काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूलाई ४५ दिनभित्र विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ । महानगरको सहकारी विभागले सहकारी ऐन, २०७४ तथा नियमावली, २०८० अनुसार सबै सहकारी संस्थालाई नियमित रूपमा सञ्चालन, अभिलेख व्यवस्थापन र वार्षिक विवरण पेश गर्न निर्देशन दिएको हो ।
साथै, साधारण सभा नगरी सञ्चालनमा रहेका सहकारी संस्थाहरूले तत्काल साधारण सभा सम्पन्न गरी अद्यावधिक विवरण ४५ दिनभित्र अनिवार्य रूपमा पेश गर्न महानगरले निर्देशन दिएको हो ।
महानगरपालिकाका अनुसार वैशाख १७ गतेसम्म १ हजार ८४८ सहकारी संस्थाहरू रहेका छन् । जसमध्ये ६७८ वटा सहकारी संस्थाले मात्रै नवीकरण गरेका छन् भने बाँकी १ हजार १७० सहकारी संस्था अझै नवीकरण नभएको महानगरले जनाएको छ ।
महानगरका अनुसार १ हजार ६४४ बचत तथा ऋण सहकारी संस्थामध्ये ५५९ नवीकरण भएका छन् भने १ हजार ८५ नवीकरण भएका छैनन् । त्यस्तै १६५ वटा बहुउद्देश्यीय सहकारी संस्थामध्ये १०० नवीकरण भएका छन् भने ६५ वटा सहकारीले नवीकरण गर्न बाँकी रहेको छ ।
३ वटा सीपमूलक सहकारी संस्थामध्ये २ वटा नवीकरण भएका छन् भने १ वटा नवीकरण हुन बाँकी रहेको छ । त्यस्तै, १६ वटा कृषि सहकारी संस्थामध्ये ८ वटा नवीकरण भएका छन् भने ८ वटा अझै नवीकरण हुन बाँकी छन् ।
महानगरपालिकाका अनुसार ४ वटा स्वास्थ्य सेवा सहकारी संस्थामध्ये ३ वटा नवीकरण भएका छन् र १ वटा बाँकी रहेको छ। १३ वटा उपभोक्ता सहकारी संस्थामध्ये ४ वटा नवीकरण भएका छन् भने ९ वटा नवीकरण भएका छैनन्। २ वटा श्रमिक सहकारी संस्थामध्ये १ वटा नवीकरण भएको छ र १ वटा बाँकी छ। साथै, २ वटा सञ्चार सहकारी संस्थामध्ये १ वटा नवीकरण भएको छ भने १ वटा अझै नवीकरण हुन बाँकी रहेको छ ।
महानगरपालिकाले सहकारी संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण कार्य पनि नियमित रूपमा भइरहेको जनाएको छ । यस क्रममा आवश्यक कागजातहरू अद्यावधिक र व्यवस्थित राख्न सहकारीहरूलाई अनुरोध गरिएको छ । निर्धारित समयभित्र विवरण पेश नगर्ने तथा मापदण्ड विपरीत सञ्चालन हुने सहकारी संस्थामाथि प्रचलित कानूनअनुसार कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।