काठमाडौं महानगरमा विज्ञान विषयमा छात्रवृत्ति आवेदन दिने धेरै

काठमाडौं । काठमाडौं महानगरपालिकामा शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न कूल १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् । महानगर शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन देशभरका ७७ वटै जिल्लाबाट परेका छन् । आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा सबैभन्दा बढी १२ हजार ३३७, व्यवस्थापन विषयमा चार हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन् । यो तथ्याङ्कले विज्ञान विषयप्रति विद्यार्थीको उच्च आकर्षण देखाउँछ । जुन कूल आवेदनको करिब ७१ प्रतिशत हो । शिक्षा अधिकृत पौडेलले हाल प्राप्त आवेदनको रुजु कार्य भइरहेको र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न गरिने बताइन् । आवश्यक प्रक्रिया पूरा भएपछि साउन १ गतेदेखि विद्यार्थीले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने उनले जानकारी दिइन् । साउन ३ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुनेछ । कक्षा १० को पाठ्यक्रममा आधारित हरेर हुने परीक्षामा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिने गरी निर्धारण गरिएको छ । सबै प्रश्नहरू बहु वैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अङ्क (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ । परीक्षापछि योग्यता सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । त्यस आधारमा विद्यार्थीले शिक्षण संस्थामा अध्ययन गर्न पाउनेछन् ।

महानगर यातायातको विद्युतीय बस सञ्चालनमा

काठमाडौं । महानगर यातायात प्रालिले बुधबारदेखि  विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा  नयाँ बस सेवाको शुभारम्भ गर्दै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताए ।  उनले भने, 'सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो ।' कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली  पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताए ।  कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।  सो कम्पनीले चन्द्रागिरी, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवर्द्धन र सहरी यातायातको दिगो विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।  

चन्द्रागिरीको बजेट २ अर्ब ९३ करोड पारित

काठमाडौं । चन्द्रागिरी नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।  नगरसभाको १६ औँ अधिवेशनले चालुखर्चतर्फ एक अर्ब २२ करोड ७८ लाख रुपैयाँ र पुँजीगत खर्च एक अर्ब ७० करोड ६८ लाख रुपैयाँ रहेको छ । सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।  नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे ।   उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे ।