भरतपुरको वडा नम्बर १७ बालमैत्री वडा घोषणा
चितवन । भरतपुर वडा नम्बर १७ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको १० औं बालमैत्रीको रूपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले १७ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरे । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन् । प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्ने धारणा राखिन् । देशका ६ महानगरपालिकामध्ये पहिलो सडक मानवमुक्त महानगर घोषण गर्न सफल भएको पनि स्मरण गरिन् वडा नम्बर १७ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई धन्यवाद पनि ज्ञापन गरिन्। उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको जानकारी दिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि थप जिम्मेवार सुरु भएको बताए । राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्रथामिकता राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा घर परिवार पहिलो निकाय भएको उनले उल्लेख गरे । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १७ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन्।
शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगर पुरस्कृत
ललितपुर । शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ । ललितपुर महानगरले देशभरका ६ वटा महानगर र उपमहानगरमध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएहो हो । प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्याङ्कन गरेर पानले महानगरलाई उत्कृष्ट महानगरपालिका पुरस्कार २०८२ बाट पुरस्कारसहित सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । शिक्षामन्त्री रघुजी पन्तले महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गरे । शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न अहोरात्र काम गरेको बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामुदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताए । आगामी वर्ष प्रभावकारी र नविनतम योजनाहरु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । शिक्षाविज्ञ प्रा।डा। विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय र त्यहाँ पढेका विद्यार्थीसँग अथाह सम्भावना भएको बताउँदैे प्रविधि र पुस्तक र ज्ञानलाई एक अर्कासँग जोड्र अघि बढ्नु पर्ने धारणा राखे । कार्यक्रमा देशभरबाट छनौट भएका उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका, उत्कृष्ट प्राधानाध्यापक र उत्कृष्ट विद्यालय सम्मान सहित पुरस्कृत गरिएको छ । पानका अध्यक्ष सुदा प्रसाद गौतमले सामुदायिक विद्यालयको गुणस्तर सुधार र सामुदायिक विद्यालयले प्रदान गरेको शिक्षामा देखिएको नैराश्यता चिर्नका लागि संस्था गठन गरेको बताए । कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखका थिए।
आज कञ्चनपुरका ४ पालिकामा सार्वजनिक बिदा
दोधारा चाँदनी । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छभने लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताए । उनका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहरा मेला लाग्ने गर्छ । 'यो क्षेत्रको ऐतिहासिक नक्टाबाबालाई प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने हाम्रो उद्देश्य छ', नगरप्रमुख चौधरीले भने, 'यसको महत्वलाई दृष्टिगत गरेर हामीले हरेक वर्ष गङ्गादशहरा एक दिन बिदा दिने गरेका छौँ ।' नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका–५ का वडाअध्यक्ष लालबहादुर चौधरीले बताए । 'रानाहरूको भाषामा नक्टाबाबा भनेर चिनिने यस स्थानमा गङ्गादशहरामा हरेक वर्ष ठूलो मेला लाग्नेगर्छ', उनले भने, 'नेपाल र छिमेकी मुलुक भारतका गरी एक लाख बढी दर्शनार्थीहरू यहाँ आउने गरेका छन् ।' वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए । मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।