्धित घरधनीको जिम्मामा रहने र त्यसपछि ती सामग्रीबारे कुनै पनि दाबी-विरोध स्वीकार नगरिने स्पष्ट गरिएको छ । महानगरले यसअघि न्यायिक समितिबाट भएका निर्णय कार्यान्वयन गर्ने क्रममा सहकारी संस्थाहरूलाई लक्षित गर्दै यस्तो निर्देशन जारी गरेको हो ।
महानगरका अनुसार सत्कार सहकारी संस्था लिमिटेड, अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, हिराखुशी बहुउद्देश्यीय सहकारी संस्था, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था, नवल सवल बचत तथा ऋण सहकारी संस्था तथा पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था गरी विभिन्न संस्थाहरू समावेश छन् ।
