७७९ जनालाई भरतपुर महानगरको सीपमूलक तालिम
चितवन । भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे । महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर महानगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी बर्सेनि यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए । चालु आर्थिक वर्षका लागि सीप विकास कार्यक्रममा एक करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट एक हजार ७०० जनालाई तालिम दिइएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता तालिमहरूलाई अझ प्रभावकारी बनाइने बताए । कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
भरतपुर महानगरले सीपमूलक तालिममा सहभागी ७७९ जनालाई दियो प्रमाणपत्र
चितवन । भरतपुर महानगरपालिकाले मागमा आधारित सीपमूलक तालिममा सहभागी ७ सय ७९ प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच महानगरले विभिन्न सीप क्षेत्रमा तालिम लिएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरेको हो । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), ड्राइभिङ, र एडभान्स ब्युटीपार्लर तालिम सञ्चालन गरेको थियो । तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे । महानगर प्रमुख दाहालले सीप विकासमार्फत रोजगारी सिर्जना गर्दै आत्मनिर्भर नगर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । उनले भरतपुर महानगर भविष्यमा पनि यस्ता तालिमलाई प्राथमिकतामा राख्दै युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख दाहालले तालिममा लिएको ज्ञान सीपमार्फत उद्योग, व्यवसाय तथा रोजगार बन्न प्रशिक्षार्थीलाई आग्रह पनि गरिन् । दक्ष जनशक्तिको माग स्वदेश तथा विदेशमा रहेकाले सीप सिकेपछि राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीले महानगरले युवाहरूलाई लक्षित गरी वर्षेनी यस्ता तालिमहरू प्रदान गर्दै आएको जानकारी दिए । चालु आर्थिक वर्षको लागि सीप विकास कार्यक्रममा १ करोड ५० लाख विनियोजन गरिएको र सोही बजेटबाट १७ सय जनालाई तालिम दिइएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने जानकारी दिए। कार्यक्रममा प्रशिक्षार्थीहरूले प्राप्त तालिमले आफूहरूलाई व्यवसायिक जीवनमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । तालिममा सहभागीहरू मध्ये अधिकांश युवा, महिला तथा बेरोजगार व्यक्तिहरू रहेका थिए ।
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
ललितपुर । ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो । जिल्लाका छ वटा स्थानीय तहमध्ये महानगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने पाँचौ स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१ गते, काठमाडौं उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते, बागमती गाउँपालिकाले जेठ १३ गते र कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी गराए । पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा मन्तव्य राख्दै महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको सामूहिक प्रयासबाट स्वास्थ्य क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको बताए । ‘हामीलाई नगरपालिका संघले २९३ नगरपालिकामध्ये उत्कृष्ट भनेर पुरस्कृत गरिसकेको छ, जिल्ला जनस्वास्थ्य र विश्व स्वास्थ्य सङ्गठनबाट हामीले महत्त्वपूर्ण सहयोग पाइरहेका छौँ, हामी अत्यन्तै निगरानी गरेर यसलाई कायम राख्न तयार छौँ’, उनले भने । डा. पौडेलले खोप अभियान स्वास्थ क्षेत्रको प्रभावकारी कार्य भएको बताए । उनले निरन्तर र प्रभावकारी काम गर्दै यसलाई दिगोरुपमा व्यवस्थापन गर्न आग्रह गरे । ‘सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहन्छु’, उनले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधि डा. सागर शाक्यले पूर्ण खोप सुनिश्चितता घोषणासँगै दिगोपना कायम गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिकाभन्दा पहिला नै घोषणा गर्न सफल भएकामा बधाइ दिए । राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएको जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराइन् । ‘राष्ट्रिय खोप कार्यक्रममा १५ महिना मूनिका बालबालिकाले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्यूमोनिया, मेनिन्जाइटीस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफालाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगविरुद्धका खोप प्राप्त गरेको र गर्भवती महिला टीडी, धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिन्छ, जुन ललितपुर महानगरले सम्पन्न गरेको छ’, उनले भनिन् । राष्ट्रियस्तरमा २०३४ मा सुरु भएको खोप अभियानलाई अहिले दिगो विकास लक्ष्यको एउटा सूचक मानेर देशैभर स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र देशलाई नै पूर्णखोपयुक्त घोषणाको तयारीअनुसार काम भइरहेको छ । पूर्णखोप सुनिश्चितताका लागि तोकिएअनुसारका खोप प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको उनले जानकारी गराइन् । सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरुप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।