अब ललितपुर महानगरको कार्यालय अगाडि पार्किङ गर्न पैसा नलाग्ने

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको छ । महानगरले बुधबारबाट लागु हुने गरी कार्यलय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको हो । महानगरको कार्यपालिका बैठकले पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।    

मध्यपुर थिमिले मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउन निकाल्यो ३५ दिने सूचना

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले सडकहरु अतिक्रमण भएका संरचना र फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, आवागमनमा अवरोध पुग्ने गरी सामग्री राख्ने, अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरेको जनाएको छ । नगरपालिकाले ३५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारवाही गरिने बताएको छ ।

माग र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं – उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले स्थानीय माग र संघीय राजधानी सहरको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताएकी छिन् । वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थीहरुसँगको भेटका क्रममा उनले सो कुरा बताएकी हुन् । काठमाडौं विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङका प्राध्यापक भीमप्रसाद श्रेष्ठको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा अध्ययनरत विद्यार्थीहरु उक्त कार्यक्रममा उपस्थित थिए । उपप्रमुख डंगोलका अनुसार फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित काम गर्दा मानव स्वास्थ्य र वातावरणमा असर नहोस् भन्ने विषयमा महानगर सचेत रहेको छ । ‘वडा स्तरमा मेलमिलापकर्तामार्फत मेलमिलापलाई प्राथमिकतामा राखेको छु, महिला सशक्तिकरणका लागि उपलब्धी हासिल भएका छन्, यसको पूर्णताका लागि परिवारको मनोविज्ञानसँग सम्बन्धित पक्षलाई सुधार गर्दै जानुपर्छ,’ उनले भनिन् । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा विचारगोष्ठी सञ्चालन भइरहेको छ ।