ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
ललितपुर । ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने बताए । उनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं । ’ लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
कालिका नगरपालिकाको नयाँ बजेटः किसानलाई कम शुल्क, स्वास्थ्य सेवा विस्तार
नारायणगढ । चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९५ करोड सात लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौं नगरसभामा उपप्रमुख बिमला तामाङले रु सात करोड आन्तरिक आम्दानी र सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आधार मानेर बजेट प्रस्तुत गरे। प्रस्तुत बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । नगर प्रमुख विनोद रेग्मीका अनुसार कृषि क्षेत्रको प्रोत्साहनका लागि कृषि व्यवसाय दर्ता तथा नवीकरण शुल्क घटाएर एक सय मात्र राखिएको छ, जुन यसअघि एक हजारदेखि पाँच हजारसम्म तिर्नुपर्ने थियो । कालिकामा हाल मह, केरा, च्याउ, कोदो, फापर, अदुवा, हलेदो, पिँडालुलगायतका उत्पादन विस्तार हुँदै आएका छन् । नगरपालिकाले यिनै उत्पादनलाई व्यावसायिकस्तरमा प्रवर्द्धन गर्न सिँचाइ, यान्त्रिकीकरण तथा बजारीकरणमा लगानी बढाउने बताइएको छ । 'रासायनिक विषादीको विकल्पमा प्राङ्गारिक मल र जैविक विषादी प्रयोगलाई प्राथमिकता दिएका छौं,' प्रमुख रेग्मीले भने, 'व्यावसायिक उत्पादन बढाउन आवश्यक यन्त्र, उपकरण खरिदमा अनुदान दिने, प्राविधिक सहयोग, गुणस्तरीय बीउ तथा भण्डारणमा सहयोग गरिनेछ ।' सामूहिक खेती, रोजगारी सिर्जना तथा जैविक खेती प्रवर्द्धनका लागि प्राङ्गारिक मल, झोल मल र कम्पोस्ट मल प्रयोग गर्ने किसानलाई विशेष अनुदान दिइने पनि उनले बताए । कालिकाको वडा नं १० र ११ मा रहेको चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमलाई पनि बजेटमा समेटिएको छ । उपप्रमुख तामाङका अनुसार आगामी वर्षमा पनि विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिनेछ । चालु वर्षमा ९१० परिवारका तीन हजार ३८३ जनाको बिमा गरिएको थियो भने त्यसमा रु ३० लाख ९५ हजार खर्च भएको थियो । कालिका नगर अस्पतालमा दन्तसेवा थप गर्ने र इन्डोर सेवा (बिरामी भर्ना गरेर उपचार गराउने) सुरु गर्ने तयारी पनि बजेटमा समावेश गरिएको छ । नगर प्रवक्ता लक्ष्मण पौडेलले ‘मेयर केयर’ र ‘उपमेयरसँग बालबालिका’ कार्यक्रममार्फत सबै बालबालिकालाई विद्यालय पठाउने वातावरण बनाइने जानकारी दिए । गत वर्ष चालु आर्थिक वर्षका लागि नगरपालिकाको बजेट ९२ करोड ९७ लाख ७४ हजार रहेको थियो । यस वर्ष नगरपालिकाले आर्थिक पारदर्शिता बढाएर बेरुजु शून्यमा झार्ने लक्ष्य लिएको छ ।
'नक्कली महानगर’ बसको नाममा ठगी : यात्रु अलमल, कम्पनी संकटमा
काठमाडौं । ‘महानगर यातायातको नाम, रंग, डिजाइन र आकार नक्कल गरेर सोही रुटमा बस सञ्चालन गरिएको भन्दै कम्पनीले कडा आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले यात्रुहरू झुक्याउने, दुर्घटना गराउने र प्रतिष्ठामा आँच पुर्याउने घटनामा नक्कली बस संलग्न रहेको गुनासो सार्वजनिक गरेको हो । महानगर यातायातले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि नक्कली बसका कारण यात्रुहरूले झोला छुटाउने, गन्तव्य नपुग्ने, अप्ठ्यारो पर्ने जस्ता समस्यामा परेका छन् । साथै नक्कली बसले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितले सक्कली 'महानगर यातायात'को कार्यालयमा उजुरी दिने गरेका छन्, जसले संस्थालाई अनावश्यक झन्झटमा पार्ने गरेको जनाइएको छ । 'एउटै नाम र रंगका बसले सोही रुटमा चल्दा यात्रु मात्र होइन, हामी सञ्चालकहरू पनि हैरान भएका छौं,' कम्पनीका एक प्रतिनिधिले भने । यस्ता गम्भीर समस्याहरूका बाबजुद सम्बन्धित निकायमा पटक-पटक ध्यानाकर्षण गराउँदा समेत कुनै कारबाही नहुनु प्रति कम्पनीले गम्भीर चिन्ता व्यक्त गरेको छ । नक्कली बसले गराएका दुर्घटनाहरूमा वास्तविक तथ्य पत्ता लागे पनि गाडी नचिनिँदा पीडितहरू न्यायबाट वञ्चित हुने गरेका छन् । यसले न त कम्पनीको प्रतिष्ठामाथि न त यात्रुको सुरक्षामाथि भरोसा बाँकी राखेको छ । महानगर यातायातले प्रहरी प्रशासन, यातायात कार्यालय र विभागमा पटक-पटक उजुरी दिए पनि समस्या समाधानको पहल नहुनु दुःखद भएको जनाएको छ । कम्पनीले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न पुनः आग्रह गर्दै, यदि सुधार नभए कानुनी बाटो रोज्ने चेतावनी समेत दिएको छ ।