किसानलाई भिमाद नगरपालिकामा दूधमा दश रुपैयाँ अनुदान
दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ । नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११० रुपैयाँ, थोक बिक्री मूल्य प्रतिलिटर १२० रुपैयाँ र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० तोकिएको छ । यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ ।
खानेपानीको चरम संकट भएका भगवतीमाई गाउँपालिकाका ३ वडामा खानेपानी सुविधा
रातामाटा । खानेपानीको चरम संकट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा चार खानेपानी योजना सम्पन्न भएका छन् । यसबाट भगवतीमाई १, ३ र ४ वडामा ‘एकघर एक धारा’को सुविधा पुगेको छ । ती वडाका करिव १९६ घरधुरीका एक हजार १८४ स्थानीयवासी लाभान्वित भएका छन् । ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा यहाँ सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले ती वडामा खानेपानीको सुविधा पुर्याउन सहयोग गरेको हो । भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काकाले वडावासीले पानी लिन धेरै टाढा जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिए । उनले भने, 'कुवाका दूषित पानीका कारण बिरामी भएर स्वास्थ्यचौकी धाउनुपर्दथ्यो । यस्तो अवस्था अन्त्य भएको छ ।' उनका अनुसार सो परियोजना र गाउँपालिकाको सहकार्यमा भक्रमुल सिस्नेरी खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएसँगै वडाका ९४ घरमा ‘एक घर एक धारा’ निर्माण भएको छ । यसबाट अति विपन्न समुदायका स्वच्छ खानेपानीको पहुँच पुगेको छ । परियोजनाले उपभोक्तालाई खानेपानीका मुहान दर्ता गर्नसमेत सहजीकरण गरेको थियो । निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरुले कार्यालय व्यवस्थापन, खानेपानी सुुरक्षा योजना लागू गर्नुको साथै नियमित रुपमा पानी महसुल संकलन गरिहेको छन् । साथै परियोजनाले ती वडाका २४ अति विपन्न घरधुरीहरुलाई शौचालय निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सुविधाहरु निर्माण गर्नुको साथै तीन तारे विद्यालय घोषणा गर्न, गाउँपालिकाको कार्यालय र छ वटा स्वास्थ्य संस्थाहरुमा पानीको गुणस्तर परीक्षण केन्द्र स्थापना गर्न सहयोग तथा सहजीकरण गरेको थियो । भगवतीमाई गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर खड्काले परियोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजनाका सम्वन्न भएसँगै वडामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र प्रयोगमा आएको जानकारी दिए । उनले भने, 'विपन्न समुदायलाई खानेपानीको सुविधा पुर्याउन ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले महत्वपूर्ण सहयोग गरेको छ ।' भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष देवलोक अधिकारीले खानेपानी लिन टाढाटाढा जानुपर्ने अवस्थामा केही सुधार भएको जानकारी दिँदै खानेपानीको हुँदा महिलाको समयमा बचत भएको छ भने । उनले भने, 'स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छताका विविध विषयहरुमा नेपाल रेडक्रसले महत्वपूर्ण सहयोग गरेको छ ।' नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले सुरक्षित सुत्केरीका लागि पूर्वतयारी, पारिवारिक विपद् पूर्वतयारी, पिउने पानीको उचित व्यवस्थापन र प्रयोगका साथै चर्पीको उचित प्रयोगसम्बन्धी सकारात्मक व्यवहार परिवर्तनका लागि गाउँपालिकामा सबै वडाका घरधुरीमा ६३ जना तालिम प्राप्त स्वयंसेवकहरु परिचालन गरिएको जानकारी दिए । परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्नको लागि वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई परिचालन गरिएको बताए । विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका लागि ६६ स्वयंसेवकलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको, ५८ स्यंसेवकलाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल र आधारभूत खोज तथा उद्धार तालिम प्रदान गरिएको, २४ स्वयंसेवकलाई द्रुत प्रतिकार्य तालिम प्रदान गरिएको, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको लागि आवश्यक पर्ने विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको, विभिन्न विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास कार्यक्रम सञ्चालन गरिएको, स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण, वातावरण र जलवायु परिवर्तन अनुकूलन विषयहरुमा छलफल तथा अभिमुखीकरण गरिएको बताए । रासस
रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा
चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौं पुगेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौं पुगेका हुन् । महानगरपालिका प्रमुख दाहालकाअनुसार टोलीले मंगलबार प्रधानमन्त्री, अर्थ मन्त्री एवं युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव, मन्त्रालयका सचिवहरुलाई भेटेर रङ्गशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ । महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भूक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उनले जानकारी दिइन् । धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । सङ्घीय सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउण्डेशनले रकम पाउन सकेको छैन । महानगर प्रमुख दाहालले भने, 'हामी यथासक्य छिटो भुक्तानी गर्न चाहन्छौँ । प्रक्रियामा सहजीकरण गरिदिनुपर्यो ।' महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउण्डेशनलाई रकम भुक्तानी गर्न चाहेको तर ऐन कानुनका कारण असहज भएको बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सङ्घीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए । सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छु्ट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐन अनुसार मात्र खर्च गर्न मिल्ने उनले बताए । उनले सो बजेट अनुदानका रुपमा प्राप्त नगरेकाले भुक्तानीमा नीतिगत अन्योल भएको बताए । उनले भने, 'फाउण्डेशन मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा भ्याट तिर्नुपर्ने भएकाले यो विषय अड्किएको हो ।' महानगरकै आग्रहमा फाउण्डेशनले रङ्गशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो । फाउण्डेशनले छोडेपछि विसं २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बाग्मती प्रदेश सरकारबीच मिलेर रङ्गशाला निर्माण अगाडि बढाउने सहमति भएको थियो । सो सहमतिपछि सङ्घीय सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । फाउण्डेशनले हस्तान्तरण गरेको निर्माण महानगरले विसं २०८१ को असारदेखि अगाडि बढाइसकेको छ । हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । फाउण्डेशनले रु ५७ करोड १२ लाख बराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ । जसमध्ये रु १८ करोड ४३ लाख उधारो रहेको जनाइएको छ । फाउण्डेशनले विसं २०७५ माघ १६ मा काठमाडौंमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो । त्यसलगत्तै फाउण्डेशन र भरतपुर महानगरबीच रङ्गशाला निर्माणको सम्झौता भएको थियो । जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रङ्गशाला बनाउन अनुमानित रु तीन अर्ब लाग्ने र त्यो खर्च फाउण्डेशनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ । रासस