काठमाडौं महानगरको बजेट रोक्ने ‘टावर’

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । धेरैजसो स्थानीय तहले असार १० गते बजेट सार्वजनिक गरेपनि देशकै राजधानीमा अवस्थित काठमाडौं महानगरपालिका लगायत केहीले भने बजेट सार्वजनिक गर्न सकेनन् । देशकै सबैभन्दा ठूलो महानगरले बजेट ल्याउन नसक्दा आलोचित बन्नुका साथै गम्भीर प्रश्न उठेको छ । लामो समयदेखि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले समयमै बजेट ल्याउन नसकेको हो ।  प्रमुख बालेनको प्रमुख प्रशासकीय अधिकृतसँग मात्रै नभएर उपमेयर सुनिता डंगोलसहित कर्मचारीहरूसँग समेत टकराव हुँदै आएको छ । जसको कारण विगत सात महिनादेखि कार्यपालिकाको बैठक बस्न सकेको छैन । परिणामस्वरूप महानगरबासीले आगामी आवको लागि बजेटसमेत पाउन सकेनन् । के हो विवाद ? काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण गर्ने भनेर २०७१ फागुन २० गते काठमाडौं महानगरको कार्यपालिका बैठकले निर्णय गरेको थियो । सो भवन निर्माणको लागि फागुन २२ गते श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालि र काठमाडौं महानगरबीच दुई पक्षीय सम्झौता भएको थियो। त्यसपछि पाँच वर्षभित्र टावर सम्पन्न गर्ने गरी महानगर र निर्माण पक्षबीच सम्झौता भयो । सम्झौतामा महानगरले स्वीकृत गरेको नक्साभित्र रहेर संरचना निर्माण गर्ने र सोहीबमोजिम दुई तला बेसमेन्ट र जमिन तलादेखि १० तलासम्म गरी जम्मा १२ तलाको निर्माण गर्नेगरी सम्झौता भयो । टावर निर्माण सुरु गर्नुभन्दा पहिला काठमाडौं उपत्यका विकास प्राधिकरणले १२ तलाभन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति दिएको थियो । तर तला थप प्रक्रियामा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट कुनै पनि राय अनुमति नलिएको महानगरको दाबी छ ।  तर भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतसहित संलग्नलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन महानगरले सिफारिस ग¥यो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको काठमाडौं टावरको नक्सा स्वीकृत गरिदिएको भनेर काठमाडौं महानगरले ६ पुसमा पत्रकार सम्मेलन नै गरेर जानकारी गरायो । त्यसपछि गुरागाईँ एकाएक विवादमा तानिए ।  उक्त घटना बाहिर आएसँगै छानविनको लागि भनेर महानगरले गुरागाईंलाई बिदामा बस्न लगायो । उनी बिदामा गएसँगै प्रमुख प्रशासकीय अधिकृत छानबिन समितिको जिम्मा शिक्षा विभागका प्रमुख गोविन्द शर्मा पौडेललाई दिइएको थियो । उनले पनि केही समयमै राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृत हुन पुग्यो । त्यसयता तीन महिनासम्म महानगरले प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन ।  नयाँ प्रमुख प्रशासकीय अधिकृत चाहन्थे बालेन महानगरमा गुरागाई‌ंलाई पुनः प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्केको प्रमुख शाह कुनै पनि हालतमा चाहन्न थिए । उनी भ्रष्टाचारमा मुछिएको व्यक्तिलाई महानगरमा प्रवेश नगराउने भन्ने अडानमा थिए भने सरकार भ्रष्टाचार गरेको पुष्टि नै नभएको व्यक्तिलाई महानगरमा आउन रोक्नुहुन्न भन्ने पक्षमा । यस बीचमा सरकार र बालेनबीचको टकराव झन् बढ्दै गयो ।  महानगरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन महानगरका प्रमुख शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरे । मन्त्रालयले भने तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाएन । प्रमुख प्रशासकीय अधिकृतविहीन भएको तीन महिनापछि (चैत्र २१) मा गुरागाईँ उपप्रमुख सुनिता डंगोल र कर्मचारीको सहयोगमा कार्यालयमा हाजिर हुन पुगे । गुरागाईँ महानगरमा हाजिर हुन पुग्दा महानगर प्रहरीले रोक्न खोजेका थिए । तर उपप्रमुख सुनिता डंगोल र कर्मचारीहरूले उनलाई कार्यालयमा स्वागतसहित प्रवेश गराएका थिए । महानगर प्रमुख शाह कुनै पनि हालतमा गुरागाईँलाई कार्यालय प्रवेश नगराउने पक्षमा थिए भने उपप्रमुख डंगोल ठीक विपरीत । त्यसयता महानगरमा बालेन एक्लिन पुगेका छन् । सबैसँग समन्वय गरेर अगाडि बढ्न नसक्दा अन्ततः महानगर बजेटविहीन हुन पुग्यो ।  प्रमुखको सहमति विपरीत महाननगरमा हाजिर हुन आएदेखि एक दिन पनि प्रमुख शाह र गुरागाईंबीच आमनेसामुन्ने हुन सकेन । प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आएपछि लामो समय रोकिएको कर्मचारीको तलब भुक्तानीदेखि विभिन्न निर्माण क्षेत्रको भुक्तानी भए, तर बैठक भने बस्न सकेन । अझै पनि बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा १७ मा कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नुपर्ने उल्लेख छ । सामाजिक सञ्जालमार्फत बालेनको आक्रोश आधिकारिक प्रक्रिया पूरा नगरी काठमाडौं टावरको नक्सा पास गरेको भन्दै गुरागाईंमाथि छानविन गर्न महानगरले नै छानबिन समिति बनाएको थियो । महानगरले नेपालका पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरेर अनुसन्धान गरे पनि लामो समयसम्म प्रतिवेदन सार्वजनिक गर्न सकेन ।  त्यो बीचमा महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन्, जानै मान्दैनन् भन्नेदेखि लिएर छानबिनको रिर्पोट लुकाइयो भन्नेसम्म कुरा बाहिर आयो । प्रमुख शाहले मार्च ३ मा सामाजिक सञ्जालमा लामो स्टाटस राखेर स्पष्टीकरण दिए । महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैन भन्ने जफावमा प्रमुख शाहले ४ मध्ये २ लाई हटाउनुको कारण भ्रष्टाचारमा संलग्न भएको कारण भनेर स्पष्टीकरण दिएका थिए । स्टाटसमा उनले लेखेक छन्, ‘के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर ।’  काठमाडौंमा कार्यकारी जान मान्दैनन् भन्ने भनाइ लज्जास्पद, लाचार र गैरजिम्मेवार भनाइ भएको भन्दै प्रमुख शाहले स्पष्टीकरण दिएका थिए । स्टाटसमार्फत नै प्रमुख शाहले यसमा महानगरको कमजोरीभन्दा पनि सरकारले आफू खुसी आफू मातहतका एकजना कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन सक्ने रहेछ भन्ने पुष्टि भएको तर्क राखेका थिए ।  त्यस्तै, उनले स्टाटसमार्फत सरकारले समन्वय नगरेको आरोप लगाएका थिए । उनले स्टाटसमा लेखेका थिए, ‘हामीले मन्त्रीलाई पटक–पटक पत्र लेखेको, आधिकारिक संयन्त्रबाट सम्पर्क गरेका छौं । थप समन्वयन नखोजौं, विधि र जिम्मेवारी खोजौं ।’ त्यसलगत्तै मार्च २४ मा बालेनले अर्को स्टाटस राखे । जसमा उनले तीन महिनादेखि कर्मचारीले तलब नपाएको आक्रोश पोखेका थिए । जहाँ उनले लेखेका थिए, ‘अबको एक हप्तामा हाम्रा कर्मचारीले तलब पाएनन् भने टुकुचामा गाडिदिन्छ ।’  त्यसको एक महिनापछि बालेनको अर्को स्टाटस सामाजिक सञ्जालमा पोष्ट भयो । जुन काठमाडौं भ्यु टावरको बारेमा थियो । जसमा प्रमुख बालेनले काठमाडौं भ्यु टावरमा ठूलो भ्रष्टाचार भएको गम्भिर कुरा उठाउँदा ८ बुँदे प्रष्टीकरण दिएका थिए। समयमै बजेट नआउँदा कस्तो असर पर्छ ?  पालिकाले समयमै बजेट नल्याउँदा विकास आयोजनाको ठेक्का सम्झौता, रकम निकासा र कार्यान्वयन गर्न ठूलो चुनौती थपिने स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । यति मात्रै नभएर नियमित सेवा प्रवाहमा अवरोध सिर्जना हुने, जनप्रतिनिधिप्रति जनताको विश्वाससमेत घट्ने उनीह हरूको तर्क छ । यस्तै, संघ र प्रदेश सरकारले उपलब्ध गराउने वित्तीय, समपूरक र सशर्त अनुदानको उपयोग गर्न नसक्ने अवस्था सिर्जना हुन्छ ।  काठमाडौ. महानगर वडा नं ६ का वडाअध्यक्ष भुवन लामा समयमै बजेट नआउँदा जनप्रतिनिधिले समयमै जनताको समस्या समाधान गर्न नसकिने सुनाउँछन् । उनले भने, ‘पेन डाउन नै गरेर बस्नुपर्ने अवस्था हुन्छ, जनताको समस्या समाधान गर्न बजेट चाहिन्छ, जुन हाम्रो खल्तीबाट हाल्ने कुरा हुँदैन ।’ वडाअध्यक्ष लामा छिट्टै नै नगरसभा होस् भन्ने चाहन्छन् । त्यसका लागि वडाहरूले महानगरसँग छलफल गरिरहेको उनले जानकारी दिए ।  त्यस्तै, काठमाडौं महानगर वडा नं २८ का वडाअध्यक्ष भाइराज खड्की बजेट समयमै नआउँदा विकास निर्माणको काम ठप्प हुनुका साथै नियमित कामकाजमा पनि समस्या हुने आंैल्याउँछन् । उनले बजेट योजनाविहीन हुँदा कर संकलनमा पनि समस्या हुने र आन्तारिक आयमा ठूलो गिरावट आउने बताए ।  साथै समयमा विकास निर्माणका काम नहुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा देखिने समेत उल्लेख गरे । कानुन उल्लंघन गर्ने छुट छैन कानुनले नै स्थानीय तहलाई बजेट ल्याउने समय तोकिएको हुँदा त्यही समयमा बजेट ल्याउनैपर्ने र कानुनको उल्लंघन गर्ने छुट कसैलाई नभएको संविधान विद् डा. भीमार्जुन आचार्य बताउँछन् ।  उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र निति, कार्यक्रम तथा बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ । कानुनको उल्लंघन गर्ने छुट कसैलाई छैन, चाहे स्थानीय तह होस् या प्रदेश सरकार ।’ स्थानीय तहले समयममै बजेट ल्याउन नसक्नुमा भित्री कारण जेसुकै भएपनि मूख्य कारण भने संविधानलाई नटेरको विचार राख्छन् आचार्य । ‘कानुनअुनसार समयमै बजेट नल्याउनुमा सिधै उल्लंघन हो, कानुनलाई नटेरेको हो । उहाँहरूलाई गरे पनि हुन्छ, नगरे पनि हुन्छ भन्ने भएको हो,’ उनले भने ।  बजेट ल्याउने तयारीमा महानगर हालसम्म कार्यपालिका बैठक बोलाउन नसकेको महानगरले बैठक बोलाउने तयारी गरिरहेको छ । महानगरका साहयक प्रवक्ता ध्रुवकुमार काफ्लेले यो हप्ताभित्र बैठक बस्ने तयारी भइरहेको बताए । ‘मेयरसाबसँग छलफल र समन्वय भइरहेको छ । टुंगो लागेको छैन । सम्भवतः यो हप्तामा बैठक डाक्ने तयारी छ ।’ सहायक प्रवक्ता काफ्लेका अनुसार महानगरले असार मसान्तसम्ममा ल्याउने सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ‘सकेसम्म यो महिनाभरिमा बजेट ल्याउने महानगरको तयारी छ, नभएमा साउनमा बजेट आउँछ,’ उनले भने । 

चीनको सिगात्से सहरका मेयरसहितको टोली भरतपुरमा, सहकार्य विस्तारबारे छलफल

भरतपुर । चीनको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग भ्रमण टोली शनिबार भरतपुर आइपुगेको छ । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयरसहितको टोलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यालयमा स्वागत गरिन् । सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्ग र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच दुई पालिका बीच सहकार्यलाई थप उचाई दिने विषयमा छलफल भएको थियो । भेटमा आपसी हित, दुई सहर र चीनबीचको गर्न सकिने सहकार्यको बारेमा छलफल भएको हो । प्रमुख दाहालले मित्र राष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा सधै सकारात्मक रहेको बताइन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरको फोहर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोग प्रस्ताव गरिन् । सिगात्से सिटिको सबै क्षेत्रमा भएको उच्च प्रविधिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन  एवम् प्रभावकारी फोहर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिक रुपमा अगाडी बढाईरहेको बताइन् । 'विशेष गरी फोहर मैला व्यवस्थापनमा यहाँहरूको सहयोगको अपेक्षा समेत गरेका छौ,' उनले भनिन् । प्रमुख दाहालले चीनबाट भरतपुरमा धेरैभन्दा धेरै पर्यटक भ्रमणका लागि वातावरण निर्माण गर्न आग्रह गरिन् । यस्तै सिगात्से सहरका मेयर हुड्गले भरतपुर महानगरपालिकासँग थप व्यापारिक सम्बन्ध अघि बढाउन खोजेको उल्लेख गरिन् । भरतपुरमा उत्पादन भएका ग्रीन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको उनको भनाई थियो । उनले भरतपुर प्राकृतिक रुपमा अति नै सुन्दर रहेकाले चीनबाट भरतपुर घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने पनि बताइन् । सिगात्से र भरतपुरबीच गत वर्षको कार्तिक महिनामा भगिनी सम्बन्ध कायम भएको थियो ।

राजाजी डाँडाबाट सलहेस सर्किटसम्म, लहानको नयाँ पर्यटकीय सपना

काठमाडौं । सिरहाको लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजाजी डाँडा एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेको हो । सयौँ वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभागी हुन्छन् । स्थानीय जनविश्वासअनुसार सङ्कटका बेला यहाँको देवता राजाजी बाबालाई पुकार्दा कल्याण हुन्छ, चिताएको पूरा हुन्छ । लहान-१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार पौराणिककालमा यस डाँडामा राजाको दरबार रहेको र यहीँबाट राजकाज सञ्चालन हुने गथ्र्यो भन्ने किंवदन्ती रहेको मानिन्छ । अहिले जनविश्वासमा रहेका राजा सलहेस, वस्तुतः त्यही दरबारका प्रधानमन्त्री थिए ।  ‘सलहेसका गुरु नै राजाजी थिए । जसको नाममा आज यो डाँडालाई चिनिन्छ । यही भाष्य नै जनमानसमा व्याप्त रहेको छ । यसलाई विश्वास पनि गरिन्छ र त्यसको विश्वासिलो आधार पनि भेटिन्छ,’ वडाध्यक्ष जर्घामगरले भने ।  स्थानीय वृद्धहरूका कथनअनुसार यो डाँडामा पहिले इँटाका ठूलाठूला पर्खाल थिए, जुन सयौँ वर्ष पुराना हुन् ।  ‘हामीले थाहा पाउँदासम्म हजुरबुबाको पालादेखि त्यस्तै थियो,’ ७३ वर्षीय वडाध्यक्ष गर्जामगर सम्झिन्छन् । उनका अनुसार कसले र कहिले निर्माण गर्यो भन्नेमा अझै स्पष्टता छैन, जसकारण यसलाई पौराणिककालदेखिको संरचना मानिन्छ । कुनै लिखित दस्तावेज नभए पनि उनीहरूको कथा, कर्मकाण्ड तथा पुस्तौँदेखि चलिआएको पूजा परम्पराले यसको पौराणिक पक्षलाई स्पष्ट पार्दछ । आज पनि ती पुराना इँटा यथावत छन्, तर संरक्षणको अभावमा अवस्था दिनप्रतिदिन जीर्ण हुँदै गएका छन् । यति पुरानो संरचना र वस्तुको अनुसन्धान पुरातत्व विभागले यथाशीघ्र प्रक्रिया अघि बढाउनुपर्ने वडाध्यक्ष गर्जामगरको मत छ ।  ‘दुर्भाग्यवश, ऐतिहासिक महत्त्व हुँदाहुँदै पनि यस क्षेत्रको प्रचारप्रसार नहुँदा यो सम्पदा लामो समयसम्म ओझेलमा रह्यो । अहिले भने स्थानीय तहको पहलमा यस क्षेत्रको विकासले गति लिन थालेको छ । हालै २५ लाख रुपैयाँ लागतमा राजाजी डाँडामा गहवर मन्दिर निर्माण भइसकेको छ, जसले पर्यटकलाई थप आकर्षण गर्ने विश्वास लिइएको छ,’ उनले भने ।  राजाजी डाँडाको संरचना, सलहेससँगको सम्बन्ध र यसको पुरातात्विक सम्भावनाले यसलाई केवल सिराहा जिल्लाको मात्र होइन, सम्पूर्ण तराईको सांस्कृतिक र ऐतिहासिक धरोहर बनाउने सम्भावना देखिएको छ । पहिले यहाँ पुग्नका लागि एक घण्टाभन्दा बढी पैदल उकालो चढ्नुपर्ने बाध्यता थियो । चुरे उकाली–ओराली पार गर्दै, श्रद्धालुहरू हरेक वर्ष असारमा असारी पूजा गर्न राजाजी डाँडा पुग्थे । यसबीचमा स्थानीयको विस्वास र आस्थालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना देखिन थालेपछि पहिलोपटक २०७८ सालमा निवर्तमान नगरप्रमुख मुनि साहको नेतृत्वमा डाँडासम्मको ट्रयाक खोलिएको थियो । त्यसपछि चुरे फेदमा रहेको झिझरी खोला पार गरेर झण्डै पाँच किलोमिटर चुरेको उकालो हुँदै राजाजी डाँडासम्म मोटर पुग्न थालेको हो । जसले गर्दा स्थानीयलाई धार्मिक पूजापाठ गर्नलाई सहज बनाएको छ । स्थानीय देवेन्द्र यादव भन्छन्, ‘डाँडासम्म जाने मोटरबाटो बन्छ भनेर कहिल्यै सोचेका थिएनौँ । अहिले ट्रयाक खुलेपछि अब बुबाआमासँगै सजिलै डाँडा पुगिन्छ । यस बाटोलाई अझ सुधार गरी व्यवस्थित गरे झन् सहज हुने थियो । आन्तरिक पर्यटनको पनि विकास हुने थियो ।’ लहानस्थित पूर्वपश्चिम राजमार्गबाट करिब १५ किलोमिटर उत्तर चुरे क्षेत्रको उच्च बिन्दुमा अवस्थित राजाजी डाँडाबाट सिराहा, सप्तरी र उदयपुरका विभिन्न भूभागका समथल फाँट र भूदृश्यहरूको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट देखिने हरियाली, खेतबारी, गाउँबस्ती र फाँटहरूको समिश्रित दृश्यले जोकोहीलाई मोहित तुल्याउँछ । विशेषगरी गर्मीको समयमा उखरमाउलो तातोबाट राहत खोज्न मानिस यहाँ पुग्ने गर्छन् । सबैभन्दा नजिकको उच्च बिन्दु भएकाले राजाजी डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने देखिन्छ ।  यस अपूर्व सम्भावनालाई ध्यानमा राख्दै लहान नगरपालिकाले यसको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार चालु आर्थिक वर्षमा राजाजी डाँडामा २५ लाख रुपैयाँ लागतमा नयाँ गहवर मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आगामी आव २०८२/८३ मा झिँझरी खोलाबाट राजाजी डाँडासम्मको बाटोमा पैदल हिँडेर पुग्न चाहनेका लागि सिँढी निर्माण गर्न थप बजेटको व्यवस्था गरिने योजना बनाइएको छ । न गरप्रमुख चौधरी भन्छन्, ‘राजाजी डाँडा आज आस्था, इतिहास र पर्यटनको त्रिवेणी बन्दै गएको छ । समयमै संरक्षण र प्रवर्द्धन गर्न सकिए यो स्थल मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा कुनै शङ्का छैन । त्यसैले राजाजी डाँडालाई धार्मिक र पर्यटकीय हब बनाउने हाम्रो दीर्घकालीन योजना हो ।’  राजाजी डाँडा आज एक स्थान, अनेक सम्भावना बोकेको थलो बनेको छ । धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम बनेको छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सके भविष्यमा प्रदेशस्तरको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना बोकेको छ ।  यसै हप्ताको आइतबार उक्त राजाजी डाँडा पुगेर कुँदिएको शिलालेखको उद्घाटन गरी नेपाली झण्डा फर्पmराउँदै नगरप्रमुख चौधरीले भने, ‘राजाजी डाँडालाई मात्र होइन, लहानको सलहेस फूलबारी, ब्रह्मनस्थान, मानिक दह, देवी दह, हात्ती दहसँग जोडेर सलहेस सर्किट निर्माण गर्ने हाम्रो गुरुयोजना छ ।’ यस योजनाअनुसार सलहेसले फूलबारीमा फूल टिप्ने, मानिक दहमा स्नान गर्ने, ब्रह्मानस्थानमा कुस्ती खेल्ने, पकडिया गढमा न्याय दिने र अन्न भण्डारण गर्ने तथा गर्मीको समयमा राजाजी डाँडामा शीतल हावा लिने कथालाई आधार बनाइन्छ ।  ‘यी सबै धार्मिक कथन र स्थानलाई जोडेर लहानलाई पर्यटकीय नगर बनाउन सकिन्छ । त्यसकै लागि अब संरचनागत विकास सुरु गरिएको हो,’ नगरप्रमुख चौधरीले भने ।  चुरे क्षेत्रको डाँडामा विकासको पाइलासँगै प्राकृतिक सन्तुलन र सांस्कृतिक संरक्षणलाई ध्यानमा राख्नु आवश्यक छ । स्थानीय जनआस्था, मौलिक कथन, धार्मिक अभ्यास र पर्यटकीय सम्भावनाको सङ्गम रहेको यो क्षेत्रलाई सन्तुलित विकासमार्फत नेपालकै उदाहरणीय धार्मिक-पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने विश्वास नगरपालिकाले लिएको छ । सलहेससँग जोडिएको पौराणिक कथा, पुराना संरचना र चुरे क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई जोडेर यसलाई अद्वितीय बनाएको छ ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले घोषणा गरेको बृहत् सलहेस पर्यटकीय क्षेत्रअन्तर्गतका सलहेस फूलबारी, पकडियागढ, देवीदह र ब्रह्माण फूलबारी सांस्कृतिक सम्पदाभित्र सूचीकृत गरिसकिएको छ । यी सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत यस क्षेत्रको सांस्कृतिक पुनर्जागरण, मौलिक संस्कृतिको यात्रा र स्थानीय पहिचानको पुनर्निर्माणको अवसर देखिएको छ । सलहेस फूलबारी प्रेमको प्रतीक भई नयाँ वर्षका दिन मात्र फुल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेस फूलबारीमा वैशाख १ गते भव्य मेला लाग्ने गर्दछ । लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने यस फूलबारीमा हरेक वर्ष वैशाख १ गते फुल्ने सुनाखरी फूललाई सलहेस बाबा र मालिनीको मिलनको प्रतीक मानिन्छ । पुराना किंवदन्तीअनुसार यो फूलबारी सलहेसको दरबार क्षेत्रभित्र पथ्र्यो । अहिले पनि यहाँ लाखौँ श्रद्धालु भेला हुने फूलबारी मेला लाग्छ, जसले यसलाई जीवित सांस्कृतिक सम्पदाका रूपमा चिनाउँछ । फूलबारी मेला तराईको मौलिक सांस्कृतिक सम्पदाको जीवित उदाहरण हो, जहाँ लाखौँ श्रद्धालु जम्मा हुन्छन् । यसको संरक्षण र प्रवर्द्धनले स्थानीय पहिचान र सांस्कृतिक गर्वलाई अझ बलियो बनाउन सक्नेछ । सलहेस तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेसको पूजाअर्चना गर्नाले सन्तानप्राप्ति, चर्मरोग, कुष्ठरोगलगायत समस्या हरण हुने जनविश्वास पनि छ । पकडियागढ लहान नगरपालिका-१८ मा अवस्थित पकडियागढ ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्णस्थल हो, जुन सलहेस सर्किटअन्तर्गत पर्दछ । हरेक वर्ष वैशाख २ गते यहाँ लाग्ने मेलामा नेपालका विभिन्न भूभागसहित छिमेकी भारतबाट पनि हजारौँ दर्शनार्थी भेला हुने गर्छन् । जनश्रुतिअनुसार, यो स्थल प्राचीन समयमा राजा कुलेश्वरको दरबार रहेको थियो । राजाकी छोरी चन्द्रावती यही फूलबारीमा डुल्ने गरेको विश्वास गरिन्छ । मेलाको विशेष आकर्षण भनेको चोहरमलले खनेको भनिने सुरुङ, जसलाई हेर्न आउनेहरूको भीड लाग्ने गर्छ । पकडियागढ परिसरभित्र रहेको सार्वजनिक पोखरी संरक्षणको अभावमा विगतमा जीर्ण अवस्थामा पुगेको थियो । फोहर र संरचनात्मक बेवास्ताका कारण त्यहाँको आगमन घट्दो थियो । तर, पछिल्लो समय मधेस प्रदेश सरकारको सौन्दर्यकरण योजनाअन्तर्गत ४० लाख रुपैयाँको लागतमा पोखरीको पूर्व र दक्षिणतर्फ घाट निर्माण, बाउण्ड्री वाल, स्टेडियम लाइट र मन्दिर परिसरमा पिसीसी ढलानजस्ता संरचना निर्माण गरिएको छ । यसले गर्दा विवाह, व्रतबन्धजस्ता सामाजिककार्य सहज भएका छन् र साथसाथै पोखरीको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको छ । देवीदह लहान नगरपालिका-१७ मा अवस्थित एक ऐतिहासिक, प्राकृतिक र धार्मिक दृष्टिले पूजनीय स्थान हो देवीदह । पूर्वपश्चिम राजमार्गबाट करिब छ किलोमिटर उत्तरमा रहेको यो दह सिराहा र सप्तरीलाई छुट्याउने बलान नदी किनारमा फेला पर्छ । स्थानीय जनश्रुतिअनुसार त्रेतायुगीन समयदेखि यहाँको पानीमा स्नान गर्दा रोगव्याधि हटेर जान्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै, मनमा उत्पन्न हुने शङ्काले भरिएको घाउ निको हुने विश्वास व्यापक छ । तर, बजेट अभावमा पोखरीको संरक्षण, सवर्द्धन तथा वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ । यस दहको धार्मिक तथा पर्यटकीय महत्वलाई पुनस्र्थापित गर्न सरकार र स्थानीय तहबाट बजेट र पहल आवश्यक छ । मानिक दह लहान नगरपालिका-२४ मा अवस्थित मानिक दह केवल प्राकृतिक जलासयमात्र होइन, सलहेस सर्किटअन्तर्गत पर्ने एक प्राचीन धार्मिक तीर्थस्थल हो । जुन विशेषतः सलहेससँग जोडिएको पौराणिक विश्वासका कारण स्थानीय जनजीवनमा गहिरो आस्था बोकेको छ ।  जानकारका अनुसार सलहेस बाबा यही दहमा स्नान गर्ने गर्दथे भन्ने धार्मिक विश्वास छ । यही कारणले हरेक वर्ष वैशाख १ गते यहाँ बृहत्तर मेला लाग्ने गर्छ, जहाँ सिराहा, सप्तरी, उदयपुरलगायत तराईका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालुको आगमन हुन्छ । मानिक दह करिब १७ बिघामा फैलिएको विशाल जलासय हो । चारैतिर हरियाली, मन्दिर र पवित्रताले भरिएको यो स्थलले धार्मिकमात्र होइन, प्राकृतिक सौन्दर्यको अनुभव पनि प्रदान गर्छ । दहको दक्षिणी भागमा डिहबारको मन्दिर, घाट निर्माण र डिल (किनारा) मर्मतका लागि हालसम्म ७० लाख रूपैयाँ भन्दा बढी नगरको बजेट खर्च भइसकेको छ । साथै पश्चिम भागमा सलहेस मन्दिर निर्माण गरिएको छ, जसले यस क्षेत्रको धार्मिक पहिचानलाई थप मजबुत बनाएको छ । यहाँको पानीमा स्नान गरेपछि रोगव्याधि हट्ने र भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वासले मानिक दहलाई स्थानीय धार्मिक आस्थाको केन्द्र बनाएको छ ।  राजदेवी मन्दिर त्यसैगरी, नगरपालिकाको १५ नं वडामा अवस्थित राजदेवी माताको मन्दिर भाकल पूरा गर्ने भगवती देवीस्थानको रूपमा परिचित छ । वैशाख पूर्णिमाका दिन बोकासहित चार प्रकारका पशुपन्छीको बलि दिइन्छ, जसमा १० हजारदेखि २० हजार बोकासम्म बलि दिने चलन छ ।  उक्त मन्दिरमा बली चढाए भाकल पूरा हुने जन विश्वास रहेको छ । स्थानीय र प्रदेश सरकारले सडक सुगम–बनाउने, धर्मशाला र पार्क निर्माण साथै मन्दिर परिसरको सौन्दर्यीकरणमा काम गरिरहेको छ । स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घसंस्थाले लहानको पर्यटकीय नगरी ‘सलहेस सर्किट’को व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन सकिने भएकाले यस क्षेत्रमा उचित ध्यान दिनुपर्ने मानवअधिकारकर्मी राजकुमार राउतको भनाइ छ ।  ‘एउटै नगरपालिकाभित्र यति धेरै ऐतिहासिक र पुरातात्विक स्थल हुनु नै लहानको धार्मिक पर्यटन सम्भावनाको प्रमाण हो,’ राउतले भने, ‘यदि लहान नगरपालिकाले यी सम्पदाको संरक्षण र समुचित विकास गर्न सके, यो नगरपालिका निकट भविष्यमा देशकै एक समृद्ध धार्मिक-पर्यटकीय गन्तव्य बन्नेछ ।’ रासस