काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार (आज) आयोजित नगरसभाको २०औं अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरे ।
प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ ।
त्यसैगरी चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ ।
सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ ।
प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसैगरी घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयँ, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ ।
आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २०औं अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
आज प्रस्तुत वीरगञ्ज महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिइएको छ ।