इटहरी उपमहानगरले खरिद गर्याे साढे ६ करोडमा ४ वटा विद्युतीय बस, असोज १ गतेबाट सञ्चालन
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरू गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, ‘इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ, सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ, सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ । ।’ उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा बस खरिद गरिएको बताए । उनका अनुसार बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् । नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।
साढे ५ करोड खर्चेर बन्यो पैयूँ गाउँपालिकाको भवन
पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ । प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० रुपैयाँ लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिए । निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक एक लाख रुपैयाँ भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताए । पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिए । रासस
धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन्द्र साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् । बिहीबार काठमाडौं महानगर वडा ८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् । उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने जानकारी दिए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताए । २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको बताए । पशुपति क्षेत्रका सडकहरु चाँडो र तिब्रगति गतिमा बन्दै जाने विश्वास रहेको बताए । विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको जानकारी दिए । यस्तै, उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेहेका बताए । सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने जानकारी दिए । सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने जानकारी दिए । ‘आगामी दिनहरुमा हाम्रो वडा अध्यक्ष,जनप्रतिनिधि ज्युहरु र कर्मचारीहरुको सहकार्यले सम्पदामैत्री बोटा र घरहरुको मुहार यस्तै देखियोस् भन्ने चाहना छ । अगाडि देखि घरका फसादहरु सम्पदामैत्री मेगा शैलीमा भयो भने पर्यटकीय क्षेत्र अझै पनि राम्रो देखिनेछ’, उनले भने । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरको वडा ८ ऐतिहासिक, सांस्कृति र पुरातात्विक रुपमा महत्व बोकेको वडा भएको बताइन् । वडाले बस्ती र बस्तीहरुलाई सांस्कृति र पुरातात्विक रुपमा पर्यटकीय रुपमा आकर्षण बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।