अनुदान, बीमा र ‘भैँसी सुत्केरी भत्ता’ले फस्टायो पनौतीमा भैँसीपालन व्यवसाय

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाड्नुभएको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । ‘विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनःभैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन्’, उनी भन्छन्। खत्रीलाई नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहन भत्ताले पुनः व्यावसायिक भैंसीपालनमा लगायो । वर्षौँदेखि गाई पाल्दै आएका पनौती नपा–३ निवासी विमला सापकोटाले तीनचारवटा भएको गोठमा एउटा भैँसी थपे । नगरले ल्याएको अनुदानपछि भैँसी थप्नुभएकी उहाँले दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएका छन्। उनी भन्छन्, ‘गाईभैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र भैँसी सुत्केरी प्रोत्साहन भत्ताले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु ।’ पनौती–१२ कै भावना थापा पाल्न धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेपछि गोठमा भैँसी घटाउँदै जाने कृषक नगरको कार्यक्रमले आत्मबल बढाउँदै भैँसी थप्नतर्फ लागेको बताउँछन्। ‘अब त्यो समस्या हटेको छ, भैँसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहत मिलेको छ’, उनी भन्छन् । उनले पनि हालै दुई भैँसी थपेर पाडापाडी हुर्काउन थालेका छन् । उनी भन्छन्, ‘सुरुमा त भैँसीलाई सुत्केरी भत्ता सुन्दै छक्क परियो, अहिले उक्त कार्यक्रम भैँसीपालक कृषकलाई वरदान नै सावित भएको छ ।’ पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले नगरको सो सुत्केरी भत्ता कार्यक्रम सुरुभएपछि फार्म नै स्थापना गरी १७ भैँसी पालेका छन् । उनी भन्छन्, ‘नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपियो ।’ भैँसीपालक कृषक नगरले पाँच वर्षअघि सुरु गरेको यस कार्यक्रम अभियानबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको बताउँछन् । पनौती नगरले आव २०७४÷७५ बाट ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’ अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नगरको कार्यसम्पादन कार्यभार सम्हालेपछि सुरु भएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषय बन्न पुगेको थियो । अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ । त्यस आवको तथ्याङ्कअनुसार नगरको कृषकका घरगोठमा चार हजार सात सय ४७ भैँसी थिए । त्यस समयमा वार्षिक रुपमा पाँच सय भैँसी खरिद भएर अन्य स्थानबाट नगर भित्रन्थे । करिब छ करोड भैँसी खरिदमा रकम बाहिरिएको थियो । सञ्चालनका बेला पनौती नगरमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर काभ्रेपलाञ्चोकमै खपत हुने गरेको र २५ हजार काठमाडौं उपत्यका लैजाने गरिन्थ्यो । नगरमा उक्त अभियान सुरु गरेदेखि हालसम्म भैँसीको सङ्ख्यासमेत झण्डै दोब्बर नजिक पुगेको छ भने दैनिक ७० हजार लिटर दूध उत्पादन हुने गरेको छ । नगरले दूध उत्पादन र नगरमा भैँसीको अवस्थाबारे अध्ययन कार्यक्रम सुरु गरेको थियो । भैँसी संरक्षण अभियानअन्तर्गत प्रारम्भिक चरणमा भैँसी सुत्केरी भत्ता वितरण गरिएको तत्कालीन नगरप्रमुख भीम न्यौपानले बताए । उनका अनुसार पहिलो बेतको भैँसी सुत्केरी हुँदा पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको थियो । नगरको कृषि तथा पशुपक्षी शाखाले उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने नियम बनाएको थियो । शाखाले बीमा गरेवापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था मिलाउँदै खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइँदै आएको छ । शाखाका प्रमुख लिलाप्रसाद सापकोटा कार्यक्रम सुरुवातताका आव २०७५÷७६ मा दुई सय १७ भैँसीलाई पाँच लाख ७५ हजार भत्ता दिइएको जानकारी दिए । उनका अनुसार आव २०७६÷७७ मा चार सय ४४ भैँसीलाई रु १२ लाख, आव २०७७÷७८ मा छ सय ४१ भैँसीलाई रु १७ लाख ५० हजार र आव २०७८÷७९ मा एक हजार भैँसीलाई ३० लाख सुत्केरी भत्ता दिइएको छ । हालको तथ्याङ्कअनुसार पनौतीमा सात हजार आठ सय ५८ भैँसी छन् । भैँसीको सङ्ख्या वृद्धि भएको छ । खास गरी मुर्रा जातका भैँसी यहाँ पालिन्छ । हाल दैनिक उत्पादित करिब ७० हजार लिटरमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ । अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्यासँगै दूध उत्पादन दोब्बर भएको हो । ‘त्यतिबेला सुरु भएको अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर उकास्सिएको छ’, पनौती–३ कुशादेवीका शिक्षासेवी रामप्रसाद अधिकारीले भने। उनका अनुसार नगरको अभियान निकै उदाहरणीय छ । सुरुवाती आवमा तीन सय पाडी वितरण गरिएकोमा नगरले हालसम्म एक हजारको सङ्ख्यामा वितरण गरिसकेको छ । नगरको चालु आवको बजेट, नीति तथा कार्यक्रममा नगरमा सञ्चालित भैँसी सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

चितवन महानगरले २७४ विद्यार्थीलाई दियाे पूर्ण छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्न छात्रवृत्ति वितरण गरिएको बताइन् । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले भने । एकतीस संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ६३ र अन्य एक सय ११ जना छन् । महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधिअनुसार विद्यार्थी छनोट गरिएको हो । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ एक सय १५, गरिब तथा विपन्नतर्फ ९९, आदिवासी जनजातितर्फ २७, दलिततर्फ १७, अपाङ्गता भएका सात, जनआन्दोलनका घाइतेका सन्ततितर्फ पाँच तथा सहिदका सन्ततितर्फ तीन जना छन् । रासस

सङ्खुवासभामा पहिरोबाट विस्थापितलाई ६९ रोपनी जग्गा हस्तान्तरण

किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोबाट विस्थापित परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ । गत २०७७ असार २७ गते राति गएको पहिरोबाट सिलिचोङ–१ बेसिन्दाका ९२ परिवार विस्थापित भएका थिए । विस्थापितमध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्तरूपमा विस्थापित ५५ परिवारलाई गोलाप्रथा गरेर जग्गा बाँडफाँट गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । पहिराबाट विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए । खाँदबारीका उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सःशुल्क जग्गा दिन चाहनेबाट विवरण सङ्कलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरेडाँडाको जग्गा छनोट गरेको थियो । समितिले खाँदबारी नगरपालिका–७ भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरेको हो । भूगर्वविद् तथा प्राविधिकको प्रतिवेदनपछि जिल्ला विपद् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ । जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ताकाट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो । जग्गा बाँडफाँटसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन ५० हजार र घर बनाउन तीन किस्तामा पाँच लाख दिने व्यवस्था कार्यविधिमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । पहिरो विस्थापित २५ परिवारलाई सिलिचोङ गाउँपालिकाको चित्रेगाउँमा र चेप्चेवाका १२ परिवारलाई बखल्टुममा स्थानान्तरण गरिएको छ । चित्रेमा ५१ दशमलव पाँच रोपनी ७० लाख र बखल्टुममा १७ दशमलव पाँच रोपनी ३४ लाखमा खरिद गरी पहिरो विस्थापितका नाममा पास गरिएको छ । उक्त जग्गा चाँडै बाँडफाँट गरिने सिलिचोङ गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढेको थियो । सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरेको हो । पहिरो विस्थापितलाई मनसुनजन्य विपद् प्रभावितलाई पुनःस्थापना गर्नेसम्बन्धी कार्यविधिअनुसार बजेटको व्यवस्थापन गरी जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो । सो कार्यविधिअनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ । घर निर्माणका लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिसकेको जनाएको छ । सङ्घ तथा प्रदेश सरकारमा बजेट माग भएको प्रजिअ खतिवडाले बताउनुभयो । पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्दै आएका पीडित जग्गा पाएपछि खुसी छन् । पहिरोले सिङ्गो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित भएका थिए । उक्त पहिरोमा परी ११ जना अझै बेपत्ता छन् । रासस