काठमाडौं महानगरले २५ सय जनालाई दियो कपाल काट्नेदेखि ड्रोन उडाउने तालिम

काठमाडौं । काठमाडौं महानगरले आयोजना गरेको दोस्रो संस्करणको सीप मेला शनिबार सकिँदैछ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारा दिएर जेठ ७ गतेदेखि सुरु भएको ३० दिने सीप मेला शनिबार सकिन लागेको हो । मेलामा १० क्षेत्रका ३७ पेसामा तालिम प्रदान गरिएको छ । दैनिक छ ओटा कक्षा सञ्चालन गरेर १०० घण्टा तालिम दिइएको छ ।  आइसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियन, बौद्धिक कृत्रिमताका लागि एआई र यसको प्रयोग एआई एन्ड इट्स एप्लिकेसन गरी पाँच विधामा तालिम दिइएको सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झाले बताए ।    उनका अनुसार स्पेसल एभिलिटी सपोर्ट स्किल साउन सिन्ड्रोम, अटिज्म हाउस किपिङ पिडब्लुडी र केयर सर्भिस गरी दुईओटा विधाका तालिम इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार विधाका तालिम दिइएको छ ।  गार्मेन्टमा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुई विधा कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच विधामा तालिम दिइएको छ भने हस्पिटालिटीमा बारिस्टा, वेटर, फास्ट फुड र बेकरी गरी चार विधामा दिइएको छ भने अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल इभी मेन्टिनेन्स, हलुका सवारीसाधन उपकरण मर्मत लाइट भेहिकल मेसिन, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी तीन विधामा तालिम दिइएको छ ।  आर्ट एन्ड स्कप्चरमा थाङ्का, सेरामिक्स टेराकोटा गरी दुई विधामा तालिम गर्दै ज्योतिष र पुरोहितको पनि तालिम दिइएको छ । कृषिमा फूलको सजावटसम्बन्धी तालिमसहित सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने र स्टक मार्केट तालिम समेत महानगरले दिएको छ ।  महानगरले काठमाडौं महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखेको थियो ।  महानगरले २०८२ मा कम्तीमा २०८२ जनालाई तालिम प्रदान गर्ने लक्ष्ये लिएको थियो तर लक्ष्यभन्दा बढीलाई सीप तालिम दिइएको छ । जसमा महानगरले २ हजार ५ सय जनालाई तालिम दिइएको संयोजक झाको भनाइ छ । उनका अनुसार तालिममा सहभागिहरुले महानगरप्रति राम्रो प्रतिक्रिया दिने गरेका छन् ।  उनले भने, ‘महानगरको यो कदमप्रति सबै खुसी छन् । महानगरले राम्रो गरिरहेको छ भनेर प्रतिक्रिया दिने गरेका छन् । सीप मेलामा सिक्नेहरु धेरै उत्साहित छन् । उनीहरुले काठमाडौंमा रहेका विभिन्न उद्योगहरुमा काम गर्ने अवसरका रुपमा लिइरहेका छन् ।  यसवर्ष आइटी क्षेत्रमा बढी सहभागि छन् । गत वर्षको तुलनामा यसमा हामीले नयाँ १५ वटा कार्यक्रमहरु थप गरेका थियौं । जसमा डिजिटल, मल्टीमिडिया, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर टेक्निसियनलगायतका कार्यक्रम थप गरेका हौं । तालिम सकिएपछि सबैको मूल्याकंन गर्ने गरेका छौं ।’  यस्तै, सीप मेलामा पछिल्लो समय सबैको आर्कषण बढिरहेको तर त्यसमा सबैभन्दा बढी डिजिटल मार्केटिमा बढी रहेको उनको भनाइ छ । हस्पीटालिटी र व्युटीतिर समेत आर्कषण बढिरहेको बताए ।   उनले थपे, ‘हामीले यदि समृद्धिको बाटोमा लाग्ने हो भने लगानी मानव पुँजी गर्नुपर्छ । ह्युमन क्यापिटल नै सबैभन्दा ठुलो क्यापिटल हो । हामीले बोलेर भन्दा पनि गरेर केही सन्देश दिन खोजेको हो । यो महानगर प्रमुख जिको भिजन हो । सबैले आआफ्नो भिजनअनुसार सहकार्य गरेर अगाडि बढ्नुपर्छ । ’ यस्तै, सीप तालिममा सहभागिहरु सीप तालिम पाउँदा हर्षित देखिन्छन् । काठमाडौंकी कल्पना घर्ती मगर आफूले सीप मेलामा धेरै कुराहरु सिकेको बताउँछिन् । लाइट भकलबारे तालिम लिएको र आफ्नो सिकाईमा धेरे राहत पुगेको उनले बताइन् ।  उनले भनिन्, ‘म मेकाइनिकल इन्जिनियर पढिरहेकी छु । सीप मेलाले सिकाइमा थप सहयोग पुर्याएको छ । यसमा धेरै खुसी छु । महानगरले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु गरिराख्नुपर्छ । यसमा हामी सबैले दिनुपर्छ । हामी युवाहरुले यस्तै चाहेका छौं । यस्ता मेलाहरु काठमाडौंले मात्र नभएर देशभरका सबै स्थानीय तहले गर्नपर्छ । यो अपरचोनिटिका लागि महाजगरलाई धेरै धन्यवाद दिन चाहान्छु । ’ यस्तै सोपना पोखरेलले पनि सीप मेलाबाट धेरै कुराहरु सिक्ने मौका पाएको बताउँछिन् । उनले सीप सिकाईमा महानगरप्रति आभारी रहेको सुनाइन् ।  उनकाअनुसार यस्ता कार्यक्रमहरु प्रत्येक वर्ष दिइरहनुपर्छ ।  पोखरेलले भनिन, मेलामा प्रशिक्षण दिने प्रशिक्षकहरु पनि राम्रा थिए । घरमा सिक्नु र यता सिक्नुमा धेरै फरक छ । हामीले नेपाली इन्डियन डिसहरु बनायौं तर कतिपय कुराहरु प्याक्टिकल्ली सिक्दा खेरी काठमाडौंले मात्रै होइन् यस्ता कार्यक्रमहरु अन्य पालिकाहरुले तथा वडा लेभलमा दिँदा एकदमै बेटर हुन्छ । हामीले रमाइलो गरेर तालिम लियौं । हामी खुसी छौं । ’ यस्तै  सीप मेलाबाट मल्टीमिडियाको बारेमा धेरै कुराहरु सिकेको राजेन्द्र कुमारी अधिकारले बताए । उनले भने, ‘रमाइलो छ । सिक्ने क्रम जारी नै छ । जीवनै हाम्रो सिकाई हो । यो एक महिनाको समयमा ग्राफिक डिजाइनविजनेस कार्ड बनाउने भिडियो अडियो एडिलगायतका कुराहरु सिके । हामी सुरुमा के गरु भन्ने दुविधामा थियौं । महानगरलाई यो मेला ल्याएपछि हामीलाई धेरै फाइदा भएको छ ।’ यस्तै, ज्योतिष विधाका प्रशिक्षक विभय पौडेल ज्योतिशास्त्रतर्फ युवाहरुको आर्कषण बढिरहेको बताउँछन् । उनका अनुसार सीप मेलामा १० देखि १२ कक्षामा पढिरहेका युवाहरुको ज्योतिष विधामा सहभागि रहेका थिए । उनले भने, पछिल्लो समय ज्योतिष विधामा युवाको आर्कषण बढी छ । यो विधा साइन्स हो । यसमा सत्यता छ भनेर युवाहरुले बुझेका छन् ।  जुन यो महानगरको सीप मेला युवाहरुको सहभागिता, र त्यो चासो भोकले बुझायो । उनीहरुलाई सिकाउन पाउँदा म एमदमै खुसी छु । महानगरले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रहरु ल्याइरहोस् । ’  ज्योतिष शास्त्रलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्ने उनको भनाई छ । उनले नासा जस्तो देशले ज्योतिष शास्त्रमा धेरै लगानी गरिरहेको समेत बताए । उनकाअनुसार धर्म, संस्कृतिक, तिथि, मितिलगायतका कुरामा सत्यता छ । यसमा राज्यले पनि सहयोग गरिनुपर्नेमा उनले जोड दिए ।  ड्रोन प्रशिक्षक मनिस शर्मा आफूले ड्रोन सिकाउन पाउँदा निकै उत्साहित भएको बताउँछन् । उनले भने,‘ तालिम कसरी सिकाउने भन्ने कुरा म आफैमा भर पर्छ । मैले यो एक महिनाको अन्तरालमा ड्रोनबारे धेरै कुराहरु सिकाएको छु । ड्रोनमा मैले कसरी चलाउने, यसका नियमहरुदेखि विभिन्न चरणहरु सिकाएको छ । उनीहरुले फेनटम, एपीबिलगायत आफैले नयाँ बनाएको ड्रोन चलाउन, बनाउन र उडाउन पनि सक्नेछन् । उनीहरु अब स्किल पाइलट नै भइसकेका छन् । उनीहरुलाई फिल्डमै लगायो भने काम गर्न सक्नेछन् । विद्यार्थीहरु यो सिकाईमा निकै हर्षित देखिन्छ । ’ यसैगरी पछिल्लो समय युवाहरुले ड्रोनप्रति चासो राखेको जोन हब नेपालका प्रबन्ध निर्देशक प्रविन भट्टराई बताउँछन् । उनले भने, ‘महानगरले एकदमै महत्वपूर्ण काम गरिरहेको छ । सीप सिकेकाहरूले यसलाई सही सदुपयोग गरी देशमै केही गर्न सकिन्छ भनि गरेर देखाउन आवश्यक छ । यसरी नै देशलाई विकास गर्न सकिन्छ । नयाँ परिवर्तनको लागि टेक्नोलोजीलाई बढी प्राथमिकता दिएको छ यो राम्रो पक्ष रहेको छ । अरूले गरेको कुरा हामी किन गर्न सक्दैनन् भन्ने महानगरले प्रमाण गरिदिएको छ । सबैको हातमा सीप हुन आवश्यक छ । देश तथा विदेशमा सीपको आवश्यक पर्ने हुँदा सीप सिक्न जरुरी छ ।’ अनिवार्य रुपमा हरेक वडादेखि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताए ।  उनले युवालाई यस्ता सीपबाट विदेश पलायन हुनबाट रोक्नपर्ने भन्दै महानगरले यस्तो कार्यक्रम सन्चालन गरेकोमा खुशी व्यक्त गरे । सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरेको थियो ।   

ललितपुर महानगरको नीति तथा कार्यक्रममा के-के विषय समेटिए ?

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सातौं नगरसभामा आगामी आव २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेका हुन्।  महानगरपालिकाले नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने भएको छ ।  नीति तथा कार्यक्रममार्फत महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।  यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए ।  त्यसैगरी, दीर्घकालीन महत्व बोकेका सडकहरू पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरूको रूपमा वर्गीकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताए । कलेज अफ आर्ट स्थापना गर्ने  महानगरले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने भएको छ । महानगरका प्रमुख महर्जनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं ।’  लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने महर्जनले बताए।  ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । नीति तथा कार्यक्रममा ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने उल्लेख छ ।  त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षणका गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने भएको छ ।  खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने भएको छ । परम्परा राजकुलो, जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बसपार्क तथा बसस्टपलाई व्यवस्थित बनाइने महानगरले महानगरभित्र रहेका बसपार्क तथा बसस्टपहरू सरोकारवालाहरु निकायसँग समन्वय गरी व्यवस्थित बनाइने भएको छ । त्यस्तै, साविक उपमहानगरपालिका अवस्थाको तयार भएको महागरस्तरीय यातायात गुरुयोजना लाई महागनर घोषणापश्चात थप भएका हाल वडा नं १८,२१,२२, २३,२४,२५, २६,२७,२८ र २९ समेत समेटेर एकीकृत रुपमा मास्टर प्लान तयार गरिने कार्यक्रममा उल्लेख छ ।  त्यस्तै महानगरभित्र सम्भावना भएका रुटहरूमा साझा बस सञ्चालनको लागि साझा यातायातसँग समन्वय गरिने भएको छ । एक विद्यालय एक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गरिने  सम्पदा संरक्षणमा विद्यालय र विद्यार्थीहरूलाई संलग्न  गराउन यो कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी महानगरभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित अनुगमन प्रणालीको विकास गर्ने समेत नीति तथा कार्यक्रम उल्लेख छ ।   महानगरभित्र सामुदायिक विद्यालयमा संचालित हरित विद्यालय वा विद्यालय बगैंचा कार्यक्रमलाई निरन्तरता दिइनेछ । यो कार्यक्रमलाई प्रतिस्पर्धी बनाउँदै उत्कृष्ट बगैंचा बनाउने ३ वटा विद्यालयलाई महानगर स्थापना दिवसको दिन आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले आगामी शैक्षिक सत्रदेखि कक्षा पाँच सम्मको स्थानीय पाठ्यक्रममा नेपाल भाषालाई समावेश गर्ने भएको छ । महानगरभित्र संस्थागत र सामुदायिक विद्यालयमा संस्कृत भाषा, परियत्ति शिक्षा, नैतिक र संस्कारयुक्त शिक्षा पठनपाठनलाई महत्व दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, कला, संस्कृति र सम्पदाको संरक्षणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसबाहेक नीति तथा कार्यक्रमममा स्वास्थ्यतर्फ विभिन्न कार्यक्रमहरू समेटिएका छन् । महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरु, अपंगता भएका व्यक्तिहरूको लागि सञ्चालनमा रहेको स्वास्थ्य उपचारसम्बन्धी ‘जेष्ठ नागरिक महानगर’ कार्यक्रममा नि:शुल्क थेरापी सेवा विस्तार गरी निरन्तरता दिने भएको छ।  नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रथम सेवा बिन्दुको रूपमा रहने गरी स्वास्थ्य सेवा केन्द्रको विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, महानगरभित्रका कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताका आधारमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरभित्र स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने भएकाे छ । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने नीतिमा उल्लेख छ ।  फागुन महिनामा नसर्ने रोग परीक्षण महिना ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान संचालन गर्ने भएको छ । नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपन जस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ । महानगरले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापन गरिने उल्लेख गरेको छ । सरकारी कार्यालयहरू, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बैंक, व्यापारिक मलहरू, निजी र सामुदायिक विद्यालयहरुको साथै सबै वडा कार्यालयहरूको भौतिक संरचना अनुगमन गरी अपाङ्गतामैत्री बनाउन सुझावसहितको प्रतिवेदन तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  त्यस्तै, सरोकारवाला निकाय, अभिभावक तथा महिला स्वास्थ्य स्वयमसेविका लगायतको समन्वय र सहकार्यमा बौद्धिक अपाङ्गता तथा अटिज्म भएका व्यक्तिहरूको यर्थाथपरक विवरण संकलन गरिने भएको छ ।  अटिज्मको क्षेत्रमा रोवा सुविधा सहजरूपमा उपलब्ध गराउन कार्यविधि निर्माण गरिने उल्लेख छ । महानगरले अटिज्म तथा अपाङ्गता भएका व्यक्तिहरूलाई महानगरपालिकाले सञ्चालन गर्ने जेष्ठ नागरिकसँग महानगर सम्बन्धी स्वास्थ्य सेवा कार्यक्रममा आवद्ध गराइने भएको छ ।  अटिज्म भएका व्यक्तिहरूलाई निःशुल्क थेरापी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । 

ललितपुर महानगरको पुँजीगत खर्च ४१ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०८१/८२ को जेठ मसान्तसम्ममा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जेठ मसान्तसम्म पुँजीगततर्फ १ अर्ब ९५ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । महानगरको वार्षिक पुँजीगत बजेट चार अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ रहेकोमा कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च भएको हो ।  महानगरले चालुतर्फ २ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो । महानगरको चालुतर्फ छुट्याएको बजेट २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ थियो । त्यस्तै, जेठ मसान्तसम्ममा महानगरको कुल बजेटको ६० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरको वार्षिक बजेट ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा जेठ मसान्तसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक आयतर्फ ललितपुर महानगरका ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ५८.७ अर्थात् २ अर्ब ९ करोड संकलन गरेको छ ।