पहिलो चौमासिकमा काठमाडौं महानगरको खर्च १२.९४ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा काठमाडौं महानगरपालिकाले १२.९४ प्रतिशत खर्च गरेको छ । विनियोजित २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँमध्ये ३ अर्ब २५ करोड २२ लाख ८४ हजार ६१ रुपैयाँ खर्च भएको हो ।  यसमा चालु तर्फको ९ अर्ब ५६ करोड ३६ लाख २९ हजार रुपैयाँ बजेटमा २ अर्ब १३ करोड ३३ लाख १ हजार ६६१ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ५३ करोड ७ लाख १२ हजार रुपैयाँ बजेटमा १ अर्ब ११ करोड ८९ लाख ८२ हजार ४ सय रुपैयाँ खर्च भएको आर्थिक प्रशासन महाशाखा प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिए । यस अवधिमा केन्द्रबाट खर्च हुने बजेटबाट १४ प्रतिशत खर्च भएको छ । वडातर्फ सबैभन्दा धेरै १९.४१ प्रतिशत र सबैभन्दा कम ०.३८ प्रतिशत रकम खर्च भएको छ ।  ३ वर्षमा महानगरपालिकाले पहिलो चौमासिकमा गरेको खर्चलाई तुलना हेर्दा २०८०/०८१ मा १२.९ प्रतिशत, २०८१/०८२ मा १२.३४ प्रतिशत र यस वर्ष १२.९४ प्रतिशत खर्च भएको देखिन्छ । गएको वर्ष विनियोजित २५ अरब ८६ लाख ५२ हजार रुपैयाँमा ३ अर्ब ८ करोड ८४ लाख २१ हजार ४८४ रुपैयाँ अर्थात १२.३४ प्रतिशत खर्च भएको थियो । विनियोजित रकममा चालुतर्फ १ अरब ८० करोड ५४ लाख ९९ हजार २९० रुपैयाँ र पुँजीगततर्फ १ अर्ब २८ करोड २९ लाख २२ हजार १९३ गरी खर्च थियो । यसमा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार ७१८ रुपैयाँ र पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार २८२ रुपैयाँ बजेट विनियोजित थियो । यसमा केन्द्रबाट १३.३१ प्रतिशत खर्च भएको थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा वडा नं. १९ ले २०.९३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा नं. ११ ले १.१९ प्रतिशत खर्च गरेको थियो ।   आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित २४ अरब १८ करोड ७८ लाख ८२ हजार रुपैयाँ मध्ये २ अर्ब ९२ करोड ५७ लाख ९७ हजार २१३ रुपैयाँ अर्थात् १२.०९ प्रतिशत बजेट खर्च भएको थियो । यस वर्ष चालुतर्फ विनियोजित ९ अर्ब ३ करोड ६८ लाख २९ हजार ६०७ रुपैयाँमा १ अर्ब ६८ करोड ७ लाख ६९ हजार ५६० रुपियाँ र पुँजीगततर्फ विनियोजित १५ अर्ब १० करोड १० लाख ५२ हजार ३९३ रुपैयाँमा १ अर्ब २४ करोड ५० लाख २७ हजार ६५३ रुपियाँ खर्च भएको थियो ।  यस अवधिमा केन्द्रबाट गरिने खर्चको प्रतिशत १२.७८ थियो । सबैभन्दा धेरै खर्च गर्ने वडा १९ ले २१.२३ प्रतिशत र सबैभन्दा कम खर्च गर्ने वडा वडा नं. ३२ ले १.१४ प्रतिशत खर्च गरेको थियो । यस वर्ष वडाहरुतर्फ १० वटा वडाको १० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् । यसरी खर्च गर्ने वडाहरुमा वडा नं. २ ले १२.८१ प्रतिशत, वडा नं. ७ ले २०.५५ प्रतिशत, वडा नम्बर ८ ले १०.५३ प्रतिशत, वडा नम्बर १० ले १०.८१ प्रतिशत खर्च गरेको महाशाखा प्रमुख न्यौपानेको भनाइ छ । उनकाअनुसार वडा नं. १४ ले १५.८६ प्रतिशत, वडा नम्बर १६ ले १९.४१ प्रतिशत, वडा नम्बर १९ ले १६.६९ प्रतिशत, वडा नम्बर २३ को १२.८४, वडा नम्बर २७ को १४.४४ प्रतिशत वडा नम्बर २९ को १०.१४ प्रतिशत खर्च गरेका छन् । 

५ रोपनी जग्गामा स्पोर्टस पार्क बन्दै, पुरानो सहर पार्कले सजिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्पोर्टस पार्क निर्माण शुरु गरेको छ । व्यक्ति तथा संस्थाले प्रयोग गरिरहेको महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो ।  पार्कको शिलान्यास गर्दै वडा १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले, पार्क निर्माण कार्य पूर्वाधार मात्र नभइ सामाजिक क्रियाकलाप बढाउने माध्यम पनि भएको उल्लेख गरे । पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर छ । उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले कार्यान्वयन गरेको यस कामका लागि बोलपत्र आह्वानबाट १२ वटा कम्पनीले आवेदन दिएका थिए । यसमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ ।  पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित २ करोड ८१ लाख ४० हजार रुपियाँ थियो । कार्यादेश रकम भ्याट र पीएसबाहेक १ करोड ८८ लाख ९१ लाख रुपैयाँ हो । निर्माण अवधि २०८३ कार्तिक १८ गतेसम्म रहेको छ । पार्कभित्र खुला व्यायामशाला हुनेछ । १२८ वर्गमिटर क्षेत्रफलको व्याटमिन्टन कोर्ट हुनेछ । ९२८ दशमलव ५३ वर्गमिटरको फुटसल मैदान हुनेछ । पार्कभित्र महिला, पुरुष र अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै शौचालय र पोशाक परिवर्तन गर्ने कक्ष हुनेछ । ३११ दशमलव ८९ वर्गमिटर क्षेत्रमा दुवो रोपेर हरियाली बनाइनेछ । पार्कभित्र विभिन्न जातका १६३ वटा विरुवा रोपिनेछन् । यस्तै ३ सय वटा मौसमी फूल रोपिनेछन् । पार्कको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइनेछ । यो पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँ लगायतका स्थानीयबासीलाई खुला व्यायाम गर्ने, ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिका र युवाहरुलाई खेल्ने ठाउँ हुनेछ ।  महानगर प्रहरी बलले यस स्थानमा भएका संरचना २०८० साल साउन ४ गते अतिक्रमणमुक्त गराएको हो । त्यस बेला यो ठाउँको भोगचलन गरिरहेकी पूर्वमन्त्री भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गरेकी थिइन् । उनका सामान स्थानान्तरण भएको ठाउँमा लैजान प्रहरी बलले सहयोग गरेको थियो । 

चार महिनामा काठमाडौं महानगरको राजस्व सवा ३ अर्ब संकलन

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व संकलन भएको छ । गएको वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्षको १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अरब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ । गएको वर्ष यस अवधिमा १ अर्ब ९९ लाख २ लाख ६७ हजार ६९५ रुपैयाँ राजस्व संकलन भएको थियो । यो अंक गएको वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो ।  यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ संकलन भयो । राजस्व विभागका प्रमुख दीपक अधिकारी भन्छन्, ‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठुलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धि भयो । साना घर हुनेको घट्यो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’  यस वर्ष वहाल कर असुली बढेको छ । गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ । वहाल कर बढ्नुको कारण बताउँदै अधिकारी भन्छन्, ‘२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरुबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा थालेपछि यस शीर्षकमा कर बढेको हो ।'  यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ ।  भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ । गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।