मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

जनकपुरधाम । विगत पाँच दिनदेखि धनुषाको मिथिला नगरपालिकामा गरिएको तालाबन्दीले दैनिक कामकाज ठप्प भएको छ ।  नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको कारण देखाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीको नेतृत्वमा वडाध्यक्षसहितको टोलीले तालाबन्दी गरेको थियो । आर्थिक वर्षका योजना कार्यान्वनमा केन्द्रीत हुनुपर्ने बेला तालाबन्दी हुँदा समस्या भएको छ ।  नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख बुढाथोकीबीचको विवादले विगत पाँच दिनदेखि कामकाज ठप्प हुँदा नागरिकले नै घाटा बेहोर्नु परिरहेको थानीय रामसरोज साहको गुनासो छ । उनले तत्काल विवाद समाधान गरी विकास निर्माणका काम हुने वातावरण बनाउन सरोकार भएकाहरूलाई आग्रह गरेका छन् ।  आफ्नो अधिकारमाथि नगरप्रमुखबाट हस्तक्षेप भएको भन्दै उपप्रमुख बुढाथोकीले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन् । रासस

मखन आगलागी प्रकरण : छानबिन समिति गठन गर्न उपप्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका-२८ मखनमा वैशाख ३१ गते बिहान भएको आगलागी समयमा नियन्त्रणमा लिन नसकिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै उपप्रमुख सुनिता डंगोलले छानबिन समिति गठन गर्न निर्देशन दिएकी छन् । तीन वटा घरमा क्षति पुर्याएको उक्त आगलागीबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिँदै उपप्रमुख डंगोलले भनिन्, 'दमकल स्टेशन नजिकैको स्थानमा आगो नियन्त्रणमा लिन किन ढिला भयोरु दमकल समयमै किन पुग्न सकेन ? के पूर्वाधार समस्या हो कि मानवीय लापरवाही ?' उक्त दिन बिहान ६:५० बजे दयाराम श्रेष्ठको घरमा सुरु भएको आगलागी फैलिँदै रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ र विकास श्रेष्ठका घरमा समेत क्षति पुगेको थियो । आगलागीबाट धुवाँमा निस्सासिएर एक वृद्धाको ज्यानसमेत गएको थियो । उपप्रमुख डंगोलले वडाध्यक्ष विनोद कुमार राजभण्डारीसँगै घटनास्थलको निरीक्षण गरेपछि छानबिन आवश्यक रहेको निष्कर्षमा पुग्दै भनिन्, 'भौतिक मात्र होइन, मानवीय क्षति भएको छ । यस्ता घटनामा कसको कमजोरी भयोरु त्यसको जिम्मेवारी कसले लिन्छ ? सबै स्पष्ट हुनुपर्छ ।' उनले आगलागी नियन्त्रणमा ढिलाइ हुनुका पछाडि दमकलमा पानी नभएको, बाटोमा निर्माण सामग्रीले अवरोध गरेको, पूर्वतयारीको अभाव रहेको भन्ने गुनासो आएको जानकारी दिइन् । 'त्यस दिनको गल्ती दोहोरिन नदिन हामीले छानबिन समिति बनाउँदै छौँ,' उपप्रमुख डंगोलले भनिन्, 'आगामी दिनमा यस्ता घटनामा तयारी, प्रतिक्रिया र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे स्पष्ट सिफारिस पनि आवश्यक छ ।' समितिले दमकल, एम्बुलेन्स सेवा, स्थानीयवासी, जनप्रतिनिधि लगायतसँग छलफल गर्दै पूर्वतयारी, तत्कालीन प्रतिक्रिया, उद्धार र राहत व्यवस्थापनका विषयमा प्रतिवेदन पेश गर्नेछ ।

काठमाडौं महानगर दोस्रोपटक मेयर कपमा विजेता, पेनाल्टीमा गोदावरी पराजित

काठमाडौं । काठमाडौं महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ । फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो शृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।   गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो ।  यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो । महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो । सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो ।  गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो । खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए । महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १÷१ गोल दिलाउनुभएको थियो । दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले गर्नुभएको १ गोलले महनगरपालिकालाई जिताएको थियो ।  महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु  प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए । प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।