वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो । वीरगञ्ज महानगर–१३ मुर्लीस्थित सडकसँगै जोडिएको नालीमा पनि रातकै समयमा श्रमिक खटाएर नाली सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मनसुनको समयमा वीरगञ्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट भन्सार कार्यालयसम्म नाला सरसफाइको अभियानलाई तीव्रता दिएको बताए । 'महानगरले सरसफाइ अभियानलाई कुनै पनि हालतमा सम्झौता गरेको छैन', उनले भने, 'वैभव वीरगञ्ज अभियानलाई साकार पार्न पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेका छौँ ।' ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पनि वीरगञ्ज महानगरले पछिल्लो समय रातको समयमा पनि सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेको बताए । 'एक दशकअघिको वीरगञ्ज र अहिलेको वीरगञ्जमा धेरै परिवर्तन देखिसकेको छ', उनले भने, 'हामीले भन्नुभन्दा पनि यहाँ घुम्न आउने सर्वसाधारणले वीरगञ्ज सरसफाइ भएको अनुभूति गर्दै आइरहनुभएको छ ।' अध्यक्ष खेतानले महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि बढाउँदै आइरहेको बताए । 'विगतमा मनसुनको समयमा यहाँका विभिन्न ठाउँमा डुबानको समस्या देखिन्थ्यो', उनले भने, 'सोही समस्या समाधानका लागि महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि सार्दै आइरहेको छ । यो कार्य निकै सराहनीय छ ।' महानगरले रातको समयमा पनि एक्जाभेटर, ट्रयाक्टरको सहायताले नाली सरसफाइ गर्दै आइरहेको छ । अर्कोतर्फ टोलतर्फको नाली भने मानव जनशक्ति प्रयोग गर्दै साना प्रकृतिको नाला सरसफाइ गर्दै आइरहेको छ । वीरगञ्ज महानगरको फोहरमैलाको व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वर्षायाममा वीरगञ्जका नाली भरिएर सडकमै पानी छताछुल्ल हुने समस्यालाई न्यूनीकरण गर्न नाली सरसफाइ अभियान अघि सारिएको बताए । महानगरभित्रको सम्पूर्ण फोहरमैला व्यवस्थापनको जिम्मेवारी सार्वजनिक–निजी साझेदारीअन्तर्गत एनके इन्टरप्राइजेजले पाएको छ । वीरगञ्ज महानगर–१३ का स्थानीय नैमाजुदिन अन्सारी सडक बनेको तीन वर्षमा मात्र नाली सरसफाइ गर्न थालिएको बताए । 'नालीमा विभिन्न खालका फोहर जम्मा भएर भरिएको थियो', उनले भने, 'महानगरले रातको समय पारेर नालीको ढकन खोलेर सरसफाइ अभियान सुरु गरेर राम्रोे कामको सुरुआत गरेको छ । यस्ता अभियानलाई निरन्तर अघि बढाउन जरुरी छ ।' वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले पछिल्लो समय नाली सरसफाइ कार्यक्रमलाई विशेष महत्व दिँदै आइरहेको बताए । 'हामीले वर्षौँपछि नाली सफाइ अभियानकै रूपमा अघि बढाउँदै आइरहेका छौँ, यसले वर्षायाममा हुनसक्ने डुबानलाई न्यूनीकरण गर्न सघाउ पुग्ने छ', उनले भने । रासस

महिला उद्यमीसँग सहकार्य गरेर अघि बढ्न महानगर सधै तयार छ : प्रमुख महर्जन

काठमाडौं । ललितपुर महागनरका प्रमुख चिरीबाबु महर्जनले महिला उद्यमीहरूलाई सहयोग गर्न सधै तत्पर रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘चौथो उद्यमी महिला सम्मेलन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  प्रमुख महर्जनले महानगरले महिला उद्यमीहरूलाई निरन्तर साथ र सहयोग गर्दै आएकोमा आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।  उनले ललितपुर महानगर नेपालकै जेष्ठ पालिका हुनुका साथै महानगरले गर्ने हरेक ‘शो केस’ रूपमा बन्दै गएको र बनाउने प्रयास जारी रहेको उल्लेख गरेका छन् ।  प्रमुख महर्जनले ललितपुर महानगरपालिका धेरै विषय र क्षेत्रको आधारमा एक मात्रै उत्कृष्ट नगरपालिका भनेर सम्मानित र तारिफ पाउने गरेको बताए ।   उनले भने, ‘हामी संस्कृति र सम्पदामा उत्कृष्ट छौं, सहरलाई हरियाली बनाउने प्रयास गरेका छौं । महानगर सफा पनि छ । यसैले हाम्रो महानगरलाई धेरैले प्रशंसासमेत गर्नुहुन्छ ।’  प्रमुख महर्जनले यतिले मात्रै नपुग्ने भएकाले महिला उद्यमी कार्यक्रमबाट पनि ललितपुरलाई उत्कृष्ट भन्न सक्ने वातावरण बनाउन सबैले प्रयास गर्नुपर्ने उल्लेख गरे ।  ‘संस्कृति, कला, हस्तकलामा ललितपुर महानगर प्रख्यात छ तर यो विश्लेषणले मात्रै पुग्दैन । आगामी दिनमा महिला उद्यमीले उत्पादन गरेको प्रडक्ट राम्रो छ भन्ने सुन्न पाऊँ हाम्रो महागनरमा हस्तकला मात्रै हैन, अरू पनि धेरै कुरा छ है भन्न सकूँ’, उनले भने ।  त्यस्तै, उनले उद्यमीले उत्पादन गर्ने वस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए। प्रमुख महर्जनले अहिलेको जमाना प्रतिस्पर्धी जमाना भएकाले हरेक उद्यमी प्रतिस्पर्धामा जानैपर्ने र त्यसको लागि तयारी हुनुपर्ने औंल्याए ।  ‘हामी अहिले बजेट बनाउने तयारीमा छौं, महिला उद्यमीको लागि के-के विषय समेटिनुपर्छ, तपाईंहरूले सल्लाह, सुझाव दिनुभयो हामी त्यसलाई समेट्ने प्रयास गर्ने छौं,’ उनले भने । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिला उद्यमीको सफलता व्यक्तिको मात्रै नभएर परिवार र सिंगो समाजको सफलता भएको बताइन्।  उनले महिला उद्यमीहरुको लागि महानगरले निरन्तर लगानी गर्दै आएको बताइन् ।  श्रेष्ठले महिलाहरूको लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिने उल्लेख गरिन् ।  उनले भनिन्, ‘हामीले उद्यमी महिलाको सीप र व्यक्तित्व विकासको लागि आवश्यक तालिमहरू सञ्चालन गर्दै आएका छौं, तालिमसँगै प्रविधिको हस्तान्तरण समेत गर्दै आएका छौं ।’  यसका साथै महिलालाई आवश्यक पुँजी, बीउको समेत व्यवस्था गर्दै आएको उनले सुनाइन् । त्यस्तै, उनले दिगो र प्रभावकारी रूपमा महिलाहरूलाई कसरी जोड्न सकिन्छ, महिलालाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरेको प्रस्ट्याइन् । त्यस्तै, महिला उद्यमीको समस्या र आवश्यकता बुझ्न पनि सम्मेलनको आयोजना गरेको बताइन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्यम क्षेत्रमा महिला उद्यमीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले महिलाहरूले उत्पादन गरेको वस्तुको उत्पादन वृद्धिमा पालिकाको प्रमुख भूमिका रहने औंल्लाए ।  उनले आजको चुनौती वस्तु उत्पादन वृद्धि र रोजगारी सिर्जना भएको हुँदा आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले पनि पछिल्लो समय आयात घटाउँदै लगेको र निर्यात वृद्धिमा जोड दिएको उनको भनाइ थियो । मन्त्री भण्डारीले महानगरभित्रका महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा स्थानीय स्तरले नै सहयोग गर्दिनुपर्ने बताए ।  उनले भने, ‘ललितपुर महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेको कपडा महागरका प्रमख, उपप्रमुखदेखि कर्मचारीहरूले हप्तामा तीन दिन लगाऔं ।’

कोशी प्रदेशले ल्यायाे ३५ अर्ब ८७ करोडकाे बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट विनियोजन गरेको छ ।  आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले सो अनुमान प्रस्तुत गरेका हुन् । कुल विनियोजन बजेटमध्ये चालुतर्फ ५२ प्रतिशत अर्थात १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ ४७.७ अर्थात १७ अर्ब १० करोड विनियोजन गरेको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ सबैभन्दा कम ०.३ १० करोड विनियोजन गरेको छ ।