सरसफाइमा लाखौं खर्च गर्दै आएको व्यास नगरपालिकाले फोहरलाई मोहोरमा बदल्दै

तनहुँ । व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सुक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको हो । विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री गरिरहेको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । नगरपालिकाले ५० हजार रुपैयाँ बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ । अन्य प्लाष्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । नगरपालिकाले न्यूनतम दररेट कायम गरी १५ दिनको सूचना जारी बोलपत्र आह्वान गरेको हो । जसअनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ५०, फलाम प्रतिकेजी २८, टीन २०, पानीको बोतल तथा अन्य बोतल २०, कपडा चार रुपैँया ५० पैसा, कपी १५, किताब १४ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहर वर्गीकरण गरिएको छ । नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन हुने गरेको छ । कुहिने फोहरलाई व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सुक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना अघि बढाइएको जानकारी दिए । यसबाट मासिक १ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ । सरसफाइ शाखाका कर्मचारी परिचालन गरी नकुहिने वस्तु वर्गीकरण थालिएको उनले बताए । भारतबाट किनेर ल्याएको ‘बेलिङ’ मेसिन नगरपालिका परिसरमा जडान गरी नकुहिने प्लाष्टिकजन्य, फलामजन्य र कागजजन्य वस्तुलाई ठूलो आकारबाट सानो आकार बनाउने काम भइरहेको छ । उक्त मेसिनले ठूलो आकारको वस्तुलाई दाबेर सानो आकार बनाउनुका साथै आफैले ‘ब्यान्डिङ’ गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्ने लक्ष्यअनुरूप प्रक्रिया अघि बढाएको छ ।

एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

काठमाडौं । देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् । देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गरेको हो । देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका २ सय सातजना एकल पुरुषलाई २४ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए । त्यसैगरी, आव २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई १० लाख ८९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो । आव २०७९/८० मा देउमाईका ८८ जनाले १० लाख ५६ हजार रुपैयाँ भत्ता पाएका थिए । तेस्रो लिङ्गीका लागि मासिक ५ सय रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताउनुभयो । ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई ५ लाख ४५ हजार ५ सय रुपैयाँ र आर्व २०८०/८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले ५ लाख ४५ हजार ५ सय रुपैयाँ भत्ता पाएका छन् । यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताए। देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा ५ हजार रुपैयाँ र दीर्घरोगीलाई एकपटक ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

आमचोक गाउँपालिकाको लगानीमा १४ सय रोपनी जग्गामा चियाखेती

भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सिर्जना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार ४०० रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने उद्धेश्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि योजनाबद्ध रूपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले चार करोड ५० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । उक्त पालिकाका वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताए । यी वडामा प्रशस्त खाली जमिन छ भने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताए । ‘गाउँपालिकाले योजनाबद्ध रूपमा चियाखेती विस्तार गरिरहेको छ,’ अध्यक्ष राईले भने, ‘यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौं । हालसम्म करिब एक हजार चार सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ,’ उनले भने । आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उनले बताए । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौं,’उनले भने । स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रूपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उनले बताए । वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले ९ हजार र स्वयम व्यक्तिले एक हजार गरी १० हजार बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताए । यहाँका अतिगरिब विपन्न एक हजार १६३ परिवारलाई सेयर वितरण गरिएको उनले बताए । गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उनले बताए । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा चिया र कफीको क्षेत्रमा बृहत्तर रूपमा थप काम गर्ने उनले बताए । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नं २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताए । गाउँपालिकाको ४५ लाख र कोशी प्रदेश सरकारको एक करोड लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ । ‘गाउँपालिका क्षेत्रको चियाखेतीको सम्भवनालाई मूर्तरुप दिन बृहत रुपमा चियाखेती विस्तारको काम भइरहेको छ,’ प्रशासकीय अधिकृत राईले भने, ‘उत्पादित चियाको प्रशोधनका लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भइरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ,’ उनले भने । दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताए । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफीखेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ । रासस