पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी
बैतडी । वर्षाका कारण अवरुद्ध भएकोे सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् । पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरु ताला लगाउन बाध्य भएको उनले बताए । यसैबीच, वडाअध्यक्ष हिक्मतबहादुर बिष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।
सत्याग्रहमा बसेका नगरप्रमुख भट्टराई भन्छन् : बाँदर, नील गाई र बँदेलले मतदान गर्ने स्थिति नआओस्
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीका न्युनिकरण गर्न माग गरेका छन् । आइतबारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो बताएका हुन् । सोमबार कुराकानीका क्रममा उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन नसक्ने स्थिति रहेको बताए । गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिने उनको भनाइ छ । यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरण, पर्यावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरु बनाउन सकिने बताए । नगरपालिकाले बाँसको प्रवद्र्धनमा जोड दिइरहेको पनि बताए । बाँदरको समस्याले नागरिकहरु बसाईं सरिरहेको र अबको पाँच वर्षपछि कुनैपनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नील गाईले मतदान गर्नुपर्ने अवस्था भइरहेको बताए । प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्ने माग गरे । ‘स्थानीय श्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानून बनाउन सक्दैन । ऐन बनाउन सक्दैन । असरल्ल गाउँ घरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्युनिकरण गर्न सकिन्छ । त्यसैले स्थानीय श्रोत र सामग्रीको प्रयोग गर्ने प्रयास गरिरहेका छौँ । तर कानून वाधक भएको कारणले सकिएको छैन,’ उनले भने । उनले भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताए ।
खोटाङका मेयरले काठमाडौंमा सुरु गरे सत्यागह
काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । मेयर भट्टराईले बाँसलगायत स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने नीतिको माग राखेर सत्याग्रह सुरु गरेका हुन् । उनले साथमा विभिन्न प्लेकार्ड राखेका छन् । 'प्रकृतिको विनाश हैन, संरक्षण गरौं,’ 'आफ्नो हैन प्राणी जगतकाे चिन्ता गरौं', ‘पैसा छैन नीति देऊ', 'आत्मनिर्भर समाज बनाऔं,’ ‘जलवायु परिवर्तनको असर, खोलाखोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड राखिएका छन् । उनको अभियानमा नगरपालिकाका कर्मचारीहरूको समेत साथ रहेको छ ।