कास्कीमा थपिए ११ हजार मतदाता

कास्की । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिनादेखि सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार सात सय ६४ र पुरुष पाँच हजार तीन सय ७८ नयाँ मतदाता थपिएका हुन् । बाहिरी जिल्लाको समेत गरी महिला सात हजार तीन सय ९३ र पुरुष सात हजार छ सय नौ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार बाहिरी जिल्लाका महिला एक हजार छ सय २९ र पुरुष दुई हजार दुई सय ३१ गरी तीन हजार आठ सय ६० जनाको नाम दर्ता भएको छ । कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरुको हकमा सम्बन्धित जिल्लामा नै पठाउने छ । यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरूको कास्की जिल्लाका मतदाताको नाम आयोगले यहाँ पठाउने उनले जानकारी दिए । उनले भने, ‘निर्वाचनको मिति घोषणापछि नयाँ नाम दर्ता रोकिएको छ । अब बाहिरी जिल्लाको दर्ता भएको नाम सम्बन्धित जिल्लामा पठाउँछौँ, अन्य जिल्लाको पनि यसैगरी हामीकहाँ थप हुन्छ ।’ गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचनपछि असारदेखि नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरुले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरुले आन्तरिक भेला, प्रशिक्षण तथा सङ्गठन विस्तारका कार्यक्रम गाउँ–गाउँसम्म सञ्चालन गरेका हुन् ।

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

वीरगञ्ज । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण प्रविष्ट गरिसकेका छन् । बजेट प्रविष्ट नगरेका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको सूत्रमा बजेट विवरण प्रविष्ट गर्न परिपत्रमार्फत निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले जानकारी दिए। देशका सात सय ५३ पालिकामध्ये हालसम्म विभिन्न ६३ स्थानीय तहले चालु आवका लागि बजेट विवरण पेश नगरेको मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख उपसचिव रेशम कँडेलले जानकारी दिए । मन्त्रालयको सूत्रमा प्रविष्ट गरेपछि चालू आवको कारोबार सुरू भएर भुक्तानी प्रक्रिया सुरू हुन्छ । कानुनतः स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा ९६० मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । स्थानीय तहबाट आव २०७९/८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्यरूपमा मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककाहरूलाई पत्राचार गरिसकिएको छ ।

पनौती नगरपालिकाले मोतीबिन्दुको उपचार निःशुल्क गर्ने

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ । निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ । नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताए। उनले भने ‘अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।’ अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ । अस्पतालले यसअघि आँखामा लाग्ने मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेपलाञ्चोकको बनेपा नपा, नमोबुद्ध नपा र बेथानचोक गाउँपालिकासँग सम्झौता गरिसकेको छ । यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धनुषाको मिथिला नपा, छिरेश्वर नपा र कमला नपासँग पनि अस्पतालले सम्झौता गरेको जनाइएको छ । अस्पतालकै सहयोगमा दुई साताअघि पनौती–५ मा आँखा शिविरको आयोजना गरी चारसयको आँखा परीक्षण गरेमध्ये सो रोग लागेको देखिएका करिब एक दर्जन वृद्धवृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो । वडा कार्यालयले ती वृद्धवृद्धाको बनेपास्थित उक्त अस्पतालमा उपचारार्थ आवतजावतका लागि यातायात व्यवस्था गरेको थियो । आँखा विशेषज्ञका अनुसार मोतीबिन्दु रोग मधुमेह तथा हाइपरटेन्सनजस्ता रोग, बढ्दो उमेर, जलबिन्दु, पोषण तत्वको कमी, चिनी रोग, जन्मजातरूपमा वा आँखाको अन्य समस्याका लागि गरिएको शल्यक्रिया, वंशाणुगत, शिशु जन्मनुभन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सन, चोटपटक, घामको विकीरण, आँखाको पानीको खराबी तथा धूमपानका कारण लाग्ने गर्दछ ।