उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजका ऋण दिने सम्झौतामा उल्लेख छ । नगरपालिकाभित्र खोलिएका लघु उद्योगको प्रवद्र्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको नगरप्रमुख विमला राईले बताइन् । ‘उद्यम गर्न चाहने नागरिकका लागि लगानी अभाव नहोस् भनेर ब्याज अनुदान कार्यक्रम ल्याइएका छ । यसका लागि बैंकसँग सम्झौतासमेत गरिसकिएको छ’, उनले भनिन्, ‘उद्यमीले बैंकबाट लिएको रु पाँच लाखसम्मको ऋणको ब्याज तीन वर्षसम्म नगरपालिकाले तिरिदिन्छ । यसले लगानी अभावमा उद्यमी बन्न नपाएका नागरिकलाई सहज हुने अपेक्षा गरेछौँ ।’ उद्यम गर्न चाहने स्थानीय नागरिकले बिनाब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ । वडा–वडामा सङ्कलन भएको निवेदनलाई समेटेर नगरपालिकाले बैंकलाई सिफारिस गरेपछि उद्यम गर्न चाहने नागरिकले ऋण पाउने हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । लगानी अभावमा उद्यम गर्न नसकिरहेका स्थानीय नागरिक नगरपालिकाकै सिफारिसको आधारमा बिनाब्याज ऋण पाउने भएपछि उत्साहित भएका छन् । नगरपालिकाले गरेको सिफारिसअनुसार निवेदकको धितो मूल्याङ्कन गरेर बैंकले ऋण प्रदान गर्ने प्रभु बैंक हलेसी शाखाका प्रमुख तीर्थराज विष्टले बताए।यसैबीच, एघार वडा रहेको उक्त नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरु गरेको छ ।  रासस

जनताको जीउको सुरक्षामा अब्बल नगर, ‘मेयर जनता स्वास्थ्य कार्यक्रम’ को प्रभाव बढ्दै

काठमाडौं । ‘म स्वस्थ छु, मलाई केही भएको छैन, किन स्वास्थ्य जाँच गर्ने ?’ भन्ने धेरै जनाको मानसिकता छ । अझ कति जना त चिकित्सककहाँ गएर जाँच गराउँदा अनावश्यक रोग देखाइदिन्छ भनेर जानै नखोज्ने प्रवृत्तिका हुन्छन् । हाम्रो आफ्नै ‘ओभर कन्फिडेन्ट’ को कारणले पछि गएर ठूलो रोगको शिकार हुनुपर्छ भन्ने हेक्कासमेत हामीले राखेका हुँदैनौं । पछिल्लो समय अस्पताल तथा स्वास्थ्य संस्थामा गएर हेर्ने हो भने मृगौला फेल, मुटुरोग, क्यान्सरजस्ता जटिल रोगका बिरामीको संख्या बढ्दो क्रममा छ । यी र यस्ता रोगको समयमै पहिचान हुन सके थोरै खर्चमा सही उपचार गर्न सकिन्छ । पछि ढिला भएर थाहा पाउँदा खर्चिलो हुनुका साथै बिरामीलाई बचाउन समेत गाह्रो पर्न जान्छ । यस्तै खालका समस्यालाई मध्यनजर गरी महालक्ष्मी नगरपालिकाले ‘मेयर जनता स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ । गत वर्षको नगरसभाबाट यो कार्यक्रम सञ्चालन गर्ने भएर पारित भएपनि कार्यविधि नबन्दा यो कार्यक्रम सुरु भएको थिएन । वैशाखमा कार्यविधि बनेपछि मात्रै यो कार्यक्रमको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअनुसार यो कार्यक्रम पुस १९ गते वडा नं ५ बाट शुभारम्भ भएको थियो । हाल ७ वटा वडामा यो कार्यक्रम सुरु भइसकेको छ । अब बाँकी ३ वडामा पनि छिट्टै सुरु हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी इन्द्रप्रसाद अधिकारीले बाहिरी रूपमा स्वस्थ र बलियो देखिने व्यक्तिलाई पनि शरीरभित्र केही न केही रोगले सताइरहन सक्ने भएको हुँदा नागरिकले समयमै स्वास्थ्य चेकजाँच गरुन् र स्वास्थ्यप्रति सचेत रहुन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरेको बताए । नसर्ने सुषुप्त रूपमा लुकेर रहेका रोगको पहिचान नभएका ३० वर्षभन्दा माथिका नागरिकलाई यो कार्यक्रमले लक्षित वर्गको रूपमा लिएको उनको भनाइ छ । लामो समयदेखि नियमति औषधी सेवन गरिरहने नागरिकले नियमति स्वास्थ्य जाँच गरेर आफ्नो स्वास्थसम्बन्धी जानकारी लिएपनि अन्य नागरिकले भने आफू स्वस्थ छु भन्ने आत्मविश्वासले वेवास्ता गर्ने गरेको देखिएको अधिकारी बताउँछन् । उनले भने, ‘जसले नियमित आफ्नो स्वास्थ्यको चेकजाँच परीक्षण गर्नुभएको छैन, जसले आफू स्वस्थ छु भन्नुहुन्छ, उहाँहरूको शरीरमा पनि रोग हुन सक्छ । त्यस्तो नागरिकले आफ्नो स्वास्थ्य समयमै परीक्षण गरेर स्वस्थ शरीर बाँच्ने र स्वस्थ शरीर बाँचेका नागरिकको स्वस्थ सहरका रूपमा महालक्ष्मीलाई रूपान्तरण गर्नुपर्छ भनेर यो कार्यक्रमको सुरुवात गरिएको हो ।’ स्वास्थ्य जाँच गर्न आइपुगेका नागरिकमा केही न केही औषधी खानुपर्ने, थप स्वास्थ्य परीक्षण गर्नुपर्ने, खानपान जीवनशैलीमा ध्यान दिनुपर्ने देखिएको अधिकारीले बताए । यो कार्यक्रमको प्रभावकारिता बढ्दै जानुका साथै स्वास्थ्य केन्द्रमा चेकजाँच गराउन आउने नागरिक बढ्दो क्रममा रहेको उनले बताए । ‘यो कार्यक्रम सुरु भएपछि थुप्रै नागरिक स्वास्थ्य संस्थामा लामबद्ध लागेर बस्नुभएको छ,’ अधिकारीले भने, ‘कतिपय नगरपालिकाले बनाएको स्वास्थ्य संस्था त कतिपय नेपाल सरकारले स्थापना गरिएका स्वास्थ्य केन्द्रमा जाँच गर्ने नागरिकको उपस्थिति उत्साहजनक छ । यसले हाम्रो स्वस्थ नागरिक र स्वस्थ नगरपालिका बनाउने लक्ष्य पूरा हुने देखिएको छ ।’ अति आवश्यक कार्यक्रम पाँच वर्षअघि बागमती प्रदेशले ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमको उद्देश्य पनि नसर्ने रोगको समयमै पहिचान, रोगथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण थियो । ३० वर्षभन्दा बढी उमेर समूहलाई लक्षित यो कार्यक्रमअन्तर्गत १६ किसिमका स्वास्थ्य परीक्षण हुने भनेर सञ्चालनमा ल्याएको थियो । यो कार्यक्रमले केही हदसम्म सकारात्मक सन्देश दिएपनि प्रभावकारी भने हुन सकेन । गत वर्ष भरतपुर महानगरपालिकाले ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गर्‍यो । यो कार्यक्रमको उद्देश्य पनि नसर्ने रोगको समयमै पहिचान गरी त्यसलाई न्यूनीकरण गर्ने नै हो । यस कार्यक्रममा जेष्ठ नागरिक, अपांगता, अशक्तता भएका नगरबासीलाई समेटेको छ । स्थानीय सरकार प्रदेश सरकार, पालिका स्तरमा यो कार्यक्रमको आवश्यकता धेरै देखिन्छ । आवश्यकताअनुसार स्थानीय तहमा यस्ता कार्यक्रम सुरु भएपनि त्यसले निरन्तरता भने पाउन सकेको देखिँदैन । ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रमले सबै तहमा समेट्न नसकेको पछिल्लो समय नगरबासीले पनि यस्ता कार्यक्रमको आवश्यकता महसुस गर्ने गरेको अधिकारी बताउँछन् । ७ वडामा सञ्चालन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवाली नगरपालिकामा यो कार्यक्रमको आवश्यकता महसुस गरेर नै सञ्चालनमा ल्याएको सुनाउँछन् । उनका अनुसार प्रत्येक वडामा महिनाको एक दिन नि:शुल्क रूपमा यो कार्यक्रम सञ्चालन हुन्छ । यो कार्यक्रम नगरपालिकाको वडा नं १, २, ३, ५, ८, ९ मा सुरु भइसकेको छ । अब बाँकी वडामा पनि छिट्टै सुरु हुने उनले बताए । यो स्वास्थ्य कार्यक्रमअन्तर्गत ३० वर्षभन्दा बढी उमेरसमूहका नागरिकले पिसाबबमा प्रोटिन, रगतमा ग्लुकोज, पिसाबमै सुगरको लेभल, ब्लड प्रेसरको लेभललगायत विभिन्न टेस्ट नि:शुल्क रूपमा गर्न सक्छन् । यी जाँचबाट समस्या देखिएमा चिकित्सकबाट थप उपचारको आवश्यक सल्लाह दिने काम हुने ज्ञवालीले बताए । कार्यक्रमको सुरुवाती चरण भएकाले धेरै नगरबासीले अहिले पनि यो कार्यक्रम थाहा नपाएको हुनसक्ने भएकाले यसलाई थप प्रचारप्रसार गर्ने तयारीमा नगरपालिका रहेको ज्ञवाली बताउँछन् । उनका अनुसार कार्यक्रम सुरु गर्दा नगर प्रमुखको अध्यक्ष्यतामा गठित स्वास्थ्य व्यवस्थापन समितिमार्फत सरोकारवालाहरूलाई कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । त्यसपश्चात नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई बोलाएर कार्यक्रम सञ्चालन गर्‍यो । त्यस्तै, कार्यक्रमलाई नगरबासीसामु पुर्‍याउन नगरपालिकाले महिला स्वास्थ्य सेविकालाई खटाएको छ । महिला स्वास्थ्य सेविकाले प्रत्येक नगरबासीको घरमा गएर यसबारे जानकारी दिने गरेको ज्ञवालीले बताए । त्यस्तै, वडाअध्यक्ष, जनप्रतिनिधिले पनि यस कार्यक्रमको प्रचारप्रसार गरेर सेवा लिन आउने वातावारण बनाइरहेको उनको भनाइ छ । ‘अहिले आफ्नै नेटवर्कबाट यो कार्यक्रमको प्रचार-प्रसार भइरहेको छ, महिला स्वास्थ्य सेवकसेविकाबाट घरघरमा सन्देश जाने गरेर स्वास्थ्य संस्थामा बोलाउने काम भइरहेको छ,’ उनले भने । पालिकास्तरमा यस्ता कार्यक्रम अतिआवश्यक औंल्याउँदै ज्ञवालीले यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैको साथको अपेक्षा गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुनाए । यो कार्यक्रमपछि नगरबासीले आफ्नै घरदैलोको स्वास्थ्य संस्थाबाट नि:शुल्क सेवा पाएसँगै उनीहरूबाट सकारात्मक प्रतिक्रियाहरू आउने गरेको उनले बताए । ज्ञवालीका अनुसार यस कार्यक्रमका लागि महानगरले ८ लाख रुपैयाँ बजेट छुट्याएको छ । तर यो बजेट पर्याप्त नभएको उनले बताए । ‘नगरपालिकाले छुट्याएको बजेटले केही रकम खरिद गर्‍याैं, केही मौजुता सामग्री प्रयोगमा ल्यायौं । कार्यक्रम सुरु भएदेखि नै यसको प्रभावकाारिता बढ्दै गएको हुँदा यो बजेट पर्याप्त नहुने हामीले महसुस गरेका छौं, यसलाई बढाउनुपर्ने देखिन्छ,’ उनले भने । नगरपालिकाद्वारा सञ्चालित अन्य स्वास्थ्य कार्यक्रम महालक्ष्मी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । पहिले घर-घरमै गएर यो सेवा दिने गरेको भएपनि पछिल्लो समय भने कुनै एक ठाउँ तोकेर बाआमालाई भेला गराएर स्वास्थ्य कार्यक्रम गर्ने गरेको छ । जेष्ठ नागरिकहरूको सुगरको लेभल, ग्लुकोज ब्लड प्रेसरलगायत जाँच हुन्छ । ज्ञवालीका अनुसार जेष्ठ नागरिकलाई नगरपालिकासँग उपलब्ध रहेका औषधीसमेत बाँड्दै आइएको छ । यो कार्यक्रम १० वटै वडामा सञ्चालन भइरहेको छ । नगरपालिकाले पूर्ण खोप सुनिश्चिता घोषणा कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरभित्रका कोही पनि बालबालिका खोप लगाउनबाट नछुटुने भनेर स्वास्थ्य स्वं सेविकालाई घरघरमै गएर खोजेर खोप लगाउने गरेको छ । त्यसका साथै सरकारले अभियानकै रूपमा सञ्चालनमा ल्याएको एचपीपी खोप कार्यक्रमलाई नगरपालिकाले साथ दिँदै १० देखि १४ वर्षका किशोरीहरुलाई एचपिपी खोप कार्यक्रमको अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । खोप कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले वडाअध्यक्षहरुको अध्यक्षमा गठित खेप समन्वय समिति स्वास्थ्य सेविकाहरु परिचालन गरिसकेको छ । स्वास्थ्य सेविकाबाटमार्फत कुन-कुन स्कुलमा को जाने भनेर स्वास्थ्यकर्मी परिचालन गरिसकको ज्ञवालीले बताए । नगरपालिकाका अनुसार यही माघ २२ गतेदेखि स्कुल स्कुलमा गएर खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्कुल नजानेलाई पनि स्वास्थ्य संस्थामा खोप लगाउने कार्यक्रम पनि पूरा भएर तयार अवस्थामा छ । नगरपालिकाले सञ्चालन गरिरहेको अर्को स्वास्थ्य कार्यक्रम हो- ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम । गर्भवती महिलालाई लक्षित गरेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।अल्ट्रासाउण्डमार्फत् बच्चाको अवस्था के छ भनेर हेर्न सकिन्छ । यो कार्यक्रमको लागि नगरपालिकाले स्थानीय नर्सलाई तालिम दिने गरेको छ । यो कार्यक्रमअन्तर्गत महिनाको एक पटक तालिमप्राप्त नर्स स्वास्थ्य संस्थामा गएर गर्भवती महिलालाई नि:शुल्क सेवा दिने हो । नगरपालिकाले सुत्केरी महिलालक्षित ‘उपमेयरसँग सुत्केरी भेटघाट’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि कार्यविधि पनि बनिसकेको ज्ञवालीले जानकारी दिए । सुत्केरी महिलालाई थोरै भए पनि प्रोत्साहन होस् भनेर यो कार्यक्रम सुरु गर्न लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिले नगरभित्र कति सुत्केरी महिला छन् त्यसको तथ्यांक स्वास्थ्य संस्थाबाट लिने काम भइरहेको छ । नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यायामशालासमेत सञ्चालनमा ल्याएको छ । हाल वडा ६ र ९ मा यो कार्यक्रम सञ्चालनमा छ ।

धनगढी उपमहानगरले गर्‍यो १७ करोड राजस्व सङ्कलन, सम्पत्ति कर सबैभन्दा धेरै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड १ लाख दुई हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा सम्पत्ति करबाट १ करोड ९२ लाख ६७ हजार रुपैयाँ, भूमिकर/मालपोतबाट १ करोड २३ लाख ६८ हजार, बहालकरबाट ३ करोड ५२ लाख ८३ हजार रुपैयाँ, अन्य राजस्वबाट ३ करोड ५२ लाख १२ हजार रुपैयाँ, व्यवसाय करबाट २ करोड ७९ लाख ७९ हजार रुपैयाँ र नक्सापास दस्तुरबाट १ करोड ६५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए । उनका अनुसार सिफारिस दस्तुरबाट ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट रु ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३८ लाख ६१ हजार, बेरुजुबापत रु १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार राजस्व सङ्कलन भएको हो । व्यक्तिगत घटना दर्ताबाट रु सात लाख सात हजार, परीक्षा शुल्कबाट सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट रु दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट रु दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट रु एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट रु दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उनले जानकारी दिए । राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व सङ्कलन भएको उनले जानकारी दिए । उपमहानगरले गत आवको छ महिनामा १६ करोड पाँच लाख ९४ हजार राजस्व सङ्कलन गरेको ओझाले जानकारी दिए । राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलन वृद्धि भएको उनको भनाइ थियो ।