बालेन र सुनिताबीच कुरा मिल्यो, नीति तथा कार्यक्रम र बजेट ल्याउने वातावरण बन्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच नगरसभाको बैठक बोलाउने विषयमा सहमति भएको छ । बिहीबार मेयर र उपमेयरबीच भेटवार्ता भएको थियो । छलफलपछि दुवै जना बैठक बोलाउन तयार भएका हुन् । बालेनलाई भेट्नुअघघि सुनिताले फरक पार्टीका तीन वडाध्यक्षसँग छलफल गरेकी थिइन् । त्यसपछि बालेनसँग भेटवार्ता भएपछि सहमति भएको हो । काठमाडौं महानगरपालिकोको ६ महिनादेखि नगरसभा र कार्यपालिका बैठक हुन सकेको छैन । महानगरको आन्तरिक विवादका कारण महानगरमा ०८१ पुसदेखि नगरकार्यपालिकाको बैठक बस्न नसकेको हो । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि गृहकार्य गरिरहेको छ । अब महानगरले नियमित तयारी गर्ने बताइएको छ ।
महालक्ष्मी नगरपालिका र शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन
काठमाडौं । नेपाल सरकारले दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीमा रहेकोमा अब परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थानमा हुने भएको छ । दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुने भएको छ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपर्ने भएमा संघीय सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यही अनुसार मन्त्रिपरिषद्को निर्णयले दुई पालिकालाई केन्द्र परिवर्तन गर्ने अनुमति दिएको हो ।
गर्मी बढेपछि भरतपुरका विद्यालयमा ३ दिन बिदा
चितवन । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयमा सार्वजिक बिदा दिने निर्णय भएको छ । बिदाको अविधमा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकमा अनुरोध गरे । चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । पछिल्ला दुई दिन अधिक गर्मी महसुस भएको छ ।