एक्शनमा बालेन, अतिक्रमण हटाउन दौडधुप, संरचना हटाउन एकैदिन काठमाडौं मलदेखि कोटेश्वरसम्म
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो । महानगरका मेयर बालेन्द्र साह (बालेन) बुधबार काठमाडौंका विभिन्न ठाउँहरुमा पुगेर संरचना भत्काउनेदेखि संरचना हटाउनका लागि निर्देशन दिने काम गरेका छन् । कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिए । उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ । सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज डोजर लगाएर भत्काएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ । त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, ‘अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन् ।’ आजै महानगरले खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाएको हो । दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका पनि छन् । यस्तै, मेयर बालेनले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन पनि सुरु गरेका छन् । कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार–व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरेको हो । काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार–व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुहरुलाई हिँड्न गाह्रो भएको भन्दै महानगरले फुटपाथ व्यवसायीलाई हटाएको हो । यसअघि फुटपाथ व्यवयसाय सञ्चालनमा रोक लगाएपछि फुटपाथ व्यवसायीहरुले मेयर साहविरुद्ध काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए ।
राति जथाभावी फोहर फाल्नेलाई सिसी टिभी हेरेर कारबाही गर्छौं : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौंमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए । विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सिसी टिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए । नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ । प्रमुख साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिए । उनले पार्किङको लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताए । रासस
चार दिनभित्र फोहर व्यवस्थापन हुने
काठमाडौं । यसअघि काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिए । प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ । यसअघिको फोहर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरे । केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । रासस