१२ लाख खर्चेर बाँझो जग्गामा फलफूल रोपेर हराभरा बनाउँदै विदेशी

गलकोट । काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ । विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन् । डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन् । विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपाल मार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती र टिमुरलगायतका फलफूलका बिरुवा विदेशी स्वयंसेवीहरुले  बाँझो जग्गामा लगाइरहेको काठेखोला–२ भीमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए । आयआर्जन बढाउने र वातावरण संरक्षण गर्नेगरी फलफूल रोप्ने काम चलिरहेको छ । सडक सुविधा नपुगेको र बसाइँसराइका कारण जमिन बाझिँदै गएपछि विदेशीको सहयोगमा अहिले आठ सय फलफूलका बिरुवा लगाइसकेको शर्माले बताए । उनले एक हजार दुई सय ओखर, एभोकाडोलगायत फलफूलका बिरुवा लगाउने योजनाअनुसार अहिले डोहेरी गाउँ र धम्जाको माझकटेरामा स्थानीयको सहयोगमा फलफूलका बिरुवा रोप्ने कार्य चलिरहेको शर्माको भनाइ छ । ‘अहिले १४ जना विभिन्न देशका विदेशी नागरिक फलफूलका बिरुवा रोप्न खटिनुभएको छ, स्थानीयले सघाइरहेका छन्, हालसम्म ४८ विदेशी स्वंसेवक बिरुवा लगाउन परिचालन भइसक्नुभएको छ, उनीहरु आफै खाल्टो खन्छन्, आफै बिरुवा रोप्छन्’, शर्माले भने, ‘वडा कार्यालयको निरन्तरको समन्वय र सहकार्यमा बाँझो जग्गा छिट्टै फलफुल बगैँचामा परिणत हुनेछ ।’ ओखर र टिमुर लगाउने काम अन्तिम चरणमा पुगेको छ भने एबोकाडा र कागतीका विरुवा लगाउने तयारी भइरहेको छ । विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पिएसडी नेपालमार्फत बिरुवा खरिददेखि रोपणसम्मको सम्पूर्ण खर्च व्यहोर्नेगरी बाँझो जग्गा सदुपयोग भइरहेको छ । बिरुवा रोप्नका लागि तीन महिना अघि नै कम्पोष्ट मल तयार गरिसकेको र अहिले बाँझो जग्गालाई सरसफाइ गरेर खाल्टा खनिरहेको डोहेरीका स्थानीय प्रेमप्रसाद न्यूरेले बताए । डोहेरी गाउँमा २२ घरपरिवार रहे पनि अहिले आठ घरमा मात्रै मानिस बस्दै आएका छन् । केही घर खण्डहर भएर भत्किएका छन् । बसाइँसराइका कारण उजाड बनेको गाउँ हरियाली बनाउने वडा कार्यालयको योजनाले उत्साहित बनेको न्यूरेको भनाइ छ । ओखर, कागती, टिमुर र एभोकाडोका लागि आवश्यक सिँचाइ पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ । न्यूरले आफ्नो दुई रोपनी जग्गामा सल्लाका बोट, निगालो र ऐँसेलुको झाडी फाडेर ५५ ओखर र दुई सय टिमुरका बिरुवा लगाएका छन् । कागती र एभोकाडो लगाउनका लागि अन्य जग्गाको तयारी थालिएको जनाउँदै न्यूरेले गाउँभरमा एक हजार दुई सयभन्दा बढी बिरुवा लगाउने काम अन्तिम चरणमा पुगेको बताए । वडाको उच्च स्थानमा रहेको डोहेरी गाउँका स्थानीयलाई आय आर्जनसँग जोड्नका लागि ओखरलगायत बिरुवा रोप्न थालिएको बताउँदै उनले एक हजार दुई सय बिरुवा लगाउन १२ लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए । केही फलफूलका बिरुवा काठेखोला–३ माझकटेरामा लगाउन थालिएको छ । रासस

झापामा ९४० जनालाई रोजगारी प्रदान

भद्रपुर । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिइएको हो । भद्रपुर नगरपालिकाका रोजगार संयोजक टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत रोजगारीको व्यवस्था भएको हो । जिल्लाभरका छ हजार दुई सय ५० जना सूचीकृत बेरोजगार भए पनि बजेट अभावले स्थानीय तहको प्राथमिकीकरण सूचीमा परेको व्यक्तिलाई मात्र रोजगारी दिइएको हो । रोजगारी प्राप्त नौ सय ४० श्रमिकले विभिन्न दुई सय ८६ आयोजनामा दैनिक छ सय ६८ रुपैयाँका दरले ज्याला प्राप्त गरेको रोजगार संयोजक पाण्डेले बताए । एक आर्थिक वर्षमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आयभन्दा कम आय भएको र न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएको व्यक्ति स्थानीय तहको बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आवेदन गर्नसक्ने प्रावधान छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना, नेपाल सरकारको स्रोेत र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना, विश्व बैंकको ऋण सहयोगबाट स्थानीय तहमा आव २०७५/७६ देखि रोजगारीको प्रबन्ध हुँदै आएको छ ।

बैतडीका स्थानीय तहबाट २५ करोड रकम फिर्ता

बैतडी । बैतडीका स्थानीय तहले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गतका रकम शतप्रतिशत खर्च गर्न सकेनन् । यहाँका १० वटै स्थानीय तहबाट गत आर्थिक वर्ष २०८/०८१ मा खर्च हुन नसकेर २५ करोड २१ लाख ९४ हजार तीन सय ६९ रुपैयाँ फिर्ता भएको छ । यहाँका स्थानीय तहका लागि दुई अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६ सय ४८ रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये दुई अर्ब ५८ करोड ३१ लाख ६३ हजार दुई सय ७८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए । पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार दुई सय ३४ रुपैयाँ प्राप्त भएकोमा ३३ करोड ८८ लाख ९९ हजार एक सय २३ खर्च भएको थियो । सो नगरपालिकाका लागि प्राप्तमध्ये चार करोड ७७ लाख ८३ हजार एक सय १० रुपैयाँ फिर्ता भएको हो । दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख ८१ हजार दुई सय ९३ रुपैयाँ प्राप्त मध्ये २६ करोड ६५ लाख ८१ हजार पाँच सय ३४ रुपैयाँ खर्च भएको छ । बाँकी तीन करोड ५४ लाख ९९ हजार सात सय ५८ रुपैयाँ फिर्ता भएको छ । दशरथचन्द नगरपालिकामा ४० करोड २४ लाख १८ हजार नौ सय ६० बजेट प्राप्त भएकोमा ३७ करोड २४ लाख ९४ हजार दुई सय ३४ रुपैयाँ खर्च भएको छ । दशरथचन्दबाट दुई करोड ९९ लाख २४ हजार सात सय २५ रुपैयाँ खर्च हुन सकेन । पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार नौ सय ३० रुपैयाँ बजेट प्राप्त भएकोमा ३७ करोड ३९ लाख १८ हजार चार सय तीन रुपैयाँ खर्च भई ९० लाख १५ हजार पाँच सय २६ रुपैयाँ फिर्ता भएको छ । मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त गरेकोमा २४ करोड ३९ लाख ५४ हजार तीन सय ८५ रुपैयाँ खर्च गरेको हो । दुई करोड ७२ लाख ७० हजार ६ सय ४० रुपैयाँ फिर्ता भएको छ । डिलाशैनी गाउँपालिकाबाट गत आवमा ६८ लाख ७२ हजार दुई सय ८२ रुपैयाँ फिर्ता भएको छ । २४ करोड ५५ लाख ९९ हजार एक सय ४३ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार आठ सय ६० रुपैयाँ खर्च गरेको थियो । पञ्चेश्वर गाउँपालिकाबाट गत आवमा एक करोड ९८ लाख ५० हजार तीन सय ६० फिर्ता भएको छ । २० करोड २४ लाख ८८ हजार ९५ रुपैयाँ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार सात सय ३४ खर्च भएको जनाइएको छ । शिवनाथ गाउँपालिकाबाट गत आवमा तीन करोड २९ लाख ३४ हजार सात सय ५६ रुपैयाँ फिर्ता भएको छ । शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार तीन सय ५१ बजेटमध्ये १५ करोड ३३ लाख ९४ रुपैयाँ खर्च भएको छ । सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार ५ सय बजेट प्राप्त भएकोमध्ये २० करोड नौ लाख ७७ हजार ३१ रुपैयाँ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर एक करोड ५५ लाख ६ हजार चार सय ६९ रुपैयाँ फिर्ता भएको छ । सुर्नया गाउँपालिकाले दुई करोड ७५ लाख ३६ हजार सात सय ३९ रुपैयाँ फिर्ता गरेको छ । सुर्नयाले २३ करोड ९२ लाख १० हजार ६ सय १६ प्राप्त गरेकोमा २१ करोड १६ लाख ७३ हजार आठ सय ७६ रुपैयाँ मात्र खर्च गरेको थियो । सशर्त, समपुरक र विशेष अनुदानअन्तर्गत प्राप्त हुने बजेट सर्तसहित आउने भएकोले सबै रकम खर्च हुन नसकेको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए । उनले भने, ‘शीर्षक छुट्याएर बजेट दिएको हुन्छ, सोही शीर्षकमा मात्रै खर्च गर्नुपर्ने हुन्छ ।’ ठेक्का प्रक्रियाबाट योजना निर्माण गर्दा घटाघटीमा ठेक्का गर्नुपर्ने र निर्धारित बजेट बाँकी रहने भएकोले त्यस्तो बचेको बजेट फेरि खर्च गर्न नमिल्ने हुँदा फिर्ता जाने गरेको उनको भनाइ छ ।