समयमै बजेट पेश गर्न नसकेकोमा उपप्रमुख डंगोलले मागिन् माफी

काठमाडौं । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले समयमै बजेट पेश गर्न नसकेकोमा उपप्रमुख डंगोलले मागिन् माफी मागेकी छिन् । आइतबार राष्ट्रिय सभा गृहमा आगामी आव २०८२/८३ को आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्ने क्रममा उनले माफी मागेकी हुन् । विगतमा अविश्वास, आरोप प्रत्यारोपको कारण समयमै बजेट प्रस्तुत गर्न नसकेको उनले बताइन् । ती समस्याहरु विस्तारै समाधान हुँदै गएको उनले बताइन् ।  

काठमाडौं महानगरको २५ अर्ब बराबरको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट आज प्रस्तुत गर्न लागेको छ । मेयर बालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजे नगरसभा आह्वान गरेका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बस्ने कार्यक्रम रहेको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज नै बजेट प्रस्तुत गर्ने प्रस्ताव गरेका थिए । राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरेअनुसार आज सोही प्रस्तावित बजेट सार्वजनिक गरिनेछ । संविधान अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । तर, काठमाडौं महानगरभित्र देखिएको आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन ढिलो भएको हो ।

चन्द्रागिरीका तीन वडा पहिरो उच्च जोखिममा

कीर्तिपुर । वर्षा लागेसँगै चन्द्रागिरी नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरी १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् । यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताए । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो । 'नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ', अर्यालले भने । वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए । खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू-क्षयलगायतको समस्या देखिएको उनले बताए । आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताए । वडा नं ५ स्थित राधाकृष्ण टोलमा झण्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ । नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन् । वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन । जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिए । वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताए । नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि तीन करोड रुपैयाँ बजेटमा व्यवस्था गरिएको जानकारी दिए । दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इञ्जिनिरिङ गर्न खोजिएको उनले बताए । 'जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ', उनले भने ।