लोकसेवाले वैकल्पिकमा राखेका इञ्जिनियरलाई महानगरले जागिर दिने, मेयर बालेनको प्रशंसा
काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको वैकल्पिक सूचीमा रहेका ईन्जिनियरहरुलाई करारमा नियुक्त गर्ने भएको छ । महानगरले मंगलबार एक सूचना जारी गर्दै बैकल्पिक उम्मेदवारहरुलाई करारमा नियुक्त गर्ने जनाएको हो । आयागले सार्वजनिक गरेको १५ वटा विज्ञापनका अस्थायी तथा वैकल्पिक क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक इन्जिनियर, इलेक्ट्रिक ईन्जिनियर, स्ट्रक्चर ईन्जिनियरलाई योग्यता क्रम अनुसार करारमा नियुक्ति गर्ने महानगरले जनाएको हो । महानगरले एक साताभित्र प्रवेशपत्रको प्रतिलिपी, निवेदन र स्नातक तहको प्रमाणपत्र महानगरमा पेश गर्न आव्हान गरेको छ । महानगरको कार्यपालिका वैठकहरुमा वडाध्यक्षहरुले बारम्बार इन्जिनियर नहुँदा समस्या सिर्जना भएको भन्दै आवाज उठाउँदै आएका थिए । त्यसपछि महानगरले वडा वडामा डाक्टर, इन्जिनियर र नर्स राख्ने कार्यपालिकाले निर्णय गरेको थियो । अहिले सामाजिक सञ्जालमा महानगरको प्रशंसा भइरहेको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को यो निर्णयले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको हाे । वर्षौंदेखि लोकसेवा आयोगको तयारी गरिरहेका तर वैकल्पिकमा परेका उम्मेदवारहरुका लागि महानगरको यो निर्णयले राहत हुने धेरैको बुझाइ छ ।
राजमार्गको दाङ खण्डमा सडक मिचेका संरचना हटाउन निर्देशन
दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिइएको छ। सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरेको हो। दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन गरिएको सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिए। उनका अनुसार पुस १५ भित्र नहटाएमा आफैँ हटाउने तयारी रहेको छ। साथै हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ। राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ। कार्यालयले सोही क्षेत्रका तीनवटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिन अनुरोध गरेको छ। लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालले बताए। पटकपटक सडक मिचेका भन्ने गुनासो आएको र दुर्घटनाको पनि जोखिम रहेकाले सडक क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।
बालेनको कडा एक्सन : आन्दोलन गर्दा सार्वजनिक सम्पत्तिमा नोक्सानी पुर्याए क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सार्वजनिक सम्पत्तिलाई क्षति हुने किसिमका गतिविधि वा आन्दोलन गरेमा कारवाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको कुनै संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य कसैले आन्दोलनबाट नोक्सानी, क्षति, नष्ट र अतिक्रमण गरेमा कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरको हो, कुनै पनि संघ सङ्गठन निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको छ, यदि कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानून बमोजिम कारबाही एवम् हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानून बमोजिम गराइनेछ,’ महानगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकेको छ । सोही एनेको दफा ९७ (१) मा आफ्नो भौगोलिक क्षेत्र भित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा संरक्षण गर्ने कानूनी दायित्व समेत स्थानीय तहलाई नै तोकिएको छ । मुलुकी देवानी संहिता, २०७४ को भाग ५ अन्तर्गतको दफा २९९, ३००र ३०१ मा सरकारी, सार्वजनिक र सामुदायिक सम्पत्तिको प्रकार र प्रकृति उल्लेख गरेको छ । उक्त संहिताको दफा ३०४ ले त्यस्ता सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय तहको समेत हुने कानूनी व्यवस्था गरेको छ ।