पाँच महिनामा काठमाडौं वडा १० को आम्दानी १० करोड ५७ लाख, घरबहाल करमात्रै ६ करोड बढी
काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं १० ले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरको छ । वडासचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ राजश्व संकलन भएको छ । दोस्रोमा सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६२६ रुपैयाँ र तेस्रोमा व्यवसाय रजिष्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९६० रुपैयाँ संकलन भएको छ । चालु आर्थिक वर्षका लागि वडाका ८२ वटा कार्यक्रम स्वीकृत छन् । जसअन्तर्गत सडक कालोपत्रे गर्ने, ब्लक छाप्ने, मर्मत गर्ने, मंगाल सफा गर्ने, ढकन खरिद गर्ने, सोलार राख्ने, ओपन ट्रस राख्ने, सिसिटिभी क्यामरा जडान तथा मर्मत गर्ने, पर्खालमा रङ्गरोगन गर्ने, मन्दिर, ढुङ्गेधाराजस्ता सम्पदा क्षेत्रको संरक्षण गर्ने, नदी सफाइ, प्रवेश द्वार निर्माण, बत्ती जडान गर्ने, सूचना प्रविधिका कार्यक्रमको परामर्श सेवा लगायत कार्यक्रम छन् । वडा अध्यक्ष राजकुमार केसीले चालु आवमा १५ करोड रुपैयाँ खर्च गर्न सक्ने बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा वडाले करिब १५ करोड रुपैयाँ खर्च गर्न सक्छ ।’ ‘पूँजीगत खर्चमा हामी लक्ष्यमा पुग्छौं । त्यसका लागि अहिले थालिएका काम सकिए मात्र पनि पुग्छ, ’ वडा अध्यक्ष केसीले थपे । वडाले अहिलेसम्ममा, जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सीपमूलक तालिम, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम, सरसफाइ, खेलकुदका सामग्री खरिद र हस्तान्तरण कार्यक्रम, नृत्य र संगीत प्रशिक्षण, स्वास्थ्य र शिक्षा सचेतना कार्यक्रम, लागुऔषध नियन्त्रण तालिम, महामारी रोकथाम र नियन्त्रण कार्यक्रम, सामाजिक विकास सचेतनामूलक कार्यक्रम, युवा उद्यमशीलजस्ता कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं महानगरमा ‘महिला सञ्जाल सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणका लागि ‘महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९’ कार्यान्वयनमा ल्याएको छ । हिंसा, शोषण, दमन भेदभाव तथा अन्य कारणले अन्यायमा परेका महानगरमा बस्ने महिलाहरुमा छिटो न्यायको पहुँच पुर्याउन महिला सञ्जाल गठन गरिएको महानगरले जनाएको छ । हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारवाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा नै ओसीएमसी हो । काठमाडौंका ५ वटा अस्पतालमा यस्ता केन्द्र छन् । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित भएका तथा घटनाबाट प्रभावित भएका महिला, बालबालिका र पुरुषहरू आउने गरेका छन् । उनीहरूका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ । छलफलका क्रममा सञ्जालका संयोजक तथा सदस्यहरूले वडागत अवस्थाका विषयमा जानकारी गराएका थिए । वडामा सञ्चालन भएका मेलमिलाप केन्द्रहरूमा मेलमिलापकर्ताबाट मेलमिलाप गराउने महानगरले जनाएको छ । सञ्जालले गरेका काम कारवाहीको उपप्रमुखबाट अनुगमन र सुपरीवेक्षण हुने व्यवस्था छ ।
पूर्ण अपांगताका भएकालाई घरमै पुगेर सेवा
काठमाडौं । ललितपुर महानगरपालिका अपांगतामैत्री बन्दै गएको छ । महानगरले अपांगता क्षेत्रमा विगतका वर्षदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भर्खर मात्रै महानगरले अपांगता परिचयपत्र प्राप्त गरेका पूर्ण अशक्त भएका व्यक्तिका लागि घरमै गएर तालिमप्राप्त सहयोगीमार्फत संरक्षकको प्रत्यक्ष निगरानीमा सहयोगीमार्फत सेवा दिने कार्यक्रमको सुरुवात गरेको छ । पहिलो चरणमा महानगरले एउटा वडामा दुईजना पूर्ण रूपमा अशक्त भएका नागरिकलाई सेवा दिने भएको छ । महागनरमा २९ वडा रहेका छन् । हाललाई ६० जनाले यो सुविधा प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रमको सहजीकरणको लागि महानगरले स्वावलम्बन जीवन पद्धति केन्द्रसँग सम्झौता गरेको छ । यस कार्यक्रमको लागि महानगरले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईं नगरभित्र रहेका पूर्ण अशक्तता त्यसमा पनि परिवारले समय दिन नभ्याउनेहरूलाई थोरै भए पनि सहज होस् भनेर यो कार्यक्रम सञ्चालनमा ल्याएको बताउँछन् । उनका अनुसार पहिलो चरणमा ६० जनालाई सेवा दिएपछि त्यसको पृष्ठपोषण कसरी आउँछ, त्यसको आधारमा महानगरले संख्या बढाउँदै लैजाने तयारी गरेको छ । सूचना अधिकारी गुरागाईं भन्छन्, ‘ललितपुर महानगरले अपांंगताका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकाे छ । जसमध्ये यो नयाँ कार्यक्रम हो । पूर्ण अशक्त भएकाहरूलाई केही सहयोग होस् भनेर यो कार्यक्रम सञ्चालन गर्न लागेका हौं ।’ महानगरका महिला विकास शाखाका प्रमुख शोभादेवी खरेल अपांगता भएका व्यक्तिहरुको लागि यो सेवा अत्यान्तै आवश्यकता रहेको बताउँछिन् । यसले अशक्त व्यक्तिहरूको मानवअधिकारको प्रत्याभूतिसमेत हुने बताइन् । उनले भनिन्, अपांगता भएका व्यक्तिलाई समाजले मात्रै नभएर घरपरिवारबाट पनि हेला, वेवास्ता गरिरहेका हुन्छन् । व्यक्तिगत सरसफाइमा ध्यान नदिने, उनीहरूको मनोभाव नबुझिदिने हुन्छ । यसरी नयाँ मान्छे गएर थोरै समय भएपनि सेवा दिँदा उनीहरू खुसी हुनुका साथै सेवा पनि पाउनेछन्, त्यसले यस्ता कार्यक्रमको धेरै नै प्रभावकारिता छ ।’ के-के सेवा पाउँछन् ? अपांगता भएका व्यक्तिहरूको लागि काम गर्दै आइरहेका संस्था स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ महानगरसँगको लामो समयको आग्रह र छलफलपछि यो कार्यक्रम ल्याउन सफल भएको बताउँछन् । अध्यक्ष श्रेष्ठका अनुसार आगामी माघ महिनाबाट यो कार्यक्रम नियमति रूपमा सञ्चालन हुनेछ । तालिमप्राप्त सहयोगीले घरघरमै गएर अपांगता भएकाहरूलाई सेवा दिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसका लागि १२ जना कर्मचारी नियुक्त गर्ने उनको भनाइ छ । छनोट भएका १२ जना कर्मचारीलाई तीन दिनको आधारभूत तालिम दिएपछि केन्द्रले व्यक्तिगत सेवामा खटाउने उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार इच्छुक महिला तथा पुरुषले केन्द्रमा सम्पर्क गर्न सक्छन् । यसका लागि बेरोजगार युवायुवती प्राथामिकतामा रहेका छन् । ६० जना पूर्ण अशक्तमध्येमा पनि केन्द्रको प्राथामिकतामा आर्थिक रूपमा कमजोर भएका वर्ग पर्नेछन् । अध्यक्ष श्रेष्ठले भने, ‘अहिले कस्ता व्यक्तिहरूलाई सेवा दिने भन्ने विषयमा छलफल भइरहेको छ । महानगरका वडा अध्यक्षहरूसँग पनि हाम्रो यस विषयमा छलफल हुन्छ । आवश्यक पर्नेलाई मात्रै सेवा दिने हाम्रो मान्यता हो । सम्पन्न वर्ग छ, घरमै सेवा गर्ने मान्छे राखेको छ भने उहाँहरूलाई सेवा दिन जानु परेन । जसलाई साँच्चै सेवकको आवश्यकता छ, आर्थिक अवस्था कमजोर छ, त्यस्ता व्यक्तिलाई छनोट गरेर सेवा दिन्छौं । केन्द्रका अनुसार पहिलो चरणमा यो कार्यक्रम ६ महिनासम्मको लागि सञ्चालन हुने छ । केन्द्रका सचिव कृष्ण गौतमका अनुसार ६० जनाको लागि १२ जना पर्याप्त कर्मचारी नहुने भएकाले पालो सिस्टमअनुसार सेवामा पठाइने बताए । उनका अनुसार एक जना अपांगता भएका व्यक्तिले सातामा एक दिन र ६ महिनामा ४८ घण्टा यो सुविधा पाउनेछन् । उनले भने, ‘हामीले १२ जना कर्मचारीलाई रोटेसनअनुसार सेवाको लागि पठाउँछौं, आवश्यकताअनुसार कुनै सेवकलाई २ घण्टा, कुनैलाई चार घण्टा या त्योभन्दा पनि बढी समय सेवा दिन्छौं । यसरी एक जनाले हप्तामा एक दिन सेवा पाउनुहुनेछ भने ६ महिनामा ४८ घण्टा पाउनुहुनेछ ।’ केन्द्रका सचिव गौतमका अनुसार अपांगता भएकाहरूलाई सेवकले नुहाइदिने, तेल लगाइदिने, मालिस गर्दिने, नङ काटिदिने जस्ता सेवाहरू दिनेछन् । यसबाहेक आवश्यकताअनुसार १/२ घण्टाको लागि बाहिर घुम्न लैजाने, अफिस जान्छु भन्यो भने अफिस पुर्याउने या ल्याइदिने जस्ता सेवा पनि दिनेछ । स्वावलम्बन जीवन पद्धति केन्द्र, ललितपुर । चुनौतीपूर्ण काम अध्यक्ष श्रेष्ठ घरमै गएर त्यसमा पनि अशक्तता भएका व्यक्तिलाई सेवा दिनु भनेको अत्यन्त चुनौतीपूर्ण काम भएको सुनाउँछन् । उनी भन्छन्, ‘धेरैले व्यक्तिगत सहयोग सेवाबारे बुझ्नुभएको छैन । यसबारे बुझाउनकै लागि चुनौती छ ।’ यो कार्यक्रमको लागि बजेट सीमित हुँदा झन् चुनौती भएको उनले बताए । ‘हामीले घण्टाको हिसाबले सेवा दिनुपर्छ, नेपालमा यस्तो व्यवस्था लागू गर्न गाहो छ । तर हामी चुनौतीलाई सहज रूपमा लिएर प्रभावकारी तरिकाले कसरी चलाउने भन्नेमा केन्द्रित छौं,’ उनले सुनाए । नेपालमा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिरहँदा आलोचित हुनुपर्ने हो कि भन्ने अर्को चुनौती पनि थपिएको उनले बताए । त्यस्तै, अपांगता भएकालाई सेवा दिनुपर्ने काम अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण भएकाले यसको ठूलो जिम्मेवारी संस्थामा काँधमा आइपर्ने पनि उनको भनाइ छ । नेपालमा यस्ता कार्यक्रम अत्यन्तै आवश्यक भएको अध्यक्ष श्रेष्ठ औंल्याउँछन् । यसले एकातिर बेरोजगारलाई रोजगार सिर्जना गरेको छ भने अर्कोतिर अशक्त व्यक्तिले सेवा पाएका छन् । यस्ता कार्यक्रममा सरकारले पनि ध्यान दिनुपर्ने उनले बताए । अपांगताका क्षेत्रमा महानगरले गरेका कार्यक्रम नेपालमा संघीयता कार्यान्वयनमा आएदेखि नै महानगरपालिकाले अपांगताका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नगरपालिकाले विसं २०७८ सालदेखि हालसम्म ९२८ जनालाई अपांगता परिचयपत्र वितरण गरिसकेको छ । महानगरले महानगरसम्म आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको घरमै गई परिचय पत्र प्रदान गर्दै आइरहेको छ । महानगरले नगरभित्र अपांगतामैत्री सवारीसाधनको व्यवस्था गरेको छ । उक्त सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लुबुक नवीकरण आदिका खर्च महानगरले नै बेहोर्दै आएको छ । यसैगरी, महानगरका शाखा तथा महाशाखाहरूमा सेवा लिनको लागि लिफ्टको व्यवस्था गरिएको छ । महानगरले सफ्टवेयर निर्माण र अपांगता भएका व्यक्तिहरूको कागजात र विवरण अद्यावधिक गर्दै आएको छ । महानगरभित्र अपांगतामैत्री सडकपेटी र शाैचालय सञ्चालनमा आएका छन् । हालसम्म तीन स्थानमा अपांगमैत्री शौचालय सञ्चालनमा ल्याइसकेको छ भने थप १२ स्थानमा अपांगमैत्री शौचालय निर्माण हुँदै गरेको महानगरले जनाएको छ । त्यस्तै, कुशुन्तीवडा न १३ को रिङरोडमा लिफ्टसहितको आकाशे पुलको निर्माण हुँदैछ । यी कार्यक्रमबाहेक महानगरले बेलाबेलामा अपांगतामैत्री व्यवहार, लैंगिक हिंसाविरुद्धको सचेतना तथा हेरचाहसम्बन्धी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, ललितपुर महानगरबाट र अन्य संघसंस्थाहरूको समन्वयमा आवश्यकताअनुसार ह्विलचियर वितरण, सीबीआर कार्यक्रम सञ्चालन, तथ्यांक संकलन, आर्थिक अवस्था कमजोर भएका अपांगहरूलाई सरसफाइ तथा औषधी वितरण, समूह गठन तथा सिडमनी वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । महानगरले फाउण्ड परियोजनाको सहकार्यमा अपांगता भएका १५ जना व्यक्तिहरूलाई सीप तथा रोजगारीको व्यवस्था गरेको थियो ।