विपदजन्य घटनाको प्रतिकार्य तयारीका लागि तहगत सरकार र संयन्त्रको समन्वय जरुरी : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले विपदजन्य घटनाको प्रतिकार्य तयारी, खोज उद्धार र पुनःस्थापनाका लागि तहगत सरकार र संयन्त्रको समन्वय जरुरी रहेको बताएकी छिन् । महानगर प्रहरी र सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटरको संयुक्त आयोजनामा रानीपोखरीमा मनसुनजन्य विपद प्रतिकार्यका लागि कृतिम घटना व्यवस्थापन कार्यक्रममा उनले सो बताएकी हुन् । उक्त कार्यक्रममा डंगोलले महानगरपालिकाले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर काम गरिरहेको बताइन् । उनले नागरिकका आँगनमै रहेकोले विपदजन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै विपद्जन्य घटना व्यवस्थापनको दायित्व पूरा गर्न बजेटको व्यवस्था गर्ने बताएकी हुन् । ‘तहगत सरकारका बिचमा समन्वय र सहकार्य संविधानको मर्म हो । आजको कृतिम अभ्यास यसको उदाहरण हो,’ उनले भनिन्, ‘गएको वर्षको पानीजन्य विपदले पाठ सिकाएको छ । त्यस समयमा गरिएको सिकाइलाई आधार मानेर दक्षता बढाउनु पर्छ । सम्भावित प्रकोप व्यवस्थापन गर्न तयारी अवस्थामा रहनुपर्छ ।’ कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले साझेदारका बीचमा भएको स्रोत, सीप र क्षमतालाई एकीकृत गरेर विपद्को सामनालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने आजको कार्यक्रमले दिएको सन्देश रहेको बताए । पूर्वतयारी एक पटक गरेर सकिने काम होइन । यसलाई नियमित गरिरहनु पर्ने उनको भनाइ थियो । अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुङ्गा तथा अन्य स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेको व्यक्तिलाई बचाउने, ढुङ्गा पल्टियो भने त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजाने अभ्यास गरिएको थियो । यसका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक वटा ढुङ्गाको प्रयोग गरिएका थिए । गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौंमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुबानजस्ता विपदबाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो । महानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिएको छ ।
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्त्वपूर्ण विषय भएको उल्लेख गरे । महानगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिन कुनै कसुर बाँकी नरहने प्रमुख दाहालले बताइन् । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार ज्येष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन् । गत वर्ष ६८ वर्षमाथिका ज्येष्ठ नागरिकको गरिएको र अब क्रमशः कम उमेरका नागरिकको स्वास्थ्य परीक्षण गरिने उल्लेख गरिन् । जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे । चितवनभन्दा बाहिरा बालबालिकाहरू छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाइ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए। विशेष गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ । यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरूबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरू समुदाय स्तरमा सञ्चालन हुँदै आएको छ । भरतपुर महानगरपालिकामा अन्तर्गत १ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य क्लिनिक, १ वटा मातृ शिशु क्लिनिक, ६ वटा आयुर्वेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–५ लाई बालश्रम मुक्त वडा घोषणा
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नं ५ बाट गरिएको नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको छ । यससँगै अब बिस्तारै अन्य वडाहरूलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने नगरपालिकाको भनाइ छ । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नं ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिन् । उक्त सम्मानपत्र वडा नं ५ का वडा सदस्य सुशान्त श्रेष्ठले वाचन गरेका थिए ।