काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गरिएको जनाएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित डंगोलको शनिबार नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । साथै, उनले विसं २०६२–६३ को जनआन्दोलनमा काठमाडौं क्षेत्रको नेतृत्वसमेत गरेका थिए ।

पोखरामा ३ खानेपानी आयोजना एकसाथ निर्माण हुँदै, लागत १ अर्ब २९ करोड रुपैयाँ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन् । पोखरा-११ मा जलवायु अनुकूलित वृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा-२१ र ३३ लाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत वृहत् भरतपोखरी-निर्मलपोखरी-कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो । आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र तीनवटै खानेपानी आयोजनाका अध्यक्षले बिहीबार त्रिपक्षीय समझदारी गरेका थिए । लागत साझेदारीमा बन्ने ती आयोजनामार्फत काहुँडाँडा, कृष्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रमा खानेपानीको सहज सेवा पुग्ने छ । बृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार रुपैयाँ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको जनाइएको छ ।  काँहुधरहरा खानेपानी आयोजनाका लागि ४९ करोड १७ लाख रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजार रुपैयाँमध्ये १९ करोड ७६ लाख ४१ हजार रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आवमा पोखरा महानगरपालिकाले कुल लागतको १० प्रतिशत रकम बेहोर्ने छ । तीनवटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खर्च गर्ने जनाइएको छ । वृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने आयोजना प्रमुख क्षेत्रीले बताए। उक्त आयोजनाबाट करिब २४ सय घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले जानकारी दिए ।  उक्त आयोजनामा २ सय, १ सय, ७५, ५० र २० घन मिटरका ११ पानी ट्याङ्की निर्माण हुनेछन् । यस्तै काँहुधरहरा खानेपानी आयोजनामा काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइप लाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने छ । करिब १ हजार ५०० घरपरिवार लाभान्वित हुने यो आयोजनाअन्तर्गत तीन सय घनमिटरको १/१ सय घनमिटरका २ वटा ट्याङ्की निर्माण गरिने छ । मट्टीखान खानेपानी आयोजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । यस आयोजनामा ३५ किमी पानीको पाइप लाइन विस्तार हुने छ । विभिन्न ठाउँमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीमार्फत आयोजनाले १ हजार २०० घरपरिवारलाई पानी वितरण गर्ने छ । चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्नेगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत फागुनमा बोलपत्रसमेत आह्वान गरिसकेको छ । तीनवटै आयोजना सम्पन्न भएपछि पाँच हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ‘एक घर, एक धारा’ लक्ष्यअनुसार यी आयोजना निर्माण हुन लागेका हुन् ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि महानगर लागिपरेको बताए । महानगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजना सञ्चालन भइरहेको उहाँले भनाइ छ ।  ‘पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिरहेका बेला यी आयोजना सञ्चालन गर्ने चरणमा हामी आइपुगेका छौँ,’ उनले भने, ‘ठूलो लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनुपर्छ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धतासहित अग्रसरता लिएका छौँ ।’ ‘जी टु जी’ अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताबापतको रकम महानगरपालिकाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई उपलब्ध गराउने महानगर प्रमुख आचार्यले बताए । 

सम्पदालाई गौरवको विषय बनाऔँ, राजनीतिबाट टाढा राखौँ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदा संरक्षणमा राजनीति नगर्न आग्रह गरेकी छन् । शुक्रबार काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले नेपाली सम्पदामा विदेशी राजनीतिक प्रभावभन्दा नेपाली स्वामित्व र सहभागिता हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, 'सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन, हाम्रो सहभागीता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण बन्नुपर्छ ।' उपप्रमुख डंगोलले सम्पदा पुनःनिर्माणका लागि महानगर वा सरकार जे–जसको लगानी भए पनि कार्यान्वयनमा नेपालीकै श्रम, सीप र संकल्प हुनुपर्ने बताइन् । उनले पुनःनिर्माणमा सस्तो टेन्डर प्रवृत्तिका कारण गुणस्तरीय सम्पदा संरक्षित राख्न कठिन भइरहेको पनि उल्लेख गरिन् । 'हाम्रो सम्पदा संरक्षणको प्रयास सस्तो ठेक्काको कारण विफल नहोस्,' उनले भनिन् । महानगरले सम्पदामा नेपाली पहिचान झल्किने र दीगो संरचना विकासमा जोड दिइरहेको उपप्रमुख डंगोलले जानकारी दिइन् ।