पिउने पानी पिउन अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता खारेज
काठमाडौं । काठमाडौं महानगरपालिकाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको छ । महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ । पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भइ आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’ सोमबार विभागले आपूर्तिकर्तालाई पत्र पठाएको हो । पानी आपूर्तिकर्ता इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो ।
अस्पतालजन्य फोहर स्रोतमै नछुट्याउँदा जनस्वास्थ्य जोखिममा
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ । कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताए । कामपाले आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहर व्यवस्थापन अनुगमन गरेको जनाएको छ । कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पतालमा तीन पटकभन्दा बढी अनुगमन गरिएको छ । यसवर्ष पनि अस्पताल, क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक, आइभीएफ सेन्टरको अनुगमन गरिएको छ । अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये चालु आर्थिक वर्षमा अनुगमन भएका स्वास्थ्य संस्थाका प्रतिनिधि अनिवार्य समावेश हुने गरी सोमबारदेखि हानीकारक फोहर व्यवस्थापन र तरल फोहर प्रशोधन प्रणालीका विषयमा प्रशिक्षण सुरु भएको छ । सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले घरघरमा औषधिजन्य फोहरको मात्रा भेटिन थालेकाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला भएको बताए । प्रशिक्षणमा स्वास्थ्य संस्थाजन्य फोहरको प्रकृति र व्यवस्थापन विधिका विषयमा प्रस्तुतिकरण गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सावधानी र सचेतना भए स्रोतमै फोहरको मात्रा घटाउन सकिने बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य संस्थाबाट प्रति शय्या प्रतिदिन ०.९९ किलो देखि १.७३ किलोसम्म फोहर उत्पादन हुन्छ । यसरी उत्पादन हुने सङ्क्रामक फोहरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ ।
हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू
अदानचुली । यहाँका छ गाउँपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदा जगेर्ना गर्न स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ (मातृभाषा सहित) अनुसार ती स्थानीय तहले पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेका हुन् । स्थानीय पाठ्यक्रममार्फत बालबालिकालाई आफ्नो परिवेशबाट सिक्न, नजिकको वातावरण, भूगोलबारे बुझ्न, सम्बन्धित ज्ञानको उत्खनन गर्न, समुदायमा रहेका मूल्य, मान्यता र ज्ञान परीक्षण गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसै शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गरिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए । स्थानीय पाठ्यक्रम सम्बद्ध सबैका लागि उपयागी हुने विश्वास लिइएको अदानचुली गाउँपालिकाको पाठ्यक्रम निर्माणका विज्ञ सदस्य डा दीपेन्द्र रोकायाको भनाइ छ । सातवटा गाउँपालिका भएको हुम्लाका पाँच स्थानीय तहहरु नाम्खा, सिमकोट, खार्पुनाथ, ताँजाकोट र सर्केगाडले यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् भने अदानचुली गाउँपालिकाले भर्खरै निर्माण गरेको भए पनि यसै वर्षबाट लागू गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले बताए । चङ्खेली गाउँपालिकाले आगामी वर्षबाट लागू गर्ने जनाएको छ ।