बञ्चरेडाँडामा बढ्यो फोहर, दैनिक १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन
फाइल फाेटाे काठमाडौं । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ । यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ । साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत दुई वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर पुनःप्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिने वातावरण प्रमुख सरिता राई बताउँछन् ।
काठमाडौंंका ४६ स्थानबाट फूल बिक्री गरिँदै
काठमाडौं । काठमाडौं महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिएका हुन् । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । ‘हामी व्यापारीहरूलाई प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, प्रमुख शाहले भनेका छन् । अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए । महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गरेका छन् । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ । फूल बिक्रीका लागि तोकिएका स्थल महानगरले बालाजु माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, भाटभटेनी, भ्याली कोल्ड स्टोर बालाजु, सामुदायिक भवन, बालाजुमा फूल बिक्रीको प्रबन्ध मिलाएको छ । स्वयम्भूस्थित धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलङ्की क्षेत्रमा भाटभटेनी, कलङ्की ट्रेड सेन्टर, एसएनएस, एनबिटिसीबाट फूल खरिद गर्न पाइनेछ । त्यसैगरी, नेपा ब्याङ्क्वेट खुशिँवु, बिग मार्ट, कालधारा, पकनाजोल, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौँ मल, सिभिल मल, सिटिसी मल, रञ्जना मल, बिग मार्ट कम्प्लेक्स, एटी कम्प्लेक्स, अनामनगरस्थित भाटभटेनी, आइटी प्लाजा, कमलादी, सङ्कटा चोक, टेबहाल, के। एल। टावर, चाबहिल, वी एन्ड एसएम, बौद्धमा उपभोक्ताले फूल खरिद गर्नसक्नेछन् । त्यस्तै, शङ्खमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, एनबी सेन्टर, बत्तीसपुतलीस्थित फोनिक्स टावर, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान, कोटेश्वरको भाटभटेनी, बिबिएसएम, एसी कम्प्लेक्स, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, शङ्खमूल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित बिग मार्ट, महाराजगञ्जको भाटभटेनी, सेल्स बेरी, सामाखुशीस्थित बिग माट, कोइराला मार्ट, कमलपोखरीको सिटी सेन्टर, बालाजुको ल्होत्से मल र सासा ब्याक्वेट सोह्रखुट्टेमा फूल बिक्री स्थल तोकिएको महानगरले जनाएको छ । स्वदेशी फूल व्यापारीले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नेछन् । यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।
थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
बागमती । स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए ।