सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु, २० करोडमा निर्माण

भक्तपुर । सूर्यविनायक नगरपालिकाले मंगलबारदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । यसअघि नगरपालिकाले टङ्कप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो । मंगलबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भने, ‘नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ । भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरु सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ ।’ | नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए । नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलो पटक नगर प्रमुखको पदबहाली गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताए । नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन रु २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । मासिक रु एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले सङ्घीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ । नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको बताए ।

काठमाडौं महानगरले करिब ४७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ । सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका छात्राहरूको संख्या गणना गरेको छ । विभागको विरणमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन् । यी विद्यालयहरूमा ४२ हजार ५७ जना छात्रा अध्ययनरत छन् । विद्यालयबाहिर ४ हजार ९२८ जना किशोरीहरू रहेको विवरणमा उल्लेख छ । सोमबार बसेको खोप समन्वय समितिको बैठकमा, महिला स्वास्थ्य र खोपका विषयमा कुरा गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, दीर्घ रोग रोकथामका लागि महानगरपालिकाले सञ्चालन गरेका सहभागितामूलक कार्यक्रममा आमनागरिकबाट सहयोग प्राप्त हुने अपेक्षा गरिन् । ‘सहरी जीवन निष्क्रिय छ । यसैकारण नसर्ने खालका रोगको जोखिम पनि बढेको छ । यसलाई घटाउन समयमै काम गर्नुपर्छ । महानगरपालिकाले नेतृत्व गर्छ । यस अभियानमा एकैसाथ काम गरौं,’ उनले भनिन् । जनस्वास्थ्य कार्यालय, काठमाडौंका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार प्रति १ लाख महिलामध्ये ४ भन्दा कम संख्यामा क्यान्सर सीमित गराउने लक्ष्य अनुरूप खोप सेवा सञ्चालन गरिएको हो । ‘विश्व स्वास्थ्य संगठनले शिफारिस गरेको र नेपालका औषधि व्यवस्था विभागमा दर्ता भएको यो खोप सुरक्षित छ,’ विष्टले जानकारी दिए । पाठेघरको मुखको क्यान्सरबाट बच्न ३ चरणका उपाय छन् । १० वर्षदेखि १४ वर्षसम्म उमेरका किशोरीहरूले एचपीभी खोप लगाउनु पहिलो उपाय हो । दोस्रो उपायमा ३० वर्षभन्दा माथिको उमेरका हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउनु पर्छ । तेस्रोमा पाठेघरको मुखको क्यान्सर रोग पहिचान भएका महिलाले उपचार गराउनु पर्छ । बाल कल्याण महाशाखाका निर्देशक डा. विवेकलाल कर्ण भन्छन्, ‘नेपाल सरकारले यी ३ वटै चरणमा ९० प्रतिशत कभरेज गर्ने लक्ष्य राखेको छ । यसका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण छ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीका अनुसार महानगरपालिकामा माघ २२ गते र माघ २५ गते गरेर दुई चरणमा अभियान सुरु हुनेछ । पहिलो चरणमा वडा नं. १, २, ५, ८, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७, २८ र ३० वडामा खोप सुरु हुनेछ । वडा नं. ३, ४, ६, ७, ९, १०, १३, १४, १५, १६, २६, २९, ३१ र ३२ मा माघ २५ गतेदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ । वडा क्लिनिक र स्वास्थ्य प्रवर्धन केन्द्रले विद्यालयहरुसँग समन्वय गरेर खोप केन्द्र निर्धारण गर्नेछन् । जनस्वास्थ्य अधिकृत तथा खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुका अनुसार विद्यालयमा खोप लिन छुटेका र विद्यालयभन्दा बाहिरका किशोरीहरूका लागि कार्यक्रमको अन्तिम दिन स्वास्थ्य प्रवर्धन केन्द्रबाट खोप दिइनेछ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन ४ जना महिलाहरूको मृत्यु भइरहेको छ । महिलाहरुलाई क्यान्सर मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो । यो क्यान्सर ह्यूमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुन्छ । यो भाइरसलाई एचपीभी भाइरस भनिन्छ । एचपीभी भाइरसबाट संक्रमित व्यक्तिसँग यौन सम्पर्क हुँदा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । यसबाट पटक पटक संक्रमण भएर २० वर्षसम्म संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ ।

उपत्यकामा पहिलोपटक चन्द्रागिरिले सुरु गर्याे नागरिकताको अनलाइन सिफारिस सेवा

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुवात गरेको छ । काठमाडौं उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे । गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुवात गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ । नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको र विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने बताए । सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंका मुक्तिराम रिजालले काठमाडौं उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेको र यो सेवा काठमाडौंका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए । गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ । चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए ।