विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
दमौली (तनहुँ) । म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना आवास कार्यक्रमअन्तर्गत अधिकतम १२ वटा घर निर्माण गर्ने निर्णय अनुसार गाउँपालिकाका वडा नम्बर १ देखि वडा ७ मा रहेका लक्षित गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि (२०८० को दफा (३) अनुरूप मापदण्ड तथा सूचीभित्र पर्ने स्थानीय नागरिकलाई घर बनाएर हस्तान्तरण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । निवेदनसँग जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिस संलग्न गर्नुपर्ने अधिकारीले बताए । नयाँ आवास पाउने नागरिकको मापदण्डभित्र सामान्य प्रकृतिका श्रम (दैनिक जीविकोपार्जन गर्ने तथा कृषिमा आधारित) बाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो आयस्रोत नभएको वा अति गरिब तथा न्यून वर्गमा पर्नुपर्नेछ । त्यस्तै विगत आव २०८१/८२ मा निवेदन दर्ता गरी छनोटमा नपरेका व्यक्तिले पुनः निवेदन दिनुपर्ने अधिकारीको भनाइ छ । म्याग्दे गाउँपालिकाले गत आव २०८१/८२ मा ४८ जना विपन्न जनतालाई घर हस्तान्तरण गरेको थियो । वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक रूपमा विपन्न वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो । म्याग्देका सात वटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिएको थियो । घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै आवास कार्यक्रम सञ्चालन गरिएको अधिकारीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । घर पाएका लाभग्राहीले दश वर्षसम्म ती घर बेचबिखन, धितो राख्न वा भाडामा दिन नपाउने व्यवस्था गरिएको छ । आफू निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० वटा घर बनाउँछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ वटा घर बनेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपालको संविधानमा आवासको हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएको हुँदा नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको गाउँपालिकाले उक्त आवासको हक कार्यान्वयन गरेको बताए । रासस
भरतपुर महानगरले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पारिन् । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उनको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताए । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पुर्याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उनले भनिन् । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।
सेवाग्राही खोज्दै जनप्रतिनिधि र कर्मचारी सहरमा
काठमाडौं । सेवाग्राही खोज्दै म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू सहर झरेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । साउन १८ र १९ गते काठमाडौंमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ । पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए । ‘हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ,’ उनले भने, ‘गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’ गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरु सहरमा पुगेर सेवा दिएको बताए । अध्यक्ष र उपाध्यक्ष पुनद्वयका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरूले शिविरमा सेवा दिएका छन् । गत आर्थिक वर्षमा धवलागिरिका २ हजार ९३८ जनालाई १० करोड ५८ लाख ४ हजार २८८ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहर बजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।